वित्तीय विवरण पेश गर्न नेप्सेको आग्रह
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीलाई लेखा परीक्षण भएको वित्तीय विवरण र शेयरधनीको सूची तत्काल बुझाउन निर्देशन दिएको छ । स्टकले प्रकाशित गरेको सूचनामार्फत उक्त विवरण तत्काल बुझाउन निर्देशन दिएको हो । सूचीकृत सबै कम्पनीको संस्थापक र पब्लिक शेयरधनीको सूचीका साथै आव २०७३/७४ को लेखा परीक्षण सम्पन्न भएको वित्तीय विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सूचीकृत कम्पनीले लेखा परीक्षण नगरेको भए पनि अघिल्ला तीन वर्षको वित्तीय विवरण बुझाउन निर्देशन दिएको जानकारी दिए । नेप्सेले सूचीकृत कम्पनीको वर्गीकरणका लागि उक्त विवरण माग गरेको जनाएको छ । उक्त विवरण आगामी माघ १० गतेभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०५३ अनुसार चुक्ता पुँजी (साधारण शेयर) कम्तीमा रु दुई करोड भएको, साधारण शेयरवालाको सङ्ख्या कम्तीमा एक हजार जना भएको, सार्वजनिक रुपमा शेयर बिक्री गरेको भए त्यसको विवरणसमेत उल्लेख गर्न कम्पनीलाई आग्रह गरेको छ । कम्तीमा तीन वर्षदेखि लगातार मुनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा उक्त आर्थिक वर्षको कारोबार तथा आयव्यय विवरण स्टक एक्सचेन्जमा पेश गरिसकेको कम्पनीलाई (क) वर्गमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । रासस
बजार सामान्य अंकले बढ्दा ६३ करोडको सेयर कारोबार, सबैभन्दा बढी स्ट्याडार्ण्ड चार्टर्डको
काठमाडौं । सोमबार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ । मंगलबारको नेप्से परिसूचक २.४४ अंकले उकालो लागेर १४३७ अंकमा पुगेको छ । मंगलबारको बजारमा कुल ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(सोमबार) बजारमा ४९ करोडको सेयर किनबेच भएको थियो । मंगलबार कुल १६६ कम्पनीको १२ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी स्ट्याडार्ण्ड चार्टर्ड बैंकको साँढे ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८० रुपैयाँ रहेको छ । सोमबार पनि यस कम्पनीको सबैभन्दा बढी रुपैयाँको सेयर किनबेच भएको थियो । त्यस्तै, बैंकिङ १०, अन्य ४ र ट्रेडिङ समूह ०.०८ अंकले उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ६१ अंकले राताम्मे भएको छ । मंगलबार मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । उता एभरेष्ट बैंकको प्रमोटर सेयरको मूल्य भने ६.६ प्रतिशतले ओरालो लागेको छ ।
२० प्रतिशत बोनस पछि जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले मंगलबार यस कम्पनीको सो मात्राको बोनस पछिको सेयरको मूल्य समायोजन गराएको हो । मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०८३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १९७५ रुपैयाँ रहेको थियो ।