नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा चैत १४ गते हुँदै, के के छन् प्रस्ताव?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको १७औँ वार्षिक साधारणसभा चैत १४ गते हुने भएको छ । उक्त सभामा कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत अर्थात ६१ करोड १२ लाख ८५ हजार ७२५ रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले २०७३ को असार मसान्त सम्ममा कायम चुक्ता पूँजीमा एफपीओ जारी पश्चातको कायम हुने पूँजीमा सो मात्राको बोनस दिन लागेको हो । कम्पनीको एफपीओ पश्चात कायम हुने पूँजी २ अर्ब ४७ करोड ७१ लाख ४२ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीको साधारणसभा सम्वन्धिको निर्णय फागुन १७ गते बसको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।  उक्त साधारणसभा प्रयोजनको लागि फागुन २७ गतेदेखि चैत १४ गतेसम्म कम्पनीको  बुक क्लोज रहने कम्पनीले जनाएको छ ।

लुम्विनी जनरल इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्रि प्रबन्धकमा सिबिआईएल नियुक्त

काठमाडौं । लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत (१ बराबर १ को अनुपातमा) अर्थात ३९ लाख किता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्न कम्पनीले विक्रि प्रबन्धकको रुपमा सि.बि.आई.एल.क्यपिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी र सि.बि.आई.एल क्यापिटलबीच हकप्रद शेयर निष्कासन गर्ने सम्वन्धमा दुई पक्षिय सम्झौता भएको छ । उक्त सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान र सि.बि आई.एल क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत समिरप्रसाद दहालले हस्ताक्षर गरेका छन् ।

नेपाल बंगलादेश बैंकलाई ८० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल बंगलादेश बैंकले सेयरधनीलाई ८० प्रतिशत (१० बराबर ८ को अनुपातमा) हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । मंगलबार बोर्डले उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । बोर्डको अनमति अनुसार बैंकले ३ करोड २० लाख ९४ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । अंकित मूल्य १०० रुपैयाँ बराबरको ३ अर्ब २० करोड ९४ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको छ । हाल बैंकको बिक्री प्रवन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ७ अर्ब २२ करोड रुपैयाँ नाग्ने छ । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ६०८ रुपैयाँ रहेको छ ।