‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड, व्यापार बढाउँदै
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड देखिएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’पछि निर्माण भएको तेस्रो शृङ्खला ‘होस्टेल ३’ ले शुक्रबार औसत र शनिबार राम्रो व्यापार गरेको निर्देशक सशान कँडेलले जानकारी दिए । चलचित्र प्रदर्शन भएदेखि नै कलाकारसँग चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिइरहेको निर्देशक कँडेलले आगामी दिनमा चलचित्रले अझै राम्रो व्यापार गर्ने बताए । ‘दर्शकको प्रतिक्रिया निकै राम्रो छ, उहाँहरूले अन्य साथीभाइ, घरपरिवारलाई चलचित्र हेर्न सिफारिस गर्छु भन्नुभएको छ । यसले आइतबारदेखि चलचित्रको व्यापार राम्रो हुने देखिन्छ । मेरा लागि सबैभन्दा ठूलो उपलब्धि दर्शकको माया र सकारात्मक प्रतिक्रिया हो,’ निर्देशक कँडेलले भने । निर्देशक कँडेलसँगै दर्शक भेट्न पारसबम ठकुरी, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुलीलगायत कलाकार चलचित्र भवन पुगेका थिए । युवाको होस्टेल जीवनमात्र नभई ‘टिनएज’मा आउने उतारचढाव, तन्नेरी पुस्ताको कथा र व्यथा ‘होस्टेल ३’ मा देख्न पाइने ‘कुल ब्वाई’ नामक ‘टिकटकर’का रूपमा परिचय बनाउनुभएका अभिनेता ठकुरीले बताए । ‘यो चलचित्रमा प्रस्तुत गरिएको विषय र त्यसलाई निर्वाह गर्ने हामी कलाकार उस्तै उमेर समूहका छौँ । यसकारण पनि यो सबै युवाले महसुस गर्न सक्ने चलचित्र बनेको छ भन्नेमा विश्वस्त छौँ । टिकटकरका रूपमा चिनिएर अहिले चलचित्रमा अभिनय गर्न पाउँदा निकै उत्साहित छु । मैले पाएको अवसरलाई पूर्ण रूपमा सदुपयोग गरेको छु,’ अभिनेता ठकुरीले भने । विशेषतः यसलाई ‘नयाँ पुस्ता’को चलचित्र भन्न सकिन्छ । नेपाली चलचित्रमा देखिएको नयाँ पुस्ताको कमीलाई ‘होस्टेल ३’ पूरा गर्ने अपेक्षा गरिएको छ । व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि नयाँ अनुहारले चलचित्रमा नयाँ दर्शक तान्न सक्ने भएको र विषयवस्तुसँगै ‘होस्टेल’ शृङ्खलाको ‘लिगेसी’लाई अगाडि बढाउन नयाँ पुस्ताको चलचित्र बनाएको निर्देशक कँडेलले बताए । ‘म आफैँ निर्देशकका रूपमा नयाँ भएकाले मैले प्रतिभा भएका र मेहेनत गर्नसक्ने नयाँ पुस्तालाई चलचित्रमा अभिनयका लागि मौका दिएको छु,’ उनले भने । यस अगाडिका ‘होस्टेल’का दुई शृङ्खलाले नयाँ पुस्तालाई कलाकारितामा स्थापित गराउनुका साथै व्यावसायिक सफलता पनि हासिल गरेको थियो ।
बुधबारदेखि सिनेमा घरमा ‘फेरि रेशम फिलिलि’
काठमाडौं । नेपाली चलचित्र ‘फेरि रेशम फिलिलि’ बुधबारदेखि प्रदर्शनमा आएको छ । सिनेमा आर्टसको ब्यानरमा बनेको चलचित्रको ‘फेरि रेशम फिलिलि’ महाशिवरात्रीको अवसर पारेर देशभर प्रदर्शनमा आएको छ । चलचित्रको मंगलबार साँझ ‘ग्राण्ड प्रिमियर’ समेत गरिएको छ । ललितपुरमा सम्पन्न प्रिमियर चलचित्रका कलाकारदेखि तथा अन्य थुप्रै कलाककर्मीहरुको सहभागिता रहेको थियो । चलचित्रले प्रिमियर शोमा निकै सकारात्मक प्रतिक्रिया पाएको छ । शोपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अभिनेता तथा निर्देशक अशोक शर्माले चलचित्र एकदमै रमाईलो रहेकोले दर्शक एकछिन पनि बोर नहुने प्रतिक्रिया दिए । उनले नेपाली युवाहरुमा विदेश जाने हुटहुटी रहेको बेलामा चलचित्र ‘फेरि रेशम फिलिलि’ले राम्रो सन्देश दिएको बताए । उनले चलचित्र हेरिदिनका लागि समेत सबै दर्शकहरुलाई आग्रह गरे । अभिनेत्री ऋचा शर्माले शर्माले चलचित्रका कलाकारहरुको अभिनयको प्रशंसा गरिन् । उनले चलचित्र समग्रमा राम्रो बनेकोले कोही दर्शन पनि बोर नहुने प्रतिक्रिया दिइन् । चलचित्रलाई निरज महर्जनले निर्देशन गरेका हुन् । फिल्ममा विनय, सुपुष्पा, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो फिल्ममा ‘रेशम फिलिली’ का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।
सैफ अलि खानलाई चक्कु हान्ने व्यक्ति पक्राउ
काठमाडौं । बलिउड अभिनेता सैफ अलि खानलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोहम्मद सरीफुल अस्लाम असजाद रहेको प्रहरीले जनाएको छ । उनी विजोय दास नाम राखेर मुम्बइमा बस्दै आएको बताइएको छ । उनी भारतीय नागरिक भएको प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ । तर, प्रहरीले उनी बांङ्लादेशी नागरिक हुन सक्ने अनुमान गरेको छ । तर उनीसँग पासपोर्ट वा अरु कुनै परिचयपत्र केही पनि फेला नपरेकाले अनुसन्धान जारी छ । पत्रकार सम्मेलनमा मुम्बई प्रहरीका डिसीपी दीक्षित गेदमले भने, ‘उनी अवैध तरिकाले भारत आएका थिए । विगत चार महिनादेखि मुम्बइको ठाणेमा बसेर हाउस किपिङ एजेन्सीमा काम गरिरहेका थिए ।’ उनको साथबाट प्राप्त केही कागजात हेर्दा उनी बांङ्लादेशी नागरिक भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध राहदानी दुरुपयोग लगायतका मुद्दामा पनि आरोप पत्र दायर गर्ने तयारी प्रहरीले गरेको छ । उनलाई आज अदालत पेस गरिँदै छ । दिएको जानकारी अनुसार ती व्यक्ति सैफ अलि खानको घरमा चोरी गर्ने उद्देश्यले घुसेका थिए । त्यही क्रममा १६ जनवरीको दिन राति २ बजे सैफ अलि खानमाथि चक्कु प्रहार भएको थियो । शल्यक्रियापछि सैफ अलि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।