अब ‘मेरो सेयर’बाट सेयर भर्न ‘पीन कोड’ चाहिने
काठमाडौं । अब ‘मेरो सेयर’ सफ्टवेयरबाट जुनसुकै कम्पनीको सेयर भर्दा ‘पीन कोड’ चाहिने भएको छ । सीडीएस एण्ड क्लियरिङ्गले मेरो सेयर प्रयोगकर्ताले अबदेखि सार्वजनिक निष्काशन भएका धितोपत्र खरिदको लागि आवेदन दिँदा अनिवार्य रुपमा पीन कोड प्रयोग गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि मेरो सेयर सफ्टवेयरमा रहेको माई आश्वा मार्फत सार्वजनिक निष्काशन भएका सेयर आवेदन प्रविष्टि गर्दा वान टाइम पासवर्ड (ओटीपी) प्रयोग गर्नुपर्ने थियो । उक्त सेवालाई प्रतिस्थापन गरी सो को सट्टामा पर्सनल आईडेन्टीफिकेसन नम्बर(पीआईएन) कोडको व्यवस्था गरेको सीडीएससीले जानकारी गराएको छ । सीडीएससीका अनुसार उक्त पीन कोड ४ डिजिटको हुने छ । जुन सेट गर्नको लागि प्रयोगकर्तालाई मेरो सेयरमा पहिलो पटक लगइन गर्दा अनिवार्य पीन कोड सेट गर्नुपर्ने छ । र, अबदेखि बजारमा निष्काशन हुने सेयरमा आवेदन दिँदा उक्त पीन कोड प्रयोग गर्नुपर्ने छ । कसरी लिने पीन कोड ? उक्त पीन कोड लगानीकर्ता आफैले सेट गर्नुपर्ने सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताएका छन् । ‘मेरो सेयर लगइन गर्दा युजरनेम, पासवर्ड राखेर लगइन गरेपछि पीन कोड हाल्ने अप्सन आउँछ । त्यसमा मेरो सेयर प्रयोगकर्ताले अक्षर(अल्फाबेट) नभई अंक (न्युमेरिक नम्बर) हाल्नु पर्ने छ । जुन ४ वटा डिजिटको हुनुपर्ने छ ।’, सीईओ आचार्यले विकासन्युजसँग भने । साथै, उक्त पीन कोड लगानीकर्ताले कुनै पनि कम्पनीको सेयर भर्दा अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने उनले जानकारी दिएका छन् । यदि उक्त काेड बिर्सिएमा लगानीकर्ताले पुनः रिसेट पनि गर्न मिल्ने व्यवस्था रहेकाे छ । ‘मेरो सेयर’ सफ्टवेयरलाई थप सुरक्षित बनाउने उद्देश्यले सीडीएससीले याे नयाँ व्यवस्थाले लागू गरेकाे हाे । यसअघि प्रयाेग भइरहेकाे वान टाइम पासवर्ड (ओटीपी) ले बढी लाेड दिने भएकाे र सुरक्षाकाे हिसाबले पनि उपयुक्त नहुने भएकाेले याे पीन काेडकाे व्यवस्था गरिएकाे सीईओ आचार्यले बताए ।
मेगा बैंकको १८ लाख कित्ता सेयर असोज ११ गतेदेखि लिलामीमा, मूल्य १०० मा बढाबढ
काठमाडौं । मेगा बैंकको कूल १८ लाख ४० हजार ७ सय ३८ कित्ता हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकले निष्काशन गरेको हकप्रद सेयरमा पर्याप्त आवेदन नपरेपछि उक्त सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको हो । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर संस्थापक तथा साधारण समूहको गरीे सो मात्राको अवितरित हिकप्रद सेयर लिलामी गर्न लागेको जानकारी दिएको हो । जसमध्ये ११ लाख ३३ हजार ३ सय ४४ कित्ता सेयर संस्थापक समूह तर्फको र ७ लाख ७ हजार ३ सय ९४ कित्ता सेयर सर्वसाधारण समूह तर्फको रहेको छ । बैंकले २०७४ साल भदौ २७ गतेदेखि २०७४ साल कात्तिक १४ गतेसम्म संस्थापक तथा साधारण सेयरधनीहरुका लागि हकप्रद सेयर निष्काशन गरेको थियो । सोमध्ये बिक्रि नभएको १८ लाख ४० हजार ७ सय ३८ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्न लागिएको हो । यससँगै बैंकको सेयर खरिद गर्न चाहने लगानीकर्ताहरुले आगामी असोज ११ गतेदेखि असोज १८ गतेभित्र आवेदन दिन सक्नेछन् । न्युनतम मूल्य एक सय रुपैयाँ तोकिएको बैंकको सेयर इच्छुक तथा योग्य व्यक्ति तथा संघ संस्थाले सो वा सो भन्दा बढी मूल्यमा अंकित गरी बोलकबोल गर्न सक्नेछन् । सेयर खरिदका लागि बोलकबोल पेश गर्दा उनीहरुले न्युनतम १०० कित्ता र अधिकतम एक लाख कित्तासम्मको आवेदन दिन पाउने छन् । उपत्यका भित्र मेगा बैंकको कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्यूरोड (पिपलबोट), ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगञ्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणहरुले शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, काठमाडौं उपत्यकाबाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृह चोक र चिप्लेढुंगा, हेटौंडा, वीरगञ्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र विर्तामोड शाखाबाट शेयर खरिदका लागि आवेदन दिने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । यसैगरी, अनलाइनबाट फारम लिई शेयर आवेदन गर्न इच्छुक आवेदनकर्ताहरुले मेगा बैंक वा मेगा क्यापिटल मार्केटस लिमिटेडबाट छाप प्रमाणित गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीले मेगा क्यापिटल मार्केट्सलाई बिक्रि प्रबन्धक तोकेको छ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको छ ।
बजार खुलेको १० मिनेट नबित्दै चार कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौं । आज(असोज ४ गते) सेयर बजार खुलेको १० मिनेट नबित्दै चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ११ बजेर ९ मिनेट जाँदा बजारमा लिवर्टी ईनर्जी कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स र सिभिल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको हो । जसमध्ये लिवर्टी ईनर्जी कम्पनीकाे पहिलाे पटक दाेश्राे बजारमा सेयर काराेबार भएकाे हाे । हालै आईपीओ बाँडफाँड गरी गत शुक्रबार(असाेज २ गते) नेप्सेमा सूचीकृत भएकाे कम्पनीकाे सेयर आजबाट दाेश्राे बजारमा किनबेच भएकाे छ । जसकाे पहिलाे काराेबार प्रतिकित्ता ३०० रूपैयाँ भएकाे छ । आइतबार नेप्सेको स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा कम्पनीको पहिलो कारोबार भएको हो । त्यस्तै, सिभिल बैंक हिमालयन बैंकसँग मर्जरमा जाने हल्लाले सिभिल बैंककाे सेयर मूल्यमा सर्किट लागेकाे हाे । कम्पनीकाे सेयर मूल्य १५ रूपैयाँले बढेर प्रतिकित्ता १६५ रूपैयाँ पुगेकाे छ । याे अवधिमा नेप्से परिसूचक ३१.१४ अंकले बढेर १६०३ अंकमा पुगेकाे छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ६.०४ अंकले बढेर ३१८ अंकमा पुगेकाे छ । ११ बजेर ९ मिनेट जाँदासम्म १३० कम्पनीकाे १५ कराेड ५३ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भइसकेकाे छ । ५ हजार एक सय ६७ पटक भएकाे काराेबारमा ५ लाख ४३ हजार एक सय ५५ कित्ता सेयर किनबेच भएकाे छ । याे पनि पढ्नुहाेस्ः लिवर्टी ईनर्जीको पहिलो कारोबार कतिमा भयो ?