एफपीओ आउने भएपछि एनएमबीको सबैभन्दा बढी कारोबार, सेयर मूल्य घट्याे
काठमाडौं । थप निष्काशन(एफपीओ) आउने भएपछि एनएमबी बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ ल्याउने भएपछि लगानीकर्ताहरुकाे आकर्षण बढेको हो । बैंकले अंकित मूल्य १०० मा २३३ रुपैयाँ प्रिमियम थप गरेर एफपीओ निष्कासन गर्न लागेकाे हाे । मंगलबार बैंकको ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बैंकको कारोबार रकममा वृद्धि भएपनि सेयर मूल्यमा भने गिरावट आएको छ । सोमबार प्रतिकित्ता ४४४ रुपैयाँ रहको बैंकको सेयर मूल्य मंगलबार घटेर प्रतिकित्ता ४१९ रुपैयाँमा झरेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ घटी हो । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्ने भएपछि कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो । समग्रमा मंगलबारको नेप्से परिसूचक ९.१८ अंकले घटेर १३२७ अंकमा झरेको छ । सो दिन कुल १६७ कम्पनीको ८ लाख ४० हजार कित्ता सेयर ४१ करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ । बजारमा बीमा समूहबाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूह ३३ अंकले घटेको छ । बीमा समूह भने सामान्य ५ अंकले उकालो लागेको छ ।
घलेम्दी हाइड्रो आईपीओ निष्कासन गर्न पुग्यो धितोपत्र बोर्ड, साढे ५ करोडको ल्याउने
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको सो मात्राको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेकाे छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
जेबिल्स फाइनान्सको जेठ २३ गते बुक क्लोज, ४० प्रतिशत हकप्रद सेयर जारी गर्दै
काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको आगामी जेठ २३ गते बुक क्लोज हुने भएको छ । फाइनान्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ७९ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११ रुपैयाँ रहेको छ ।