‘कम्पनीको नामै थाहा नहुनेले पनि सेयर किनिरहेका छन्’

काठमाडौं, ६ असार । ‘लालीगुराँस बीमा कम्पनीको सेयर किनिदिनुस भन्दै एक जना नयाँ मान्छे आए । हामीले त्यस्तो कम्पनी नै छैन भन्यौं । किन नहुनु भन्दै उनले जिद्दी गरे । त्यसपछि बुझ्दा त उनले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनिदिनुस भनेका पो रहेछन् ।’ यो भनाइ ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापतिको हो । उनको भनाइले बजारमा अहिले कस्ता मान्छेले सेयर खरिद विक्री गरिरहेका छन् भन्ने छर्लङ्ग पार्छ । अहिले बजारमा पुराना लगानीकर्ता नभएको र नयाँ लगानीकर्ता मात्रै रहेको भन्ने हल्ला पनि चलिरहेको छ । पूर्वअध्यक्ष सिजापति यो हल्लासँग सहमत छन् । ‘बजारबाट पुराना लगानीकर्ता वाहिरिदै गरेको र नयाँ लगानीकर्ता थपिदै गरेको अवस्थालाई हामीले बजार घट्ने संकेतका रुपमा बुझ्ने गथ्र्यौं, अहिले सेयरसम्बन्धि केही जानकारी नै नभएका र सेयर किनेपछि मालामाल भइन्छ भन्ने मात्रै जानेकाहरु बजारमा अधिक छन्,’ सिजापति भन्छन् । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा श्रोत नखुलेको तथा अबैध धन लगानी भएको आंशका गर्र्दै असार ३० गते छानविन समिती बनायो । ‘हालको कारोबार संख्या र रकमको वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा तथा धितोपत्र दलालले ग्राहकसँग गरेको कारोबार मोडालिटी सम्बन्धमा अध्ययनतथा छानविन गर्न समिति गठन गरिएको छ,’ बोर्डले भनेको थियो । असार ३० गते नै नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७३÷७४ को मौद्रिक नीतिले मार्जिन ल्याण्डिङलाई १० प्रतिशतले घटाएर ५० प्रतिशतमा सिमित गरायो । त्यस अघि ६० प्रतिशतसम्म मार्जिन ल्याण्डिङ गर्न पाउने व्यवस्था थियो । यसले सेयर बजारमा नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको थियो । तर यसो भएन । बजार बढिरहेको छ । सत्ता परिवर्तनको राजनीतिक सरगर्मीले सिंगो मुलुक नै तातेको छ । सरकार परिवर्तन हुने समयमा राजनीतिक अन्योललाई कारण देखाउदै बजार घट्ने गरेका विगतको अनुभव छ । तर यसपाली यस्तो भएन । १० बर्षसम्म सशस्त्र विद्रोह गरेको ‘अर्थाेडक्स कम्युनिष्ट’ पार्टीका नेता प्रचण्डले नयाँ सरकारको नेतृत्व गर्ने चर्चा चलिरहदा पनि बजार बढिरहेको छ । यी तीन वटै परिदृश्ष्यले सेयर बजार घट्नु पर्ने सम्भावना औल्याउँछ । तर बजार भने उकालो चढि नै रहेको छ । त्यसो त नेप्से परिसूचक १ हजार ५ सय नाघेपछि नै ठूला लगानीकर्ता बाहिरिसकेको दावी गर्नेहरु पनि धेरै छन् । ‘परिसूचक १हजार ५ सयको हाराहारीमा पुग्नेविवित्तिकै ठूला लगानीकर्ताले सुरक्षित अवतरण गरिसकेका छन्’, एक लगानी कर्ताले भने । उनले अहिले बजार बढाउन ब्रोकर कम्पनीहरुले नै चलखेल गरेको आरोप समेत लगाए । धितोपत्र बोर्डले छानबिन गरेको खण्डमा धेरै ब्रोकर कम्पनी फस्ने उनको दावी छ । ‘अहिलेका ठूला लगानीकर्ता ब्रोकर नै हुन, बोर्डले छानिबिन गरोस्, धेरै ब्रोकर फस्नेछन’, ती लगानीकर्ताले भने । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सह प्रवक्ता मुराहरी पराजुली ठूला लगानीकर्ता बाहिरिएको तर्क अस्विकार गर्छन् । ब्रोकर कम्पनीकै बलबुँताले मात्रै यसरी सेयर बजार बढ्नै नसक्ने दावी पनि उनले गरे । ‘बजारबाट ठुला लगानी कर्ता बाहिरिए भन्ने तर्क गलत छ, अर्काे कुरा ब्रोकर कम्पनीकै बलबुँताले मात्रै पनि बजार थेगिने अवस्था छैन’, सहप्रवक्ता पराजुलीले भने । सेयर बजार विश्लेषक रविन्द्र भट्टराई पनि सेयर बजारको वृद्धिमा अनावश्यक चलखेल नरहेको बताउँछन् । बजारबाट ठूला लगानीकर्ता बाहिरिएको तर्कमा उनले पनि दम नरहेको बताए । सेयर बजारको लगानी चक्रिय प्रणालीमा हुने भएकाले लगानीकर्ता बाहिरिने तर्कमा सत्यता नभएको भट्टराईको तर्क छ । कुन कम्पनीको सेयर, किन खरिद गर्ने भन्ने सामान्य ज्ञान समेत नभएका लगानीकर्ता पनि बजार प्रवेश गरेकोले अहिले भिडले बजार संचालन गरेको ब्रोकरको अनुमान छ । ‘दैनिक अर्बभन्दा माथिको कारोवार भइरहेको छ, यो वास्तविक कारोवार हो, अहिले सेयर बजारमा जनसागर उर्लिएको अवस्था छ,’ अर्का एक ब्रोकरले भने । नेप्सेका सहप्रवक्ता मुराहरी पराजुलीले लगानी कर्ताको संख्या बढेर १५ लाख पुग्नु र ठुला लगानीकर्ता समेत सक्रिय हुनुले सेयर बजार बढेको बताउँछन् । त्यसो त लगानीको उचित क्षेत्र फेला नपरेपछि ठुला औद्याोगीक घरानाहरुले समेत सेयर बजारमा लगानी गरिरहेका आँकलन गरिएको छ ।

सेयर बजारमा साढे १३ अंकको गिरावट, उत्पादनमूलक बाहेक सबै समूह ओर्लिए

काठमाडौं, ५ साउन । नेप्सेले समयाबधी थप गरेसँगै बजारमा उतार चढावको क्रम जारी छ । मंगलबार १३ अंकले बढेर १८०० अंकमा पुुगेको बजार बुधबार भने १३ दशमलब ६३ अंकले घटेर १७८६ अंकमा पुगेको छ । सो दिन १४१ कम्पनीको ३४ लाख ७४ हजार कित्ता सेयर २ अर्ब १२ करोड ९१ लाख रुपैयाँमा सेयर किनबेच भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा पनि करिब २ करोड बढीको गिरावट आएको छ । बुधबार उत्पादनमूलक समूह बाहेक अन्य सबै समूहको परिसूचक आरालो लागेका छन् । बजारमा सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक १२६ अंकले ओरालो लागेको देखिन्छ । होटल, अन्य, हाइड्रोपावर र बैंकिङ् समूहको परिसूचक क्रमशः ३५, १५, १२ र ११ अंकले घटेका छन् । विकास बैंक र फाइनान्स समूह भने सामान्य अंक क्रमशः ६ र १ अंकले झरेका छन् । बजारमा सबैभन्दा बढी सिद्धार्थ बैंकको ३९ करोड ६९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको करिब १० करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, माछापुच्छ्रे बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंक र एडिविएल बैंकको ७ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन ६ वटा कम्पनीको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । मिसन डेभलपन्ट बैंक र बोटलर्स नेपाल(तराई) का लागानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत कमाएका छन् । त्यस्तै, किसान माइक्रोफाइनान्स वित्तिय संस्था, एडिबिएल, कैलाश विकास बैंक र अरनिको डेभलपमेन्ट बैंकको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । मिथिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।

अरनिको डेभलपमेन्ट बैंकको नाफा ५ करोड ८४ लाख, १८ प्रतिशत बोनस सेयर दिन सक्ने

काठमाडौं, ५ साउन । अरनिको डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ५ करोड ८४ लाख रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ८६ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ३ करोड १३ लाख रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब १८ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी २५ करोड ७८ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई बोनस सेयर दिनुपर्ने बाध्याता छ । निक्षेप २ अर्ब १ करोड छ भने कर्जा तथा लगानी १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.९८ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ७५ प्रतिशत छ ।