डिप्रोक्स लघुवित्तले घोषणा गर्यो २१ प्रतिशत लाभांश

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । भदौ १७ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी २१.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब १५ रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ३८ करोड रुपैयाँ नाघ्ने छ ।

अधिकतम रेञ्जमै भयो सानिमा लाइफ इन्स्योरेन्सको पहिलो कारोबार

काठमाडौं । दोश्रो बजारमा सानिमा लाइफ इन्स्योरेन्सको आज भदौ १७ गतेदेखि पहिलो सेयर कारोबार भएको छ । भदौ १६ गते नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर आजबाट दोश्रो बजारमा किनबेच शुरु भएको हो । यससँगै कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०९ रुपैयाँमा भएको छ । जुन नेप्सेले तोकेको अधिकतम रेञ्ज थियो । कम्पनीको १० कित्ता सेयर प्रतिकित्ता ३०९ रुपैयाँमा भएको छ । नेप्सेले इन्स्योरेन्सको पहिलो कारोबारको लागि न्युनतम १०३.१७ रुपैयाँ र अधिकतम ३०९.५१ रुपैयाँ तोकेको थियो । नेप्सेमा इन्स्योरेन्सको सिम्बोल ‘एसएलआई’ दिइएको छ ।

नेप्सेमा एकैदिन थपियो ५६ लाख कित्ता सेयर, सबैभन्दा बढी बोनस

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जन (नेप्से) मा एकैदिन ५६ लाख २६ हजार ७२४ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत विभिन्न कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचीकृत भएको हो । जसमध्ये दुई कम्पनीको बोनस र एक कम्पनीको हकप्रद सेयर रहेको छ । नागरिक लगानी कोषको ९ प्रतिशत अर्थात २७ लाख कित्ता बोनस सेयर सूचीकृत भएो छ । त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको पनि १५ लाख ६ हजार ६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जुन चुक्ता पुँजीको १९.००५६ प्रतिशत हो । उता समृद्धि फाइनान्सको भने हकप्रद सेयर सूचीकृत भएको हो । लिलामी पछि संस्थाको १४ लाख २० हजार ७१८ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।