बुङ्गल हाइड्रोको आईपीओ बिक्री खुला, कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । बुङ्गल हाइड्रोले आज असार २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५ सय कित्ता सेयरमा अति प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १) का स्थानीय र २ लाख ९० हजार ५ सय कित्ता सेयरमा सामान्य प्रभावित क्षेत्र बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयहरूले आवेदन दिन पाउनेछन् । साथै, सर्वसाधारणलाई छुट्याइएको २० करोड ७५ लाख रुपैयाँको २० लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन ११ गते गतेसम्म आवेदन दिनुपर्नेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय साउन २६ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै बुङ्गल हाइड्रोको रजिस्टर्ड कार्यालय धोबी घाट ललितपुर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्युँ शाखा, कृषि विकास बैंकको बुङ्गल शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा र आयोजना स्थान खौलाधारबाट समेत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
बलेफी हाईड्रोपावरको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त
काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रार परिवर्तन गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार अबदेखि सेयर कारोबारसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत सञ्चालन हुने भएको हो । काठमाडौंस्थित हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरिएपछि अब उक्त संस्थाले सेयर अभिलेख व्यवस्थापन, दाखिला-खारेज, नामसारी, रोक्का राख्ने तथा लगत अद्यावधिक सम्बन्धी कार्यहरू सम्पादन गर्नेछ । यस सम्बन्धमा बलेफी हाईड्रोपावरको दरबारमार्गस्थित रजिष्ट्रर्ड कार्यालयमा शुक्रबार एक औपचारिक समारोह आयोजना गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । कम्पनीले यो निर्णयबारे सम्पूर्ण सेयरधनीहरू र सरोकारवालाहरूलाई जानकारी गराउँदै आगामी दिनमा सेयरसम्बन्धी सम्पूर्ण प्रक्रिया हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडबाट सम्पादन हुने स्पष्ट पारेको छ ।
सेयर बजारमा छायो हरियाली, १६१ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ अंकले बढेर २७ सय ३१ बिन्दुमा पुगेको हो । आज १६१ कम्पनीको मूल्य बढ्दा ८७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३१२ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेण्टको भएको छ । एनआरएनको ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ३२ करोड, सानिमा बैंकको २६ करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको १९ करोड र सीइडीबी होल्डीङसको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा मकर खोला हाइड्रोको ८.१५ प्रतिशत, मान्दु हाइड्रोको ६.७६ प्रतिशत, समता घरेलु लघुवित्तको ६.५७, भगवती हाइड्रोको ६.५२ प्रतिशत र सनिमा बैंकको ४.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।