लिवर्टी ईनजीले भदौ ३ गतेदेखि आईपीओ जारी गर्दै, कति दिन पाइन्छ आवेदन ?

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले आगामी भदौ ३ गतेदेखि साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ३५ करोड ६४ लाख रुपैयाँबराबरको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजीको २५ प्रतिशत अर्थात ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्काशन गरी बाँकी रहेको १३ लाख १५ हजार ९ सय ३० कित्ता समेत गरी सर्वासाधारणमा निष्कासन गर्न लागेको हो । जसमा सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुलाई छुट्याएको सेयर समेत सामावेश भएको कम्पनीले जनाएकाे छ । कम्पनीले गत साउन २१ गतेसम्म स्थानीयलाई आईपीओ बिक्री गरी गत साउन २४ गते बाँडफाँड समेत गरी सकेको छ । स्थानीयलाई बाँडफाँट गरेपश्चात कम्पनीले सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्न लागेकाे उक्त सेयरमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका सेयरको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते(बैंकिङ समयसम्म) हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको बुझाउँछ ।

९७ हजार ३४४ जनाले पाएनन् एनआरएन इन्फ्राइस्टक्चरको सेयर, बाँकीले कति पाए ?

काठमाडौं । एनआरएन इन्फ्राइस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ मंगलबार(साउन २७ गते) बिहान बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ९७ हजार ३ सय ४४ जनाले कम्पनीको सेयर पाएनन् भने बाँकीले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका छन् । उक्त आईपीओमा कूल ४ लाख १८ हजार ९ सय १८ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९ सय ६० जनाको आवेदन रद्द भएको थियो भने बाँकी ४ लाख १७ हजार ९ सय ५८ जनाको आवेदन सदर भएको थियो । सदर भएको आवेदनमध्ये ३ लाख २० हजार ६ सय १४ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका हुन् भने बाँकी ९७ हजार ३ सय ४४ जना आवेदकको हात खाली भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको थियाे । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे । कर्मचारीका लागि सुरक्षित गरिएको ६७ हजार ९ सय ६१ कित्ता सेयरमा २ जनाले मात्र २२ हजार ४ कित्ता सेयरकाे लागि आवेदन दिएका थिए । बाँकी रहेकाे ४५ हजार ९ सय ५७ कित्ता सेयर बिक्री भएन । उक्त बिक्री नभएकाे सेयर समेत थप गरी सर्वसाधारणमा बाँडफाँड गरिएको हो । यससँगै सर्बसाधारणलाई छुट्याईएको सेयर संख्या ३२ लाख ६ हजार १ सय ४० कायम भएको छ । र, गोलाप्रथाबाट ३ लाख २० हजार ६ सय १४ जनाले १०/१० कित्ताका दरले सेयर पाएका क्यापिटलले जनाएको छ ।

यस्ता छन् स्टक डिलरले गर्न नहुने १४ काम

काठमाडौं । नेप्सेले स्टक डिलर कार्य सञ्चालन कार्यविधि आगामी भदौदेखि लागू गर्ने भएकाे छ । नेप्से सञ्चालक समितिको बैठकले ‘धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७’ स्वीकृत गरी भदौ १ गतेदेखि लागू हुने निर्णय गरेको हो । स्टक डिलरकाे काम सञ्चालनलाई सहज बनाउन नेप्सेले बनाएको उक्त कार्यविधि अनुसार स्टक डिलरले विभिन्न १४ वटा काम गर्न नपाउने भएका छन् । स्टक डिलरले गर्न नहुने कामहरूः १) नेप्से तथा बोर्डको स्वीकृत बेगर कारोबार बन्द गर्न पाउने छैनन् । २) नेप्सेलाई झुठा वा भ्रामक सूचना वा विवरण दिन पाउने छैनन् । ३) नेप्सेको स्वीकृति नलिई आफ्नो कारोबारको सार्वजनिक रुपमा विज्ञापन गर्न नपाउने व्यवस्था रहेको छ । ४) बजार सञ्चालनको निमित्त बाधा पार्ने काम गर्न पाउने छैनन् । ५) स्टक डिलरले बजारलाई असर गर्ने गरी सूचना प्रवाह गर्न पाउने छैनन् । ६) कारोबार गरिने धितोपत्रको कृत्रिम रुपमा मूल्य वृद्धि वा कमी गर्न नपाइने । ७) कुनै पनि सूचीकृत कम्पनीले तोकेको भन्दा बढी सेयर लिन पाउने छैनन् । ८) नेप्सेको प्रणालीभन्दा बाहिर गएर सेयर बिक्री गर्न नपाइने भएको छ । ९) अख्तियार प्राप्त निकायले रोक्का गरेको सेयर पनि किनबेच गर्न पाइने छैन । १०) झुट्ठा कारोबार गर्न पाइने छैन । ११) स्टक डिलरले अनुमति नलिई हाई फ्रिक्वेन्सी ट्रेडिङ् वा अल्गोरिदममा आधारित कारोबार सञ्चालन गर्न पाउने छैनन् । १२) उनीहरुले कुनै पनि कम्पनीको भित्री सूचनामा आधारित रहेका कारोबार गर्न नपाउने भएका छन् । १३) नेप्सेको कारोबार प्रणाली जोडिएको उपकरणहरुका नेप्सेको प्रणाली, उपकरण, तथ्यांक एवं कारोबार प्रकृयालाई असर गर्ने गरी अन्य उपकरण वा सफ्टवेर जडान गर्न पाउने छैनन् । १४) यसका साथै, प्रचलित नेपाल कानून विपरित हुने अन्य कामहरु गर्ने नपाउने नेप्सेले सार्वजनिक गरेको स्टक डिलर कार्यविधिमा भनिएको छ । सम्बन्धित समाचारः स्टक डिलर कार्यविधि भदौदेखि लागू, सेयर किनबेच गर्न कम्तिमा एक हजार कित्ता हुनुपर्ने