राष्ट्रिय वाणिज्य बैंकको प्रस्तावित लाभांश पारित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रस्तावित लाभांश पारित भएको छ । माघ २८ गते सम्पन्न बैंकको १५ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको ४.५० प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आव २०७६/०७७ को नाफाबाट चुक्ता पुँजीको साढे ४ प्रतिशत लाभांश पाउने भएका छन् । भर्चुअल माध्यमबाट सम्पन्न भएको बैंकको सभाले लाभांश प्रस्ताव सहित आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए । बैंकको हाल ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

नेपाल लाइफले अंकित मूल्य ५० रुपैयाँ बनाउने निश्चित, पारित भयो ५१ प्रतिशत लाभांश

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँ पुर्याउने प्रस्ताव पारित भएको छ । माघ २८ गते सम्पन्न कम्पनीको २०औं वार्षिक साधारणसभाले अंकित मूल्य एक सय रुपैयाँको व्यवस्थालाई परिवर्तन गर्ने सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । इन्स्योरेन्सले साना लगानीकर्ताहरुको समेत कम्पनीको सेयरमा सहज पहुँचका लागि सो व्यवस्था कायम गरेको हो । साथै, सभाले प्रस्तावित ५१ प्रतिशत लाभांश पनि पारित गरेको छ । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश पाउने भएका छन् । ३० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक अर्थात ७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समिक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा करिब ३०.०९ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको बताए । अध्यक्ष संघईले दुई दशकमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि आगामी दशकको अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कम्पनीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको छ । सम्पत्ति र दायित्व बीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानी गर्ने तर्फ ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको छ । सभाबाट आ.व.२०७५ /०७६ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ । हाल यस कम्पनीको लगानी १०५ अर्ब ५७ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १०१ अर्ब ७८ करोड रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीमा १ लाख ६९ हजार ४८७ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख भन्दा बढी व्यक्ति बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ । सम्बन्धित समाचार टेस्ला इन्कको बाटोमा नेपाल लाइफ, नेपालमा कति सहज छ सेयर स्प्लिट ?

रविन्द्र भट्टराईको सेयर मन्त्रः लगानीकर्ताको लागि कत्तिको मन्त्र बन्न सक्छ ?

काठमाडौं । सेयर बजारबारे जानकार रविन्द्र भट्टराईले पछिल्लो समय ‘शेयर मन्त्र’ पुस्तक बजारमा ल्याएका छन् । पुँजी बजारका विभिन्न विषयमा पुस्तक तथा लेख प्रकाशन गरिरहने भट्टराईको पछिल्लो पुस्तक ‘शेयर मन्त्र’ लगानीकर्ताको लागि कत्तिको मन्त्र बन्न सक्छ भन्ने विषयमा धेरैको जिज्ञासा हुन सक्छ । भट्टराईले लेखेको पुस्तक उनी आवद्ध कम्पनी सेक्युरिटिज रिसर्च सेन्टर एण्ड सर्भिसेज (एसआरसीएस) प्रालिले प्रकाशन गरेको हो । पुस्तकको सम्पादन पुँजी बजारबारे कलम चलाई रहने पत्रकार डुन्डुराज आचार्यले गरेका छन् । पुस्तकको मूल्य ३ सय रुपैयाँ राखिएको छ । पुस्तकमा पुँजी बजारबारे विश्वका नयाँ अध्ययन तथा सफल लगानीकर्ताको अनुभव र भनाईहरु पनि समेटिएको छ । पत्रकारिताको पृष्ठभूमिका लेखक भट्टराई र सम्पादक पनि पत्रकार नै भएकोले लेखनशैली सरल छ । पुँजी बजारबारे धेरै ‘जार्गन’ प्रयोग गरिएको छैन । पुँजी बजार जस्तो जटिल विषयलाई सरल, उदाहरणसहित र सामान्य शब्दावली प्रयोग गरिएकोले पहिलो पटक यस क्षेत्रबारे अध्ययन गर्ने व्यक्तिले पनि सहजै बुझ्न सक्ने गरी पुस्तक तयार भएको छ । पुस्तकमा पुँजी बजारबारे नेपालका विद्यमान कानुन र नियमहरुको पनि अध्यावधिक चर्चा गरिएको छ । कुल १९ अध्याय रहेको सो पुस्तक १९४ पृष्ठको छ । यो पुस्तकमा समावेश भएका विषयका साथै अन्त्यमा १९औं अध्यायमा समावेश गरिएको सारांश खण्ड उपयोगी हुन सक्छ । किनभने पुस्तकमा समावेश भएका मुख्य विषयवस्तुलाई सारांशमा समेटिएको छ । सारांशमा उल्लेख गरिएका विषयको विस्तृतमा अघिल्ला अध्यायहरुमा व्याख्या गरिएको छ । पुस्तकको सार – सेयर बजारमा पैसा बनाउन अति तीक्ष्ण प्रतिभा वा ज्ञान हुनुपर्छ भन्ने छैन । लोक सेवा आयोगमा प्रथम हुँदैमा सेयर बजारमा सफल भइन्छ भन्ने छैन । सेयरमा पैसा बनाउन सामान्य नियम अवलम्बन गर्नुपर्छ, अनुशासित बन्नुपर्छ, धैर्य गर्नुपर्छ । सेयर बजारमा धेरै कारोबार गर्नेलेभन्दा किनेर विर्सनेले बढी पैसा कमाइरहेका हुन्छन् । – केही प्राथमिक निष्कासन (आईपीओ) मा सेयर नपरेकै कारण बजारबाट भाग्नु वा हतोत्साही हुनु हुँदैन । हामीले सेयर नभर्ने हो भने अरु कसैले भरिरहेको हुन्छ । हामीलाई पर्ने सेयर भर्नेलाई परिरहेको हुन्छ । त्यसैले धनी झनै धनी हुँदै जान्छन् भने हामीले कमाउन सक्ने पैसा पनि उनीहरुले लगिरहेका हुन्छन् । त्यसैले सेयरमा लगानी गर्नबाट आत्मसमर्पण गर्नु हुँदैन । – शताब्दीकै सफल सेयर लगानीकर्ता वारेन वफेटबाट हामीले धेरै कुरा सिक्न सक्छौं । व्यक्ति भन्दा पनि उनका विचार, सिद्धान्त र रणनीति लगानीमा सफल बन्नका लागि महत्वपूर्ण हुन सक्छन् । बजारमा प्रवेश गर्ने र निस्कने, कम्पनी छान्ने, पोर्टफोलियो बनाउने, जोखिम बहन गर्ने उनका तरिका हाम्रा लागि मार्ग निर्देशक बन्न सक्छन् । – महिलाभन्दा पुरुष लगानीकर्ता बढी आत्मविश्वासी हुन्छन् । त्यसैले उनीहरुले बढी जोखिम लिन्छन् । जोखिम बढी लिएपनि महिला लगानीकर्ताको कमाईं बढी हुन्छ । महिलामा पनि अविवाहित महिलाको कमाईं बढी हुन्छ । – सेयर बजार अथाह पैसा र सम्पत्ति भएको ठाउँ हो । – सेयर बजार सम्पत्ति बनाउने मात्र नभईं नियमित आम्दानीको राम्रो स्रोत पनि हो । – अल्पकालमा सेयर बजारमा उतारचढाव देखिए पनि दीर्घकालमा नेप्से परिसुचक वा समग्र बजार माथि नै गइरहेको हुन्छ । – सेयर बजारमा कम्पनी छनोट गर्ने काम निकै नै चुनौतिपूर्ण छ । आम्दानीको बृद्धि, संचालन नाफा, विक्रीमा नाफाको मार्जिन, नगद प्रवाह, प्रतिसेयर आम्दानी, इक्वीटीमा प्रतिफल, प्रतिस्पर्धी क्षमता आदिका आधारमा ग्रोथ कम्पनी छनोट गर्न सकिन्छ । – सेयर बजारमा अल्पकालिन लगानीभन्दा दीर्घकालिन अबधिको लगानीले बढी पैसा बन्छ । – पोर्टफोलियो बनाएर लगानी गर्नु नै जोखिम न्यूनिकरणको महत्वपूर्ण विधि हो । – सेयरको मूल्य जति बढ्यो, जोखिम त्यति नै बढेर जान्छ । यस्तै, सेयरको मूल्य जति घट्यो, जोखिम त्यति नै कम भएर जान्छ । – सेयर बजार घट्दै जाँदा लगानीकर्ता बजारबाट भाग्दै गइरहेका हुन्छन् । मूल्य बढेर माथि पुगेपछि अर्काे पटक घटेको बेलामा किन्छु भन्ने सोच्छन् । – अनलाइन कारोबारको सुरुवातसँगै सेयर किन्ने बेच्ने बटम लगानीकर्ताको हातमा आएको छ । सेयर कारोबारको कमिसन पनि घट्दै गएको छ । तर, संचारमाध्यमको विकास र सुचनाको बद्दो पहुँचले लगानीकर्तामा इमोसनल लागत भने बढ्दै गएको छ । – आफै किनबेच गरेपनि सेयर कारोबारमा ब्रोकर अनिवार्य चाहिन्छ । हरेक कारोबारमा ब्रोकरलाई कमिसन बुझाउनु पर्छ । कमिसनको लोभले ब्रोकरले सेयर होल्ड गर्नेभन्दा पनि कारोबार बढाउने प्रकारको हुन्छ । त्यसैले कुन किनौं, बेचौं कि राखौं भनेर ब्रोकरलाई नसोध्नु नै राम्रो हुन्छ । – सेयर बजार जुवा जस्तो होइन । पैसा कमाउने आशामा भाग्य बुझ्न ज्योतिषीकहाँ जानु गलत हो । – लगानीकर्ताको आयस्तर, जोखिम बहन गर्ने क्षमता, सुचनामा पहुँच आदिका आधारमा सेयर बजारमा छिर्ने समय फरक फरक हुन्छ । – आफैले काम गरेर मात्र पैसा कमाइन्छ भन्ने छैन । पैसालाई काम लगाएर पनि पैसा कमाउन सकिन्छ । पैसा कमाउने क्षमता मानिसमा भन्दा पैसामा बढी हुन्छ । – सेयर बजार कम्पनीको स्वामित्व किनबेच हुने ठाउँ हो । यहाँ आशा, लोभ र निरासा मात्रै होइन, रोचकता पनि त्यतिकै हुन्छ । धेरै कुरा सिक्न र मनोरञ्जन लिन पनि सकिन्छ ।