संविधान खारेज भए नयाँ संविधान आउन सक्दैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालको संविधान २०७२ खारेज भए अर्को संविधान आउन नसक्ने बताएका छन् । अत्यन्तै ठूलो लगानीबाट बनेको संविधान खारेज गर्ने सोच कसैले राख्न नहुने बताएका छन् । एक भिडियो जारी गर्दै भट्टराईले पार्टीको पुनर्गठन आवश्यक रहेको बताएका छन् । एमालेको सरकार भएको बखत उक्त सरकारले भौतिक पूर्वाधार निर्माणमा अत्यन्तै ठूला–ठूला काम गरेको भट्टराईले बताएका छन् । 'यसका बाबजुद हामीले केही कमजोरी गर्‍यौं, त्यसका लागि माफी माग्न चाहन्छु,' उनले भने । तीनै कमजोरीबाट शिक्षा लिँदै आगामी दिनमा पार्टीलाई अर्को उचाइ दिन सबैलाई जुट्न भट्टराईले आह्वान गरेका छन् । 'अब व्यक्ति र पार्टीको रूपान्तरण आजको आवश्यकता हो । आउनुहोस्, देश र पार्टीलाई अझ बलियो बनाउने दृढताका साथ अगाडि बढौँ,' सचिव भट्टराईले भने ।

शनिबार यी प्रदेशमा पर्नेछ भारी वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी र मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  

जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा

काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ ।   आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ । आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ ।