इन्स्योरेन्स र लघुवित्तसहित ११ कम्पनीको सेयर कारोबार रोक्का, कुन कुनकाे ?

काठमाडौं । नेप्सेमा सूचीकृत ११ वटा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्जले इन्स्योरेन्स, माइक्रोफाइनान्स, हाइड्रो लगायत ११ वटा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । नेप्सेले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन नेपाल धितोपत्र बोर्डमा पेश नगरेको भन्दै धितोपत्र सूचीकरण विनियमावलीमा रहेको व्यवस्था अनुसार यी कम्पनीको दोश्रो बजारमा सेयर कारोबार बन्द गरिदिएको हो । नेप्सेले सोमबार(माघ २६ गते) एक सूचना मार्फत ११ कम्पनीको सेयर कारोबार रोक्का गरिएको जानकारी दिएको हो । जसमध्ये सबैभन्दा बढी जलविद्युत कम्पनी रहेका छन् । कारोबार रोक्का भएका ११ कम्पनीमध्ये ७ जलविद्युत, १ बीमा र ३ लघुवित्त कम्पनी रहेका छन् । जलविद्युत अन्तर्गतका नेपाल हाइड्रो डेभलपर, युनिभर्सल पावर कम्पनी, पन्चकन्या माई हाइड्रोपावर, रैराङ हाइड्रोपावर डेभलपमेन्ट, पाँचथर पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी र राधि विद्युत कम्पनीको कारोबार रोक्का भएको छ । त्यस्तै, बीमा कम्पनीमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का भएको छ । त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त वित्तीय संस्था र नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि अघिल्लो आवको वित्तीय विवरण बुझाएका छैनन् । र, दाेश्राे बजारमा सेयर काराेबार राेक्का भएकाे छ । नेप्सेले कम्पनीकाे सम्पूर्ण विवरण बुझाएपछि मात्रै साे कम्पनीको सेयर कारोबार फुकुवा गर्ने बताएको छ । यद्यपि, विवरण नबुझाएसम्म सेयर कारोबार बन्द नै हुने नेप्सेले जानकारी गराएकाे छ ।

ग्रीनलाइफ हाइड्रोको आईपीओ भोलिसम्म भर्न पाइने, हालसम्म कतिले भरे ?

काठमाडौं । हाल सेयर निष्काशन तथा बिक्री गरिरहेको ग्रीनलाइफ हाइड्रोपावरको प्राथमिक सेयर(आईपीओ)मा भोलि (माघ २७ गते) सम्म आवेदन दिन पाइने छ । कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा बढी आवेदन परेसँगै उक्त सेयरको निष्काशन बन्द छिटो मिति (अर्थात माघ २७ गते)मा हुन लागेको हो । कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणमा सेयर बिक्री खुला गरेको थियो । जसमा हालसम्ममा एक अर्ब ९८ करोड रुपैयाँ बढीको आवेदन परिसकेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज(सोमबार) साँझ ५ बजेसम्ममा १० लाख ९१ हजार २५१ जना आवेदकबाट एक करोड ९८ लाख ६१ हजार ७१० कित्ता सेयर माग गरिसकेका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ६.१ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा ३२ लाख ५१ हजार ६५२ कित्ता माग गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३४ लाख ९६ हजार ४०० कित्ता सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानिय बासिन्दाका लागि जारी गरी बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता सेयर साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । र, बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि इच्छुक सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेबसाइट तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई केयर एनपी बी प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ । हाल कम्पनीको अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब ८० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ३ लाख ६० हजार रुपैयाँ पुगेको छ । र, सर्वसाधारण तथा कर्मचारीहरुको लागि छुट्ट्याइएको सबै सेयर निष्काशन भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपेयाँ नाघ्ने छ।

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । माघ २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यससँगै सेयरधनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि कम्पनीको चुक्तापुँजी १ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।