नुवाकोटकाे स्थानियले तादीखोलाको एक लाख ६० हजार कित्ता शेयर पाउने
काठमाडाैं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएका छन् । कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्नुपर्ने स्थानीयवासीले विशेष कोटा निर्धारणको माग गर्दै दिएका दबाब र सङ्घर्षपश्चात् कम्पनी शेयर उपलब्ध गराउन शुक्रबार सहमत भएको हो । दुप्चेश्वर, तादी र पञ्चकन्या गाउँपालिकाका बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएपछि विरोधका कार्यक्रम स्थगित गरेका छन् । चार दशमलव नौ मेगावाट क्षमताको परियोजनाबाट दुप्चेश्वर–५ र ६ वडा, तादी– ४ र पञ्चकन्या– ४ का जनतालाई असर पर्ने देखिएको छ । ती गाउँपालिकाका जनप्रतिनिधि, असर पुग्ने बासिन्दा र परियोजना पदाधिकारी सम्मिलित बैठकमा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले प्रमोटर सेयरका रुपमा प्रतिकित्ता रु १०० का दरले एक लाख ६० हजार कित्ता शेयर दिन लिखित सहमति जनाएका थिए । सहमति पछि ११ सदस्य ‘सहजीकरण समिति’ समेत गठन गरिएको समितिका सदस्य दुप्चेश्वर–६ का राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस समितिले अति अससर पर्ने दुप्चेश्वर–५ र ६ तादी–४ र पञ्चकन्या–४ का बासिन्दाका लागि ६० प्रतिशत र तीन पालिकाको बाँकी १४ वटा वडाको बासिन्दाका लागि ४० प्रतिशतका दरले शेयर वितरण सुनिश्चित गर्ने गरेर कार्य अघि बढाएको छ । एकै कम्पनीको दोहोरो शेयर भर्न नपाइने भएकाले हाल निष्कासन गरिएको आइपिओ उनीहरूलाई नभर्न आग्रह गरिएको तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिए ।
आरविवि म्युचुअल फण्ड १ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना ‘आरविवि म्युचुअल फण्ड १’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । उक्त फण्ड सूचीकरणको लागि नेप्से र आरविवि मर्चेन्ट बैंकिङ्गबीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । हालै जारी भई बाँडफाँड भएको १२ करोड ५० लाख इकाई अर्थात एक अर्ब २५ करोड रुपैयाँ बराबरको उक्त फण्ड भदौ ११ गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त फण्ड भदौ १३ गते आइतबारदेखि किनबेच गर्न पाइने छ । उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनीे आरविवि मर्चेन्ट बैंकिङ्ग रहेको ।
मेगा म्युचुअल फण्ड-१ मा ऐतिहासिक रेकर्ड, पर्यो हालसम्मकै बढी आवेदन
काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड-१’ मा माग गरेभन्दा २.३७ गुणा बढी आवेदन परेको छ । निष्काशन गरेको दुई दिनमै मागभन्दा बढी आवेदन परेको उक्त योजनामा चार दिनमा २० करोड १४ लाख ५५ हजार ६०० रुपैयाँ बराबरको आवेदन परेको हो । सो अवधिसम्म कूल १ लाख ६३ हजार ६४६ जना आवेदकले उक्त रुपैयाँ बराबरको आवेदन दिएका हुन् । जुन नेपालको वित्तीय इतिहासमा हालसम्मकै म्युचुअल फण्डमा सबैभन्दा धेरै आवेदन परेको क्यापिटलले जनाएको छ । फण्डको प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई निष्काशन गरेको हो । जसमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंकको लागि सुरक्षित राखेको हो । र, बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्काशन गरेको थियो । मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिनेछ ।