मध्यान्नमा १०४ अंकले घट्यो नेप्से, आत्तिए लगानीकर्ता

काठमाडौं । सोमबार ७० अंकले घटेको सेयर बजारको परिसूचक मंगलबार मध्यान्नमा १०४ अंकले घटेको छ । बैंकहरुले निक्षेपको व्याजदर ११ प्रतिशतभन्दा बढी पुर्याएपछि सेयर बजार लगातार दोस्रो दिन पनि राताम्य भएको छ । साढे १ बजे नेप्से परिसूचक २४८३ मा झरेको छ । बजार खुलेदेखि सेयरकाे मूल्य निरन्तर घटेको छ । प्रतिशतका आधारमा ४.०४ प्रतिशतको गिरावट छ । अहिलेसम्म २ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । १८७ कम्पनीको धितोपत्र कारोबार भएकोमा १८३ कम्पनीको धितोपत्रको मूल्य घटेको छ भने ३ वटा कम्पनीको सेयरमा सामान्य वृद्धि देखिएको छ । मनास्लु लघुवित्त, किसान लघुवित्त, बोटलर्स नेपालको मूल्यमा सामान्य वृद्धि रहेको छ । सेयर कर्जाको सीमा ४ करोड र १२ करोड बनाएपछि ठूला लगानीकर्ता आत्तिएर सेयर बिक्री चाप बढेको र अहिले समग्रमा बजार घटेपछि साना लगानीकर्ता पनि आत्तिएर सेयर बेच्ने अवस्थामा पुगेको नेपाल इन्भेष्टर्स फोरममा निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले बताए । सेयर बजारमा अहिलेको गिरावट अस्थायी भएकोले छिट्टै मूल्यवृद्धि हुने एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘अरु देशमा सेयर बजारको परिसूचक ४० हजार/५० हजार छ । नेपालमा २५ सय मात्र छ । विदेशका बैंक बीमा कम्पनीले दिने लाभांश दर भन्दा नेपाली बैंक बीमा कम्पनीले दिने लाभांश दर पनि कम छैन’ उनले भने ‘अहिले बजार घट्नु सामान्य होइन । छिट्टै बजारमा बढोत्तरी आउने देख्छु म ।’ बजार घट्यो भनेर लगानीकर्ता आत्तिनु पर्ने अवस्था नभएको उनले बताए । ‘कम्पनीहरुले विजनेश राम्रो छ । लाभांश दर पनि राम्रो छ । बैंकहरुले बोनस सेयर वितरण गरिरहेका छन् । लगानीकर्ता आत्तिनु पर्ने अवस्था छैन’ उनले भने–‘बैंकको व्याजदर वृद्धि हुँदैमा सेयर बजारलाई धेरै असर गर्दैन ।’

सेयर बजार ५४ अंकले घट्यो, नेप्से २६०० नजिक

काठमाडौं। सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको डेढ घण्टामा सेयर बजार ५४ अंकले घटेको छ । यस अवधिमा ९८ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । १२ः३० सम्मका १८५ कम्पनीको सेयर किनबेच भएका छन् । त्यसमा १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । बोटलर्स नेपाल, एक्सेल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त र एनआईसी एशिया डिभेन्चरबाहेक सबैको सेयर मूल्य घटेको छ । नेप्से परिसूचक २६०२ मा झरेको छ । यो अंग गत असार यताको सबैभन्दा कम अंक हो । दशैंअघिको साता सेयर बजारमा मूल्य वृद्धिको संकेत देखिएको थियो । पहिलो दिने नेप्सेमा वृद्धि देखिएपनि दोस्रो दिन उच्च गिरावट देखिएको छ । बाणिज्य बैंकहरूले साढे ११ प्रतिशतसम्म व्याजमा निक्षेप उठाउन थालेपछि सेयर बजारमा उच्च गिरावट देखिएकाे जानकारहरूले बताएका छन् । कात्तिक १ देखि लागू हुने गरि हिमालयन बैंकले ११.६७ प्रतिशत व्याज अफर गरेकाे छ भने एनअाइसीले ११.१ र लक्ष्मी बैंकले ११.०५ प्रतिशत व्याजमा निक्षेप उठाउन थालेकाे छ ।

कामना सेवा विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । कामना सेवा विकास बैंकले आगामी कार्त्तिक २३ गते १५औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा बिहान १० बजे बोलाउने निर्णय गरेको हो । सभामा जाने प्रयोजनको लागि कार्त्तिक १० गते एक दिनको लागि बैंकको बुक क्लोज हुनेछ । यससँगै नेप्सेमा कार्त्तिक ९ गतेसम्म कारोबार भई सेयर खरिद गरी नियमानुसार आफ्नो नाममा सेयर नामसारी भई आएका सेयरधनी उक्त सभामा भाग लिन सक्ने र आर्थिक वर्ष २०७७/०७८ को नगद लाभांश तथा बोनस सेयर पाउन योग्य हुनेछन् । उक्त सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट ३/३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आएअनुसार बैंकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १८.५० प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ३ अर्ब १४ करोड रुपैयाँ नाघ्ने छ ।