सेयर बजार ओरालो लाग्ने क्रम जारी, कारोबार रकम ३० करोडमा खुम्चियो

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । बिहीबार नेप्से परिसूचक ६ दशमलब ६५ अंकले ओरालो लागेर १३३७ दशमलब ४६ अंकमा अडिएको छ । यस साताको सोमबारदेखि ओरालो लागेको बजार बिहीबार सम्म निरन्तर ओरालो लागि रहेको छ । आइतबारको तुलनामा बिहीबारसम्ममा नेप्सेमा करिब ३० अंकको गिरावट आएको छ । परिसूचकसँगै करोबार रकममा पनि भारी गिरावट आएको छ । सोमबार करिब ८२ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा बिहीबार ३० करोड ४८ लाख रुपैयाँमा खुम्चिएको छ । जुन सोमबारको तुलनामा करिब ५१ करोड ५० लाख रुपैयाँ घटी हो । बिहीबार होटल र अन्य समूहको परिसूचक उकालो लागेका छन् भने कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । होटल र अन्य समूहका परिसूचक क्रमशः १५ र ३ अंकले ओरालो लागेका हुन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३५ अंकले ओरालो लागेको छ ।

दुई कम्पनीको २ लाख ८७ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

काठमाडौं । बिहीबार प्रोगेसिभ फाइनान्स र नयाँ नेपाल लघुवित्त विकास बैंकको प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । सो दिन यी दुई कम्पनीको गरि जम्मा २ लाख ८७ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको हो । त्यसमध्ये प्रोगेसिभ फाइनान्स फाइनान्सको १ लाख ८९ हजार कित्ता र नयाँ नेपाल लघुवित्त विकास बैंकको ९८ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यी दुबै कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।

बिहीबार मात्रै ३७ लाख कित्ता बोनस र ५४ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । बिहीबार मात्रै ३७ लाख ७२ हजार ६७४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ५४ लाख ७४ हजार ३५४ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार ५ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनीको ६ लाख कित्ता, एभरेष्ट फाइनान्सको १ लाख ९९ हजार ४०३ कित्ता र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको एक लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, साहारा विकास बैंकको २२ हजार ६०० कित्ता र मुक्तिनाथ विकास बैंकको २८ लाख ५० हजार ६७१ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोही दिन ३ वटा कम्पनीको हकप्रद नेप्सेमा सूचिकृत भएको छ । अरनिको डेभलपमेन्ट बैंकको ९ लाख २८ हजार १९० कित्ता, साहारा विकास बैंकको ३ लाख ५४ हजार कित्ता र मुक्तिनाथ विकास बैंकको ४१ लाख ९२ हजार १६३ कित्ता गरि सो मात्राको हकप्रद सेयर सूचिकृत भएको हो । त्यस्तै, टुरिजम डेभलपमेन्ट बैंकको पनि थप १३ लाख २८ हजार २७२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको उक्त सेयर मातृभूमी बैंक र कालिञ्चोक डेभलपमेन्ट बैंकलाई एक्वाएर गरेपछि थपिएकोे बैंकले जनाएको छ ।