झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने न्यून

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ । आज ०.९५ अंकले नेप्से बढेको हो । ०.०८ प्रतिशतले बढ्दा परिसूचक १२४९.४९ विन्दुमा पुगेको छ । आज १६१ कम्पनीका १० लाख ४२ हजार ६ सय ४६ कित्ता सेयर किनबेच हुँदा २८ करोड ५२ लाख १४ हजार ५ सय ७२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले जनाएको छ । नेप्से झिनो अंकले बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आइतबार ६ सूचकमा हरियाले छायो भने बाँकी राताम्मे भए । बैंकिङ समूह ०.६१, वित्त समूह १.६१, निर्जीवन बीमा समूह ०.१२, उत्पादनमूलक समूह २.५३ र वित्त समूह ०.४७ अंकले घट्यो भने होटल समूह ११.९६, विकास बैंक समूह ८.८५, लघुवित्त समूह ०.९४, अन्य समूह २.२५, जीवन बीमा समूह ३२.५२ र म्युचुअल फण्ड ०.०३ अंकले बढेका हुन् । आज माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ९.९० प्रतिशतले नाफा कमाएका छन् भने मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ८.२७ प्रतिशतले घाटा व्यहोरेका छन् ।

साञ्जेन र रसुवागढीको सेयर सूचीकरण हुन ढिलाई, कम्पनीले नेप्सेमा किन दिएन आवेदन ?

काठमाडौं । सेयर बाँडफाँट भएको तीन महिना लाग्दा समेत साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले सेयर सूचीकरणका लागि अहिलेसम्म निवेदन दिएका छैनन् । दुबै कम्पनीले अहिलेसम्म नेपाल स्टक एक्चेन्ज(नेप्से)मा आवेदन नबुझाएको प्रवक्ता मुराहरि पराजुली बताए । ‘सेयर बाँडफाँट भएको यति दिनमा सेयर सूचीकृत गरीसक्नु पर्ने भन्ने कुनै व्यवस्था नभएको जनाउँदै उनले भने- ‘नेप्सेमा आवेदन आएको एक महिनामा भने सूचीकृत गरी सक्नु पर्छ ।’ नयाँ आर्थिक वर्ष नजिकिदै जाँदा धितोपत्र बोर्ड तथा नेप्सेले लगाउने सूचीकरण शुल्क र स्थानीयको सेयर बाँडफाँटका कारण कम्पनीले सेयर सूचीकरण गर्न ढिला गरेको हो । एक महिनाअघि सेयर सूचीकरण हुँदा दुबै संस्थालाई ६०/६० लाख रुपैयाँ व्ययभार हुने भएपछि सो भार कम गर्न उक्त सूचीकरण ढिला भएको हो । अब सेयर सूचीकरण साउनपछि मात्रै हुने निश्चितजस्तै भएको छ । नयाँ आर्थिक वर्ष लागेपछि रसुवागढीको सेयर सूचीकरण हुने चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए । रसुवागढी सेयर सूचीकरण गर्ने प्रक्रियामा रहेको छ,’ उनले भने- ‘जतिसक्दो छिटो सेयर सूचीकरण हुन्छ ।’ धितोपत्र बोर्ड र नेप्सेको सूचीकरण शुल्कका कारण उक्त सेयरको सूचीकरणमा ढिलाइ हुन लागेको हो । ‘हाल सर्वसाधारण, संस्थाका कर्मचारी र संस्थापक कम्पनीका कर्मचारी समेत ६-६ लाख सेयरधनीहरु छन् । नेपाल स्टक एक्चेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायतका कम्पनीहरुमा नवीकरण शुल्क बापत प्रतिसेयरधनी वार्षिक करिब १० रुपैंया नवीकरण शुल्क तिर्नुपर्न हुन्छ । त्यसो गर्दा प्रत्येक वर्ष करिब ६० लाख शुल्क तिर्नु पर्ने भयो । अहिले सूचीकरण गर्दा फेरि साउनमा नविकरण शुल्क बुझाउनुपर्छ । यसो हुँदा एक महिनाकै लागि सो मात्रामा शुल्क तिर्नुपर्ने देखियो, नयाँ आर्थिक वर्ष सुरु भएपछि सूचीकरण भए एक वर्षको खर्च बच्ने भयो, त्यसैले ढिला भएको हो ।’ साञ्जेन हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ साउनभरीमा सेयर सूचीकृत भइसक्ने बताए । ‘अहिले हामी सूचीकरणको प्रक्रियामा छौं,’ उनले भने ‘बोर्डले निर्णय गर्दैछ ।’

सिंगटी हाईड्रोको आइपीओ निष्काशन हुने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

काठमाडौँ । सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको प्राथमिक शेयर(आइपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरिएको छ । दोलखा जिल्लाको सिंगटी खोलामा निर्माणाधिन २५ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको शेयर निष्काशन तथा बिक्रीका लागि भएको सम्झौता पत्रमा हाईड्रो ईनर्जी कम्पनीका तर्पmबाट कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटल मार्केट्सका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले एक समारोहबीच हस्ताक्षर गरे । सिंगटी हाईड्रो ईनर्जी लिमिटेडले सर्वसाधारणका लागि ४३ करोड ५० लाख रुपैंया बराबरको १०० रुपैयाँ अंकित दरको ४३ लाख ५० हजार कित्ता शेयर आगामी असोजसम्ममा निष्काशन तथा बिक्री गर्ने तयारी गरेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता रहेको छ । २०७६ साल भदौसम्म बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अहिले यस जलविद्युत आयोजनाको अन्तिम चरणको निर्माण कार्य भइरहेको छ ।