बागलुङको बोक्से–सिगाना सडकमा पहिरो रोक्न ‘बायो इञ्जिनियरिङ’ प्रविधिको प्रयोग

गलकोट । बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि अपनाइएको छ । हालै कालोपत्र सम्पन्न गरिएको १० किलोमिटर सडकको दिगोपनाका लागि निर्माण व्यवसायीले पहिरो रोकथामका लागि बायो इञ्जिनियरिङ प्रविधि अपनाएका हुन् । हालै कालोपत्र सम्पन्न एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गतको बोक्से–सिगाना सडक निर्माणका क्रममा खसेको पहिरो रोकथाम गर्दै सडक संरक्षण गर्न निर्माण व्यवसायी कर्ण विल्डर्सले एक दर्जन पहिरोमा नेपियर जातको घाँस रोपेको छ । कालोपत्र सडकलाई टिकाउन जोखिमयुक्त स्थानको पहिचान गरी बायो इञ्जिनियरिङ प्रविधिमार्फत पहिरो तथा भूक्षय नियन्त्रणको प्रयास थालिएको कर्ण विल्डर्सका प्रतिनिधि सन्दीप श्रेष्ठले जानकारी दिए । यसको प्रयोगले सडकको संरक्षणसँगै प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकूलन तथा मुहान र जैविक विविधता संरक्षणका लागि सहयोग पुर्याउने श्रेष्ठको भनाइ छ । उनले बायो इञ्जिनियरिङमार्फत ढुङ्गा, माटो खसिरहेका क्षेत्रमा रोकथाम र जोखिम व्यवस्थापनका कार्य सहयोगसँगै स्थानीय किसानलाई घाँसमा समेत सहयोग पुर्याउने गरी १० किमी सडकको पहिरो खसेको क्षेत्रमा नेपियर जातको एक हजार ५०० भन्दा बढी घाँसको विरुवा रोपिएको बताए । ‘सडक चौडा बनाएर कालोपत्र गर्द एक दर्जन स्थानमा पहिरो खसेको थियो, उक्त पहिरोको दिगो समाधानका लागि पूर्वाधारको काम त कालोपत्रअघि नै गरिन्छ, त्यससँगै अहिले बर्खामा पहिरोमा बायो इञ्जिनियरिङ प्रविधिसमेत अपनाइएको छ', उनले भने,’पहिरो खसेको र सम्भावित पहिरोको जोखिम स्थानको पहिचान गरेर नेपियर जातका बहुवर्षीय घाँस लगाइएको छ जसले पहिरो रोकथामसँगै किसानको पशुपालनलाई सघाउँछ ।’ नेपियर उखुजस्तो देखिने बहुवर्षीय घाँस हो । यसको उचाइ दुई–तीन मिटर अग्लो र धेरै झाङ हाल्न सक्ने भएकाले बायो इञ्जिनियरिङ प्रविधिमा प्रयोग गरिँदै आइएको छ । बायो इञ्जिनियरिङअन्तर्गत काँस, अम्रिसो, घाँसे प्रजातिसँगै सिमली, असुरो, बाँस, सजीवनजस्ता बिरुवा रोप्ने गरेमा यसले एकातर्फ पहिरो खस्नबाट जोगाउँछ भने अर्कातर्फ पानीको मुहान सुक्नबाट जोगाउने भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्रले बताए । पहाडी क्षेत्रमा विकास निर्माण गर्दा हरित व्यवस्थापनमा समेत ध्यान दिन थालिएको उनको भनाइ छ । ठूलाठूला पहिरो समेत बायो इञ्जिनियरिङमार्फत रोकथाम भएको उनको भनाइ छ । नेपालको पहाडी भेगमा विकाससँगै भूक्षयको दर घटाउन बायो इञ्जिनियरिङ प्रविधि उपयुक्त रहेको मिश्रको भनाइ छ । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको १० किमी कालोपत्र सकेर निर्माण व्यवसायीले बायो इञ्जिनियरिङ प्रविधिमार्फत पहिरो रोकथाम, मासिएको सिँचाइ कुलो गोरेटोबाटो निर्माण गरिरहेको छ । उक्त सडक रु २९ करोड ३७ लाख ८८ हजारमा दुई वर्षअघि सडक डिभिजन कार्यालयले कर्ण विल्डर्ससँग ठेक्का सम्झौता गरी कालोपत्र गरेको हो । रासस

स्वयम्भू मेलामा दुई लाखले गरे अवलोकन

काठमाडौं । स्वयम्भूमा जारी एकमहिने मेलामा हालसम्म करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्रशुक्ल प्रतिपदासम्म लाग्ने एकमहिने (गुँला) पर्वका अवसरमा उक्त सङ्ख्यामा भक्तजनले मन्दिर दर्शन गरेका हुन् ।  नेवार समुदायका बौद्ध धर्मावलम्बीले उक्त समयमा स्वयम्भू चैत्यको दर्शन गर्ने चलन छ । नेपाल सम्वतको नौ महिनामा पर्ने गुँला पर्वमा विभिन्न प्रकारका बाजा बजाउँदै स्वयम्भू चैत्यको पूजाआजा गर्नाले दिवङ्गत पितृको बैकुण्ठवास हुने विश्वास रहेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले बताए ।  मेलामा काठमाडौं उपत्यका तथा आसपास क्षेत्रबाट धर्मावलम्बीले मेलामा सहभागिता जनाउने गरेका छन् । स्वयम्भूनाथ चैत्यको दर्शनपछि भक्तजनहरु बाजागाजासहित स्थानीय विजेश्वरी, शोभा भगवतीलगायत स्थानमा परिक्रमा तथा दर्शन गर्छन् ।  

बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन । ‘पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा रहेको छ । त्यसो त बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।    पवित्र तीर्थस्थल देवघाट धाममा रहेका वृद्धाश्रमका ‘बा’हरू भने दाता पर्खेर बसेका छन् । जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरू प्रायः परिवारबाट हेलत्तिएर यहाँ आएका छन् । कतिपय आफ्नो साहारा कोही नभए पनि आश्रय लिन यहाँ आइपुगेका छन् । जहाँ हरेक वर्षमा आउने आमा खुवाउने दिन (माता तीर्थ औँसी) र कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन त्यहाँ बस्ने वृद्ध बा र आमाहरू भने कोही दाता आएर बा आमाको सम्मान देला भनेर पर्खिरहेका छन् ।   देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका बाहरूको अवस्था अझै दयानीय छ । नुवाकोटबाट आएर बस्नुभएका ७५ वर्षीय कृष्णप्रसाद भट्ट आफन्त भए पनि चाडपर्वमा नसम्झँदा मन अमिलो भएर आउने गरेको बताउछन् । औँसीको दिन भएका दुई भाइ छोराले समेत सम्पर्क नगर्दा आफन्त भन्ने रहेनछन् भन्ने भान भएको उनले बताए ।   श्रीमतीको निधनपछि छोराहरूलाई आफ्नो खुट्टामा उभिने बनाएर छाडेका भट्ट छोराहरूको सम्झनामा निकै निरास बन्ने गर्छन् । उनले भने, 'वृद्धावस्थामा निकै समस्या हुँदोरहेछ, छोराहरूको साहरा चाहिने समयमा उनीहरूनै सम्पर्कमा छैनन् कसरी साहारा पाउनु ।' अहिले त भगवान्को भरोसामा जीवनलाई छाडेको उनको भनाइ छ । उनले थपे, 'अहिले त जो सम्झेर आउँछन् तीनै छोराछोरी हुन् ।' अहिले आश्रममा आएर जस्ले बा भन्छ र मीठो खान दिन्छ तीनै छोराछोरी हु जस्तो लाग्ने गरेको उनले बताए। उनी विगत आठ वर्षदेखि यही आश्रममा आश्रय लिएर बस्दै आएका छन् ।    दुई पटकसम्म वैवाहिक सम्बन्धमा बाँधिएर पनि श्रीमती र छोरा/छोरी नभएपछि निकै उदास भएर आश्रममा दिन काट्दै आएका छन् । भरतपुर महानगरपालिका–६ गीतानगरका ८६ वर्षीय शमशेरबहादुर विश्वकर्मा । उनको वैवाहिक जीवन सफल हुन नसकेपछि उनी आश्रममा आएर बस्न थालेका हुन् । जन्मिएका छोराछोरीहरू नबचेपछि श्रीमतीले पनि उनलाई छाडेर गइन् । एक्लो जीवन बिताउनका लागि आश्रममा आएका विश्वकर्मा अहिले आश्रममा आउने जति सबैलाई छोराछोरीको रूपमा लिँदै आएका छन् । उनले भने, 'आफ्ना त छैनन् । जो आउँछ त्यसैलाई छोराछोरीको रूपमा लिनुपर्ने बाध्यता छ,' उनले सुनाए, 'बाबुको मुख हेर्ने दिन जो आउँछ त्यो नै आफ्नो छोराछोरीजस्ता लाग्छ उहाँले सुनाउनुभयो । बा खुवाउने दिन भन्छन् आफ्नो त कोही छैन जसले दिन्छ त्यही छोराछोरी हुन् ।'   बागलुङबाट आएर देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्दै आएका ७७ वर्षीय मणिरत्न पौडेल अविवाहित हुन् । उनका भाइ र बहिनी बागलुङमा नै छन् । समाजमा देखेर आफूलाई विवाह गर्न मन नलागे पनि वृद्धावस्थामा कोही आइदिएहुन्थ्यो भन्ने आभास हुने गरेको उनले सुनाए । परिवारका सदस्य नहुँदा चिन्ता नभए पनि अहिले कसैले बा भनेर बोलायो भने पनि मन फुलेर आउने गरेको सुनाउँदै उनले भने, 'जसले आफूलाई बा भन्छ त्यसको दुःख जति मलाइनै परोस् भनेर भन्ने गरेको छु । सबै आफ्नै हुन् । जसले बा भन्छन् सबै सन्तान आफ्नै हुन् ।'   देवघाट क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र तीन वटा आश्रममा ८० जना वृद्धवृद्धा रहेका छन् । यस क्षेत्रमा रहेको कल्पबासमा ३० जना कल्पबासी र १० वटा आश्रममा आश्रित वृद्धवृद्धाहरूको हरेक वर्ष आउने चाडपर्व यस्तै हुने गरेको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा अहिले ३५ जना वृद्धवृद्धा रहेका छन्। जसमा १७ जना वृद्ध र १८ जना वृद्धा रहेका छन् । उनीहरूको व्यवस्थापनमा दाताहरूको भर पर्नुपरेको उनले बताए ।   सुरुआती समयमा समाज कल्याण कार्यालयबाट केही बजेट आए पनि अहिले बजेट नहुँदा भवन मर्मतदेखि आश्रितहरूको दैनिकीमा समेत दाताको भर पर्नुपरेको उनको भनाइ छ । उनले भने, 'जन्मोत्सव, वैवाहिक उत्सव, पितृकार्यलगायतमा सहयोग गर्ने दाताको भरमा अहिले दैनिकी चलाउनुपरेको छ ।' सरकारी कुनै पनि निकायबाट बजेट प्राप्त नहुँदा अहिले दाता खोज्नुपर्ने अवस्था आएको उनले बताए ।   क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले असहाय वृद्धवृद्धाको बसोबास, खानपानी र उपचारको व्यवस्था गरिएको भए पनि बजेट पर्याप्त हुन नसकेको बताए । दाताहरूको सहयोगमा भए पनि यहाँ रहेका वृद्धवृद्धाको उचित व्यवस्थापन गर्न सकिएको भन्दै उनले कुनै कमीकमजोरी नहोस् भन्ने गरी काम गरिएको बताए । उनले भने, 'समस्याका बीच पनि वृद्धवृद्धाहरूको स्वभावअनुसार सेवा दिएका छौँ । यसलाई निरन्तर राख्न सक्नुपर्छ ।'   यसैबिच प्रेस चौतारी नेपाल चितवन शाखाले देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा दरखाने कार्यक्रम गरेको छ । शाखाले शुक्रबार साँझ वृद्धवृद्धाहरूलाई भोजन गराएर दरखाने कार्यक्रम गरेको अध्यक्ष सुवास पण्डितले जानकारी दिए । उनका अनुसार शाखाले प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ । रासस