बोनसपछि नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । आज (माघ १४ गते) बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको ३१ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २१९२ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २८७२ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता २१९२ रुपैयाँदेखि शुरु हुने छ ।
निफ्राको आईपीओ अपडेटः प्रिअलोटमेन्ट भोलि, बाँडफाँड कहिले ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)को प्रिअलोटमेन्ट भोलि बुधबार(माघ १४ गते) हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार माघ ६ गते निष्काशन बन्द भएकाे कम्पनीको आईपीओको प्रिआलोटमेन्ट भोलि हुने भएको हो । क्यापिटलले दिएकाे जानकारी अनुसार मंगलबारसम्म सेयर आवेदन भेरिफाइ गरि सकेर बुधबार प्रिअलोटमेन्ट गर्ने तयारी भइरहेको छ । त्यस्तै, आगामी शुक्रबार अर्थात माघ १६ गते सेयर बाँडफाँड गर्ने योजना भएको उनले बताए । बैंकले गत माघ २ गतेदेखि माघ ६ गतेसम्म निष्काशन गरेको आईपीओमा इतिहासकै बढी आवेदन परेकाे छ । क्यापिटलले दिएकाे जानकारी अनुसार आईपीओमा कूल १५ लाख २९ हजार ४६० जना आवेदकले कूल १८ कराेड १२ लाख ८६ हजार ७२० कित्ता सेयर अर्थात १८ अर्ब १२ कराेड ८६ लाख ७२ हजार रूपैयाँ बराबरकाे आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा २.३९ गुणा बढी आवेदन हाे । कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर मात्रै माग गरेकाे थियाे । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेकाे थियाे । जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियाे । यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो ।
अपि पावरका सेयरधनीले माघभित्रै २ वर्षको बोनस र हकप्रद सेयर पाउने
काठमाडौं । अपि पावर कम्पनीका सेयरधनीले यहि माघ मसान्तभित्रै २ आर्थिक वर्षको बोनस र हकप्रद सेयर पाउने भएका छन् । मंसिर ८ गते सम्पन्न कम्पनीको सभाले पारित गरेको दुई आर्थिक वर्षको बोनस र हकप्रद सेयर सेयरधनीले यो महिनाभित्रै आफ्नो डिम्याट खातामा पाउने भएका हुन् । कम्पनीले पछिल्ला २ आर्थिक वर्षको बोनस सेयर तथा हकप्रद सेयरको बाँडफाँड पश्चात सम्बन्धित हितग्राहीको खातामा जम्मा गर्ने काम २०७७ माघ मसान्तसम्म गर्ने तयारी भइरहेकाे जानकारी गराएकाे हाे । कम्पनीकाे सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे । यसैगरी सभाले नयाँ चुक्ता पुँजीको १ बराबर ०.८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको थियाे । कम्पनीले हालै हकप्रद सेयर निष्काशन गरेर चुक्ता पुँजी वृद्धि गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि मङ्सिर विद्यमान १ कित्ता साधारण सेयर बराबर ०.४७६ कित्ता साधारण सेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिसेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । सम्बन्धित समाचार अपि पावरको नाफा २४५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि दाेब्बर बढीकाे वृद्धि अपि पावरले एकैपटक सम्पन्न गर्यो दुई वार्षिक साधारणसभा, प्रस्तावित बोनस र हकप्रद सेयर पारित