गरिमा विकास बैंकले ल्यायाे ‘मेरो सेयर बचत खाता’, आर्कषक व्याजसहित सित्तैमा डिम्याट र सी-आस्बा सेवा पाइने

काठमाडौं । गरिमा विकास बैंकले सेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्याउन ‘मेरो सेयर बचत खाता’ सार्वजानिक गरेको छ । यो खाता अन्तर्गत ग्राहकले न्युनतम ५०० रुपैयाँमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी-आस्बा सुविधा लिन सक्नेछन् । त्यस्तै, पहिला नै डिम्याट खाता हुने ग्राहकहले पनि यो खाता खोली निःशुल्क सी-आस्बाको सुविधा लिन सक्नेछन् । ‘मेरो सेयर बचत खाता’मा बैंकले आर्कषक ५.५ प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको छ । वर्तमान अवस्थामा कोभिड १९को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत बैंकले उक्त सुविधा दिने भएकाे हाे । जनमानसमा सेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली सेयर मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पुर्याउने यो खाताको मुख्य उद्देश्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् । हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ शाखा कार्यालय र ५१ एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आईरहेको छ ।

सेयर बजार राताम्ये, ५४ अंकले घट्यो परिसुचक, किन घट्यो बजार ?

काठमाडौं । आज सेयर बजार राताम्ये देखिएको छ । यो सामाचार तयार पार्दासम्म (१ बजोर ९ मिनेटसम्मको समयमा) पुँजी बजार मापक नेप्से परिसुचक करिब ५४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सो समयसम्ममा परिसुचक ५३.८२ अंकले घटेको छ भने ४ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अधिंकाश उपसुचक घटेका छन् । नेप्सेका अनुसार बैंकिङ समुहको ४०.१ अंकले, ट्रेडिङ समुह १३.९९ अंकले, होटल समुह ४७.३७ अंकले, विकास बैंक समुह ४६.५२ अंकले, जलविद्युत समुह ४४.११ अंकले, वित्त कम्पनी समुह ४१.६३ अंकले, निर्जीवन बीमा समुह २८५.५९ अंकले, उत्पादनमुलक समुह १४२.८५ अंकले, अन्य समुह २७.२८ अंकले, माइक्रोफाइनान्स समुह १२०.६८ अंकले र जीवन बीमा समुह ३९५.८४ अंकले घटेका छन् । किन घट्यो बजार ? केही महिनादेखि लगातार बढेको सेयर बजार आज भने घटेको छ । नेपाली पुँजी बजारमा ६५ प्रतिशतभन्दा बढीको हिस्सा रहेको बैंकिङ क्षेत्रको नाफा गत वर्षको तुलनामा कम भएको ६ महिने वित्तीय विवरण सार्वजनिक भएपछि सेयर बजार अब के होला भन्ने चासो अघिल्लो साताको मध्यतिरबाटै देखाउन थालिएको थियो । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली हठात प्रतिनिधिसभा विघटन गरेर मध्यावधी निर्वाचनको घोषणा गर्दा पनि सेयर बजारले कुनै प्रतिक्रिया दिएको थिएन । सर्वाेच्च अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा निर्णय आउने चरणमा पुगेकोले पनि बजारमा केही शिथिलता देखिएको हुन सक्ने आंकलन गरिएको छ । यस्तै, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधी समीक्षा सार्वजनिक गरेको छैन । मध्यामधी समीक्षा मार्फत सेयर बजारका लागि केही कडा व्यवस्था गर्न लागिएको आंकलन गरेर पनि बजार केही संकुचन भएको हुन सक्ने विश्लेषकहरुले बताएका छन् । ‘बैंकहरुको ६ महिनाको वित्तीय विवरण सार्वजनिक भएदेखि नै बैंकको सेयरमा केही मन्दी देखिएको थियो, प्रतिनिधिसभा विघटनको मुद्दा अन्तिम किनारा लाग्ने चरणमा पुगेजस्तो महसुस गरिएको र राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत सेयर बजारमा केही कडाई गर्छ कि भन्ने आंकलन लगानीकर्ताले गरिरहेका छन्, यी तीनवटा कारणले गर्दा बजार घटेको हुन सक्छ,’ एक ब्रोकरले भने ।

धितोपत्र बोर्डको संचालक समिति सदस्यमा चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको संचालक समिति सदस्यमा नियुक्त भएका छन् । महासंघको तर्फबाट नियुक्त हुने सदस्यमा ढकाल नियुक्त भएका हुन् । यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सदस्य थिए । महासंघले आफ्नो तर्फबाट नियुक्त हुने सदस्यमा वरिष्ठ उपाध्यक्ष ढकाललाई पठाउने निर्णय गरेको हो । बोर्डको ७ सदस्यीय संचालक समितिमा कार्यकारी अध्यक्ष र विज्ञ संचालक गरी सरकारले २ जना सदस्य नियुक्त गर्छ । बाँकी ५ जना भने पदेन सदस्य रहने गरेका छन् । सरकारले कार्यकारी अध्यक्ष भिष्मराज ढुंगाना र विज्ञ संचालकमा अशोककुमार पौडेललाई नियुक्त गरेको छ । अन्य सदस्यहरुमा अर्थमन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव सदस्य बन्छन् । अहिले अर्थमन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको तर्फबाट सहसचिव निर्मला अधिकारी भट्टराई सदस्य छन् । यस्तै, नेपाल राष्ट्र बैंकका एक जना कार्यकारी निर्देशक र चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालको तर्फबाट एक जना सदस्य बन्ने व्यवस्था छ । सो व्यवस्था अनुसार राष्ट्र बैंकबाट कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र चार्टर्ड एकाउन्टेन्ट संस्थाका उपाध्यक्ष युद्धराज ओली संचालक समिति सदस्य छन् ।