पूँजीगत लाभकरको विषयमा सहमति जुटेसँगै ६ अंकले बढ्यो नेप्से

काठमाडौ । पूँजीगत लाभकरको विषयमा सहमति जुटेसँगै नेपाल स्टक एक्सचेञ्ज(नेप्से)परिसूचक ६.२० अंकले बढेको छ । ०.४९ प्रतिशतले बढ्दा नेप्से परिसूचक १२६५.५७ बिन्दुमा पुगेको हो । बुधबार सेयर बजारमा १ सय ६९ कम्पनीले कारोबार गरे । १२ लाख ६१ हजार ५ सय ९० कित्ता सेयर किनबेच हुँदा ३५ करोड ७८ लाख ३६ हजार १ सय ८५ रुपैयाँको कारोबार भएको छ । नेप्सेको १ सूचक रातो रहँदा अन्य सबै हरियो रहेका छन् । विकास बैक समूह ०.८४ अंकले घटेको हो । बैंक समूह २.०३, ट्रेडिङ् समूह ३.२२, होटल समूह ५.७३, जलविद्युत समूह ०.१७ वित्तीय समूह २.२२, निर्जीवन बीमा समूह ५३.९६, उत्पादनमूलक समूह १३.३२, अन्य २.२८, माईक्रोफाईनान्स ५२.४५, जीवन बीमा समूह ४६.५ र म्यूचुअल फण्ड समूह ०.०८ अंकले बढेका छन् । आज सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने यूनियन हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले ४.१० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

पुँजीगत लाभकरको विषयमा सहमति जुट्यो, सेवोनले बैठक बोलाएर टुंगो लगाउने

काठमाडौं । धितोपत्र बजारमा लामो समयदेखि देखिएको पुँजीगत लाभकरको विवाद टुंगो लागेको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित ५ वटा लगानीकर्ता संघ, ब्रोकर संघ, नेप्से, सीडीएस, सेवान तथा अर्थ मन्त्रालयका प्रतिनिधिबीच भएको छलफलबाट पुँजीगत लाभकर सम्बन्धी विवाद टुंगो लगाएको हो । आज आयोजित छलफल कार्यक्रमले शुरुदेखि (२०५८साल) कै भारित औसत मूल्य निकालेर पुँजीगत लाभकर गणना गरिने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । आजै धितोपत्र बोर्डको बैठक बसेर पुँजीगत लाभकर गणना सम्बन्धी सो सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउने भएको छ । ‘२०५८ सालदेखि गत असार मसान्तको मूल्यबाट भारित औषत निकाले पुँजीगत लाभकर गणना गर्ने सहमति भएको छ,’ रौनियारले भने ‘ व्यक्ति पिच्छे यसरी गणना गर्दा झण्झटिलो हुने भएपछि हरेक कम्पनीको सोही विधिअनुसार गणना समझदारी भएको हो ।’ छलफलमा नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाव समुह र नेपाल पुँजी बजार संघका प्रतिनिधि गरी आठ जनाको सहभागीता रहेको थियो । अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख तोयम रायको नेतृत्वमा भएको छलफलमा आन्तरिक राजस्व विभागका उप महानिर्देशक यज्ञ ढुंगेल र अधिकृत चण्डी घिमिरेको सहभागीता रहेको थियो ।

धितोपत्र बोर्डको सूचना तथा प्रविधि नीति लागू, के छ यो नीतिमा ?

काठमाडौँ । धितो पत्र बोर्डको सूचना तथा प्रविधि नीति साउन महिना देखि लागू भएको छ । सूचनामा आधारित धितोपत्र तथा वस्तु विनिमय बजारमा भएका तथ्याङ्क एवम् जानकारीहरुको अभिलेख व्यवस्थापन तथा प्रभावकारी उपयोगमा सूचना प्रविधिको अत्यन्तै महत्वपूर्ण भूमिकालाई दृष्टिगत गरी बोर्डको आव २०७६/७७ को नीति तथा कार्यक्रम अनुरुप बोर्ड संचालक समितिको निर्णयानुसार बोर्डको सूचना प्रविधि नीति, २०७६ पारित भई साउन महिनादेखि लागू गरिएको हो । सूचना प्रविधिको निरन्तर विकास तथा विस्तारबाट सिर्जित अवसरहरुको उच्चतम उपयोग गरी बजार नियमन तथा बजार गतिविधिलाई प्रतिस्पर्धी एवम् विश्वसनीय बनाउन बोर्डले सूचना प्रविधिसम्बन्धी नीति पहिलो पटक ल्याएको बोर्डका प्रवक्ता निरज गिरीले जनाएका छन् । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सूचना प्रविधि पूर्वाधारको विकास विस्तार गर्ने, बजार नियमन तथा बजार गतिविधिहरुमा सूचना प्रविधिको उपयोगलाई बढाउने, बजारमा सूचना प्रविधिको प्रयोगलाई स्तरीय र मितव्ययी बनाई सूचना प्रविधिका साधन तथा पूर्वाधारको सुरक्षित रुपमा प्रयोग गर्ने, सूचना प्रविधिको व्यवस्थित एवं स्तरीय उपयोगमार्फत् धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन, सञ्चालन तथा लगानीलाई गतिशील एवम् विश्वसनीय बनाउने यो नीतिको उद्देश्य रहेको जनाइएको छ । नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०७६ लागू भई कार्यान्वयनमा आए पछि देशको धितोपत्र तथा वस्तु विनिमय बजारमा हुने सूचना प्रविधिको उपयोग स्तरीय एवं भरपर्दो हुदै जाने सूचना प्रविधिको प्रभावकारी तथा सुरक्षित उपयोगका लागि महत्वपूर्ण आधार तयार हुदै जाने तथा धितोपत्र बजार नियमन तथा बजार गतिविधिहरुमा सूचना प्रविधिको उपयोगमा एकरुपता आई बजारको विश्वसनीयता अभिबृद्धि र बजारको विकास एवम् लगानीकर्ताको हित संरक्षण हुने बोर्डले अपेक्षा गरेको छ । के छ सूचना तथा प्रविधि नीतिमा ? १. उपर्युक्त उद्देश्यहरु परिपूर्तिको लागि बजारमा विकसित तथा स्तरीय सूचना प्रविधि प्रणालीको स्थापना तथा विकास गर्ने, बजार अनुगमन तथा सुपरिवेक्षणका लागि सूचना प्रविधि प्रयोग गर्ने, साइबर अपराध न्यूनीकरण र गुणस्तरमा जोड दिने, गुनासो समाधान, लगानीकर्ता शिक्षा तथा तालिम कार्यक्रममा सूचना प्रविधिको प्रयोग गर्ने बजार सम्बन्धी सूचना तथा जानकारीहरुको केन्द्रीय व्यवस्थापन तथा सुरक्षा गर्ने इत्यादि नीतिहरु राखिएका छन् । २. उपुर्यक्त नीतिहरुको कार्यान्वयनको लागि देहायका रणनीतिहरु अवलम्बन गर्ने व्यवस्था गरिएको छ: – बजार कारोबार, राफसाफ तथा फछ्र्यौट संयन्त्र र केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउससँग सम्बन्धित अभिलेखको दिगो, भरपर्दो तथा सुरक्षित प्रयोगका लागि स्तरीय एवम् अन्तर्राष्ट्रिय मापदण्ड तथा अभ्यास अनुरुपको डिजास्टर रिकोभरी संयन्त्रको स्थापना तथा व्यवस्थापन गर्ने/गराउने । – बजार नियमन, धितोपत्र बजार संचालन तथा केन्द्रीय निक्षेप सेवा, बजारका अन्य गतिविधिहरुमा प्रयोग गरिने सूचना प्रविधिका साधन र प्रणाली विकास तथा खरिद धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था(आएस्को)को सिद्धान्त र सफ्टवेयर सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुने गरी व्यवस्था गर्ने/गराउने । – बजार सम्बन्धी गतिविधिहरुको अनुगमन तथा सुपरिवेक्षण गर्न बजार सञ्चालक तथा नियमन निकायमा सूचना प्रविधियुक्त बजार सुपरिवेक्षण प्रणालीको व्यवस्था गर्ने/गराउने । – सफ्टवेयर विकास वा अधिग्रहण, प्राविधिक मूल्याङ्कन, पूर्व हस्तान्तरण निरीक्षणका लागि उपयुक्त मानक निर्धारण गर्ने÷गराउने । – बजार प्रणाली र केन्द्रीय निक्षेप प्रणालीको संपरीक्षण गर्नुपर्ने व्यवस्था गर्ने/गराउने । – बजारसँग सम्बन्धित सूचना प्रविधि साधनहरुलाई स्तरीय, प्रभावकारी तथा विश्वसनीय बनाउन यस सम्बन्धी निर्देशिकाहरु बनाई लागू गर्ने/गराउने । – नियमन निकाय, बजार संचालक तथा अन्य पूर्वाधारहरुमा उपलब्ध सूचना तथा जानकारीको अभिलेख, प्रयोग तथा सुरक्षाका लागि विकसित एवं भरपर्दो सूचना प्रविधि संयन्त्रको स्थापना तथा विकास गर्ने/गराउने । –  बजारसँग सम्बन्धित पक्षहरुले आ-आफ्नो क्षेत्रमा परेका तथा सम्बन्धित नीति तथा रणनीतिहरुको योजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने/गराउने । ३. बोर्डको सूचना प्रविधि नीति कार्यान्वयका लागि बोर्डका उप कार्यकारी निर्देशकको संयोजन रहने गरी ५ सदस्यीय समिति हुने व्यवस्था गरिनुका साथै उक्त नीति कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन बोर्डको उच्च व्यवस्थापनले गर्ने व्यवस्था समेत गरिएको छ ।