मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । कालोेपत्रको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो । सवारीसाधन आवतजावत गर्दा कालोपत्र गर्ने कार्य प्रभावित भएपछि बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोको अनुरोधमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक बाहेकका सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले अनुरोध गरेका छन् । कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिका ८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको बेनी जोड्ने १३ किमी दुरीमा दुई लेनको सडक स्तरोन्नति भइरहेको छ । उक्त सडक बन्दको समयमा मालढुंगा, बागलुङबाट रत्नेचौर हुँदै बेनीको सडक प्रयोग गर्न सकिन्छ । ठेकेदारको ढिलासुस्ती र आयोजना पक्ष निरिह हुँदा विसं २०७७ साल चैत्र महिनामा रु ५२ करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको ठेक्का अहिलेसम्म पूरा हुन सकेको छैन । विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।
भिभो बन्यो एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ मंसिर १ गतेबाट औपचारिक रूपमा सुरु हुँदैछ । महोत्सवको पूर्वसन्ध्यामा विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभो पुनः नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गर्दै एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ । भिभोले साझेदारीसम्बन्धी घोषणा आफ्नो तथा एनपीएलको आधिकारिक फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेको हो । प्रतियोगिता प्रारम्भ हुनुअघि नै गरिएको यो घोषणाले क्रिकेटप्रेमीहरूमा थप उत्साह, ऊर्जा र अपेक्षा जगाएको छ । पहिलो संस्करण सफल रूपमा सम्पन्न भएपछि यस वर्षको एनपीएल अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागितासहित २७ दिनसम्म चल्ने यस लिगलाई नेपाली क्रिकेटको उत्सवका रूपमा हेरिएको छ । भिभोले सहकार्यमार्फत नेपालमा खेलकुद, विशेषगरी क्रिकेटको विकासप्रति आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याएको छ । अत्याधुनिक प्रविधि, फ्यान–केन्द्रित गतिविधि र मनोरञ्जनात्मक कार्यक्रममार्फत यस वर्ष फ्यानहरूको खेल अनुभवलाई अझ प्रभावशाली बनाउन भिभोले लक्ष्य लिएको जनाएको छ । भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भोलिदेखि सुरु हुने एनपीएलप्रति उत्साह प्रकट गर्दै भने, 'क्रिकेट नेपालीहरूलाई एकै ठाउँमा जोड्ने खेल हो । भिभो हरेक वर्ष फ्यानहरूको उत्साहलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित एनपीएलको यात्रा पुनः निरन्तरता दिन पाउँदा अत्यन्त खुशी छ ।' नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काले भिभोको निरन्तर सहकार्यले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुगेको बताए । उनले भने, 'एनपीएल नेपाली खेलाडीहरूका लागि प्रतिभा प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च बनेको छ । दोस्रो संस्करणले खेलाडी र फ्यान दुवैलाई नयाँ प्रेरणा र अवसर प्रदान गर्नेछ ।' प्रतियोगिताको अवधिभर भिभोले फ्यानहरूलाई लक्षित विविध डिजिटल तथा ग्राउण्ड एक्टिभेशन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यी गतिविधिहरूले फ्यान संलग्नता, मनोरञ्जन र क्रिकेटप्रतिको आकर्षणलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु
म्याग्दी । धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन् । धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरुको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएको बताए । 'गतहप्ता आएको टोलीले पहिलो चरणमा तामाखानी भएको ठाउँको निरीक्षण गरेको थियो', उनले भने 'टोलीले खानी भएको ठाउँसम्म जाने पहुँचमार्ग निर्माणका लागि पनि छलफल गरेको छ ।' खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताए । स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकामा खुसी व्यक्त गरेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताए । उनका अनुसार मच्छिमको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको छन्त्यालले बताए । तामाखानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ । छन्त्याल समुदायको पुर्ख्यौली पेसा खानी खन्ने हो । त्यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ । तामाखानीका सुरुङ छन् । स्थानीयहरुले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए । उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्बल र तातोपानीका मुहान (हटस्पिङ) पाइन्छन् । जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो । रासस