‘मेरो शेयर’को मोवाइल एप सञ्चालनमा, लगानीकर्ताले काराेबार गर्दा थप होसियारी अपनाउनु पर्ने

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग(सीडीएससी)ले ‘मेरो शेयर’को मोबाइल एप सञ्चालनमा ल्याएको छ । सीडीएससीले हाल सञ्चालनमा ल्याईरहेको ‘मेरो शेयर’ सफ्टवेयरको मोबाईल एप तयार गरी भदौ ३१ गतेबाट परीक्षणका लागि गुगल प्लेस्टोरमा राखेको हो । यस एपमा मेरो शेयरको वेव भर्जनमा रहेका सबै सुविधाहरु मध्ये हाल ‘माई आश्वा’ भित्र रहेका सुविधा बाहेकका सेवाहरु मात्र उपलब्ध गराएको छ । साथै, आगामी दिनमा नै माई आश्वा सहितको सबै सुविधाहरु समेटी पूर्ण रुपमा सञ्चालनमा ल्याउने सीडीएससीले जनाएको छ । लगानीकर्ताले यस एप मार्फत ‘मेरो शेयर’को सेवा प्रयोग गर्दा थप सहज महसुस गर्न पाउने संस्थाको विश्वास रहेको छ । हाल परिक्षणको रुपमा सञ्चालन गरिएको भएपनि यस एप मार्फत सबै कारोबारहरु आधिकारिक नै रहने कम्पनीले जनाएको छ । त्यसैले, उक्त एपबाट कारोबार गर्दा लगानीकर्ताले थप होसियारी अपनाउनु पर्ने सीडीएससीले बताएको छ । साथै, यसको प्रयोगको क्रममा कुनै समस्या देखिएमा वा कुनै सुझाव रहेमा संस्थाको इमेल  [email protected] मार्फत जानकारी गराउन सकिनेछ । लगानीकर्तालाई उनीहरुले सेयर बजारमा गरेको लगानीको सम्पूर्ण विवरण हेर्ने लगायत विभिन्न सेवा सुविधा दिने उद्देश्यले सीडीएससीले ‘मेरो शेयर’ सफ्टवेयर सञ्चालनमा ल्याएको थियो । जसलाई थप सरल, प्रयोगकर्तामैत्री एवम् सजिलै प्रयोग गर्न सकिने गरी उक्त सफ्टवेयरको मोबाईल एप सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार यस एप एन्ड्रोइड अपरेटिङ्ग सिस्टममा मात्र उपलब्ध रहेको र निकट भविष्यमा नै आईओएस अपरेटिङ्ग सिस्टममा समेत उपलब्ध हुने छ । [pdf id=237548]

नेप्सेमा रातारात ३१ करोडको कारोबार थपिएपछि बोर्डले माग्यो स्पष्टिकरण

काठमाडौं । नेप्सेमा रातारात कारोबार रकम थपिएपछि नियामक नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)सँग स्पष्टिकरण मागेको छ । अघिल्लो दिन बजार बन्द भएपछिको डाटा र भोलिपल्ट बजार खुल्नुभन्दा अघिको डाटामा निकै नै अन्तर देखिएपछि बोर्डले नेप्सेसँग स्पष्टिकरण मागेको हो । अघिल्लो दिन अर्थात मंगलबार(भदौ ३० गते)को सेयर बजार नियमित समयमा (दिउँसो ३ बजे) बन्द भएको थियो । सो अवधिमा विभिन्न कम्पनीको कूल ५७ लाख ९ हजार २ सय ६१ कित्ता सेयर एक अर्ब ७९ करोड रुपैयाँ बराबरमा किनबेच भएको थियो । तर, सोही साइटमा भोलिपल्ट बिहान अर्थात बुधबार बजार खुल्नु अघि हेर्दा २ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिएको थियो । कारोबार रकम मात्र नभई कारोबार कित्तामा पनि फरक देखिएको थियो । अघिल्लो दिन ५७ लाख ९ हजार २ सय ६१ कित्ता सेयर किनबेच भएको देखाएको उक्त साइटले भोलिपल्ट ६६ लाख ९७ हजार ४ सय ९६ कित्ता सेयर कारोबार भएको देखाएको थियो । यद्यपि, कारोबार रकम र कारोबार कित्ताको तथ्यांकमा फरक देखिएपनि नेप्सेको परिसूचकमा भने केही पनि परिवर्तन भएको थिएन । लाखौं लगानीकर्ताको खर्बाैं लगानी भएको बजारमा यस्तो ठूलो परिणाममा डाटा तल माथि हुनुले नेप्सेको कारोबार प्रणालीको विश्वसनियता माथि प्रश्न उठाउँदै एक लगानीकर्ताले प्रविधिको उपयोग गरेको हो वा दुरुपयोग गरेको हो भन्ने बुझ्न नसिकिएको बताएका छन् । ‘२/४ करोड बढी भएको भए सेटल्मेन्ट टाइमले गर्दा बढेको होला भन्ने हुन्थ्यो । तर ३१ करोड रुपैयाँ भनेको कूल कारोबारमा करिब १५/२० प्रतिशतको हाराहारीमा सेयर किनबेच हुनु हो । जुन चाहिँ शंकास्पद भयो ।’, उनले भने । नेप्समा रातारात काराेबार रकम बढ्न थालेछ, रातिपनि कारोबार गर्न अनुमति दिनुभयो कि के हो ? भन्ने विकासन्युजको प्रश्नमा बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले ‘पहिला हामीले ११ बजेदेखि तीन बजेसम्म सञ्चालन गर भनेका थियौं । तीन बजेपछि बढाएर सवा ५ बजेसम्म पुर्याए । त्यहाँसम्म त ठिकै थियो । फेरि अब सवा ५ बजेदेखि नाइट सिफ्ट पनि सञ्चालन गर्न थाले की क्या हो ?’, उनले ठट्यौली प्रश्नकाे उत्तर ठट्यौली पारामै दिए । ‘मैले बुझेसम्म तीन बजेसम्म अपडेट भएको थिएन त्यसपछि अपडेट गराउँदा कारोबार रकममा वृद्धि भएको हुन सक्ने छ । तर मैले आफ्नो ढंगले अनुमान लगाएर भएन । यस विषयकाे सत्य तथ्य के हाे भनेर हामीले नेप्सेसँग विस्तृत जानकारी मागेका छौं । उताबाट जवाफ आएपछि मात्रै यहि हो भन्न सकिन्छ ।’, अध्यक्ष ढुङ्गानाले विकासन्युजसँग भने । पछिल्लाे समय नेप्सेमा देखिएका हरेक समस्याहरू गम्भिर रहेका छन् । यी समस्याकाे छिटाेभन्दा छिटाे समाधान गर्न नेप्सेलाइ निर्देशन दिइसकेकाे र नेप्सेले पनि आगामी आइतबारदेखि केही समस्या नआउने प्रतिवद्धता जनाएकाे उनले बताए ।

माउन्टेन इनर्जीको आईपीओ बिक्री आजबाट खुल्यो, क-कसले भर्न पाउँछन् ?

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले यसअघि स्थगित गरेको आईपीओको बिक्री आज (भदौ ३१ गते) बाट खुला गरेको छ । संस्थाले उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । संस्थाले यसअघि गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो । तर उक्त समयमा देशका अधिकांश स्थानहरुमा बाढीपहिरोको भयावह अवस्था सिर्जना भएकोले प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिएकोले संस्थाले आईपीओ निष्कासन गर्ने प्रक्रियालाई तत्कालको लागि स्थगित गरेको थियो । संस्थालाई नेपाल धितोपत्र बोर्डले १०० रुपैयाँ अंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ जारी गर्न अनुमति दिएको थियो । त्यसमध्ये संस्थाले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता (जारी पुँजीको १० प्रतिशत) आईपीओ बिक्री गर्न लागेको हो । त्यस्तै, दोस्रो चरण सर्वसाधारणका लागि सोही बराबर अर्थात १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको संस्थाले जनाएको छ । भदौ ३१ गते(आज) बाट पहिलो चरणमा निष्कासन गरिने आईपीओमा प्रभावित क्षेत्रका स्थानीयले छिटोमा असोज १४ गतेभित्र खरिद आवेदन दिनसक्ने छन् । यदि सो समय भित्र माग अनुसारको आईपीओ बिक्री नभएमा इच्छुक आवेदकले आगामी असोज २९ गतेसम्मको लागि सेयर भर्न पाउने छन् । उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीयका लागि खुलाइने आईपीओमा नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितहरुले १० कित्तादेखि २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्ने छन् । नुवाकोट जिल्लामा अतिप्रभावित क्षेत्र पञ्चकन्या गाउपालिका वडा नं. ४ (साविकको थप्रेक गाविस) र तादी गाउपालिका वडा नं. २, ३ र ४ (साबिक रालुकोदेवी र सुन्दरादेवी गाविस) तथा उद्योग प्रभावित क्षेत्रमा तादी गाउपालिका, पञ्चकन्या गाउपालिका र लिखु गाउपालिका छन् । त्यस्तै म्याग्दीका अतिप्रभावित क्षेत्रमा अन्नपूर्ण गाउपालिका वडा नं. ४ (साविकको नारच्याङ गाविस) र उद्योग प्रभावित क्षेत्रमा अन्नपूर्ण गाउपालिका छन् । उक्त स्थानमा बसोवास गर्ने नेपाली नागरिकले सो सेयरमा आवेदन दिन पाउने छन् ।