एकैदिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढ्यो
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रति तोला ५ हजार २ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । मंगलबार चाँदी प्रति तोला ८५ रुपैयाँले बढेर ३ हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ३ हजार १ सय १५ रुपैयाँ थियो ।
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोड ८२ लाख आम्दानी
मुस्ताङ । पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४ सय रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६ सय ६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा चालु वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक रूपमा विस्तार हुँदा ११ करोड ८४ लाख ७५ हजार ४ सय रुपैयाँ बराबरको आलु उत्पादन वृद्धि भएको जनाइएको छ । केन्द्रका अनुसार चालु आवमा प्रतिहेक्टर २० दशमलव २२ मेट्रिक टन आलु उत्पादन भएको हो । गत वर्षभन्दा चालु वर्ष आलु उत्पादनको क्षेत्र १८ हेक्टर वृद्धि भएको हो । त्यसैगरी, गत वर्षको तुलनामा चालु आवमा यहाँ प्रतिहेक्टर करिब दुई मेट्रिक टन आलु उत्पादन वृद्धि भएको छ । चालु आवमा जिल्लाका किसानले फार्म गेट औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ बिक्री भएकाले सोहीअनुसार कुल उत्पादन मूल्यको लेखाजोखा गरिएको केन्द्र प्रमुख गुरुङको भनाइ छ । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको संयुक्त समन्वय र सहकार्यमा स्थानीय तहका कृषि प्राविधिकको उपस्थितिमा गरिएको क्रपकटिङ विधिबाट आलु उत्पादनको लेखाजोखा गरिएको उनले बताए । उनका अनुसार माथिल्लो मुस्ताङ, मध्यमुस्ताङ र तल्लो मुस्ताङलाई तीन क्षेत्रमा विभाजन गरी त्यहाँका विभिन्न आलु उत्पादनकर्ता किसानको खेतबारीमा पुगेर धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने आलुको उत्पादन तथ्याङ्क सङ्कलन गरी औसत उत्पादनको मापन गरिएको छ । गत वर्ष जिल्लाका पाँच स्थानीय तहमा गरी कुल चार सय ६० हेक्टर क्षेत्रमा आठ हजार ४ सय ९६ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष यहाँ प्रतिहेक्टर १८ दशमलव ३८ प्रतिशत आलु उत्पादन भएको थियो । केन्द्रका अनुसार गत वर्षको तुलनामा चालु वर्षमा १३ दशमलव ७६ प्रतिशत स्याउ उत्पादन भएको छ । त्यसैगरी, गत वर्ष चालु वर्ष एक हजार १ सय ६९ मेट्रिक टन आलु उत्पादन वृद्धि भएको केन्द्र प्रमुख गुरुङले बताए । गतवर्ष मुस्ताङमा प्रतिकेजी रु ६० मा आलु बिक्री भएकामा चालु वर्ष रु पाँच वृद्धि भई ६५ रुपैयाँमा बिक्री भएको उनको भनाइ छ । चालु आवमा यहाँका पाँच स्थानीय तहमा उत्पादन भएको आलुमध्ये ६० प्रतिशत जिल्ला बाहिर, ३० प्रतिशत जिल्लाभित्र र १० प्रतिशत बीउ प्रयोजनका रूपमा खपत भएको हो । यहाँ घरायसी प्रयोजन र होटल रेष्टुराँमा एकतिहाइ आलु खपत हुने गरेको केन्द्र प्रमुख गुरुङले जानकारी दिए । यहाँ स्याउबालीभित्र अन्तरबालीका रूपमा पनि आलुखेती गर्ने गरिएको छ । हिमाली जिल्ला उच्च भूगोलको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलु स्वादिलो र पोषिलो हुन्छ । मुस्ताङको आलु तरकारी, उसिनेर तथा साँधेर खाने प्रचलन छ । यहाँ उत्पादन गरिने लोकल सेतो आलु सहरबजारका उपभोक्ता तथा जिल्लामा आएका पर्यटकले औधी रुचाउने गर्छन् । शहरबजारका थकाली भान्साघर होस् वा ठूला तारेहोटलमा किन नहोस् मुस्ताङी आलु आमउपभोक्तामाझ स्थापित भइसकेकाले पनि मुस्ताङी आलुको माग अधिक छ । पछिल्लो समय कोरला सडक सहज हुँदै जान थालेपछि मुस्ताङी स्याउपछि आलुको माग बढेको घरपझोङ–४ जोमसोमका किसान अजित थकालीले बताए । रासस
आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपरान्ह ४ बजे सुरु हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौं दुई अङ्कसहित तेस्रो स्थानमा छ । रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।