मोरङमा ४४ हजार नयाँ मतदाता थपिए
मोरङ । मोरङमा ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन् । यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो । यहाँस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका माध्यमबाट नाम दर्ता गराएका हुन् । अब मोरङमा मतदाताको सङ्ख्या सात लाख ८६ हजार ६६ पुगेको छ । यसअघि यो जिल्लामा सात लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ ।
फोहरलाई मोहरमा परिणत गर्दै व्यास नगरपालिका, ७ लाख आम्दानी
तनहुँ । जिल्लाको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्रीबाट चालु आवको पहिलो चार महिनामा सात लाख रुपैयाँ आम्दानी गरेको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर संकलन गर्दै आएको छ र कुहिने फोहरलाई गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरिन्छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने, 'व्यास नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने प्लास्टिकजन्य, फलामजन्य र कागजजन्यलाई ठूलो आकारबाट दाबेर सानो आकारमा परिणत गरी भण्डारण गरिन्छ ।' कार्यालयका अनुसार आल्मुनियम प्रतिकेजी ६०, फलाम प्रतिकेजी ३५, टिन २५, पानीको बोतल तथा अन्य बोतल २३, कपडा पाँच रूपैयाँ ५० पैसा, कपी १६ र किताब १४ दररेट कायम गरिएको छ । नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको हो । कुहिने फोहरलाई नगरले व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएकामा त्यहाँ पनि स्थानीयले विरोध गरेकाले जग्गा खरिद प्रक्रिया हाललाई रोकिएको छ । नगरपालिकाले सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरबाट राम्रो आम्दानी स्रोत बनाउन थालेको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । रासस
वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्याउने ठाउँ छैन : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन् । शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दै उनले सो दावी गरेका हुन् । अध्यक्ष ओलीले अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठहर्याउन नसक्ने जिकिर समेत गरे । हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो सरकारलाई संवैधानिक ठहर्याउन सक्ने अवस्था नरहेको समेत बताए । वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप समेत लगाए । अध्यक्ष ओलीले भने,‘यस सरकारलाई हामी अवैधानिक, असंवैधानिक कृतिम ढंगले लोकतन्त्रका विरुद्ध निर्माण गरिएको हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ । यस्तो सरकारको संवैधानिक परिक्षण सम्मानित अदालतबाट संवैधानिक परिक्षण हुनै पर्दछ । कोर्टले यसलाई संवैधानिक ठहर्याउनै सक्दैन । यो सरकार असंवैधानिक बाटोबाट बनेको छ ।’ अध्यक्ष ओलीले मुलुकमा विद्यमान राष्ट्रिय संकट समाधान गर्ने कामको नेतृत्व एमालेले गर्ने समेत जानकारी दिए ।