अजोड इन्स्योरेन्सको सेयर कारोबार किन भएन ? यसो भन्छ नेप्से
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको अजोड इन्स्योरेन्सको हालसम्म सेयर कारोबार भएको छैन । साउन १३ गते कारोबार हुन सक्ने गरी सूचीकृत भएको इन्स्योरेन्सको सेयर दुई दिन अर्थात साउन १४ गतेसम्म पनि सेयर किनबेच भएन । नेप्सेका अनुसार कम्पनीको पहिलो कारोबारको लागि ९७ रुपैयाँदेखि २ सय ९१ रुपैयाँसम्मको सिमा प्रदान गरिएको थियो । सोहि सिमा भित्र पहिलो दिन (साउन १३) मा ५ सय ६९ वटा र दोश्रो दिन(साउन १४) मा ५ सय ६७ वटा खरिद आदेश आएको थियो । तर सो अवधिसम्म कुनै पनि बिक्री आदेश प्राप्त नभएकाले कारोबार हुन नसकेको नेप्सेले जनाएको छ । यससँगै, कम्पनीको कारोबार अर्को कारोबार दिनको स्पेसियल प्रि-ओपन सेसन भए पश्चात मात्र निरन्तर कारोबार सत्रमा कारोबार गर्न सक्ने नेप्सेले जानकारी गराएको छ । नेप्सेमा सूचीकृत कुनै पनि नयाँ धितोपत्रको पहिलो कारोबार स्पेसियल प्रि-ओपन सेसन मार्फत मात्र हुने व्यवस्था रहेको छ । उक्त सेसनमा कारोबार भई ओपनिङ प्राइस तय भएपछि मात्र उक्त धितोपत्रको निरन्तर कारोबार सत्रमा कारोबार हुने व्यवस्था रहेको छ ।
लगानीकर्तालाई धितोपत्र बोर्डले भन्यो- सगुनको सेयरमा लगानी नगर्नु
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सगुन इन्कर्पोरेशन कम्पनीमा लगानी नगर्न लगानीकर्तालाई आग्रह गरेको छ । सगुनलाई लक्षित गर्दै बोर्डले बुधबार एक सूचना जारी गरी विदेशमा दर्ता भएका सगुनजस्ता अन्य कम्पनीको सेयरमा लगानी नर्गन आग्रह गरेको हो । अमेरिकामा दर्ता भएको सगुनले नेपालका लगानीकर्तालाई लक्षित गरी मिनि आईपीओ जारी गरेको विभिन्न सञ्चारमाध्यममा आएसँगै बोर्डले उक्त आग्रह गरेको हो । नेपालीलाई अमेरिकी कम्पनीकाे मालिक बनाउने भन्दै सगुनले गरेकाे प्रचारप्रसार गैरकानुनी रहेकाे बाेर्डले बताएकाे छ। बोर्डको स्वीकृत बिना नेपालमा धितोपत्रको निष्काशन गर्ने काम गैरकानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने बोर्डले जनाएको छ । ‘सगुन जस्ता अन्य कम्पनी जसले बोर्डबाट स्वीकृत प्राप्त गरेका छैनन्, त्यस्ता कम्पनीकाे सेयरमा लगानी नगर्न आग्रह गरिएकाे हाे । यदि त्यस्तो गरेको पाइएमा धितोपत्र ऐन अनुसार कारबाहीको प्रकृया अघि बढाइने छ ।’- बाेर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । बाेर्डले बुधबार जारी गरेकाे सूचना त्यसैले, लगानीकर्ताले कुनै कम्पनीमा लगानी गर्नु अघि त्यस कम्पनीले बोर्डबाट स्वीकृति पाएकाे/नपाएकाे हेरेर वा बुझेर मात्रै लगानी गर्न उचित हुने उनले भने । ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७(१)मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९(१)मा संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने’ व्यवस्था रहेको छ । सम्बन्धित समाचारः सगुनले ९० लाख डलरको सेयर निष्काशन गर्ने, कम्तिमा ९ सय डलरको किन्न सकिने
पुनर्बीमा कम्पनीका लगानीकर्ताले लाभांश नपाउने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले लाभांश नपाउने भएका छन् । लगानीकर्ताले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश नपाउने भएका हुन् । साउन ८ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश तथा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो । पुनर्बीमा व्यवसाय(व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका अनुसार कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्ने भएकाले कम्पनीले उक्त निर्णय भएको हो । ‘पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्नेछ ।’- निर्देशिकामा उल्लेख छ ।