महिला लघुवित्तले चार करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँ बराबरको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्ने भएको छ । जसको लागि संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त भएको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौता पत्रमा एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र महिला लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् । लघुवित्तले प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ४ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
रिलायन्स लाइफको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको २ कराेड १० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड गरेको सो मात्राको सेयर आज (भदौ २२ गते) सोमबार नेप्सेमा सूचीकृत भएको हो । उक्त समझदारी पत्रमा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका हुन् । यससँगै कम्पनीको उक्त सेयर मंगलबार(भदौ २३ गते)देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल आरएलआई दिइएको छ । यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०७.५९ रुपैयाँ र ३२२.७७ रुपैयाँ तोकेको छ । रिलायन्स लाइफले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्न, शेयर दाखिल खारेज गर्न, नामसारी गर्न लगायतका सेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही गर्न सनराईज क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ । बीमा समितिबाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा सेयर सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो ।
आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बोनस र नगद गरी सो मात्रा अर्थात १७ करोड ९८ लाख ६४ हजार ६ सय ८५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८९ करोड ९३ लाख रुपैयाँ रहेको छ । जसको १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख ९८ हजार ५ सय १३ रुपैयाँ बोनस सेयर वितरण गर्ने संस्थाले जनाएको छ । त्यस्तै, बोनस र नगद लाभांशको कर सहित ५ प्रतिशत अर्थात ४ करोड ४९ लाख ६६ हजार एक सय ७१ रुपैयाँ नगद लाभांश वितरण गर्ने संस्थाले प्रस्ताव गरेको छ । उक्त प्रस्ताव भदौ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । ८९ करोड ९३ लाख रुपैयाँ संस्थाकाे चुक्ता पुँजी १५ प्रतिशत बोनस सेयर पश्चात १ अर्ब ३ करोड रूपैयाँ पुग्ने छ । अघिल्लाे आवमा संस्थाले बोनस र नगद लाभांश बराबर अर्थात १२.५/१२.५ प्रतिशत वितरण गरेको थियो ।