वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी, यी हुन् २०८१ न्यून व्यापार गर्ने चलचित्र
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं सुखद् रह्यो । गत वर्ष प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु बजारमा इतिहास रच्न सफल भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा यस चलचित्रले ४६ करोड ८० लाख रुपैयाँ (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गरेको देखिन्छ । यसकारण पनि चलचित्र क्षेत्रमा नयाँ सम्भावना देखिएको अभिनेता हरिवंश आचार्यको बुझाइ छ । नेपाली चलचित्रको बजारको आकार र अवसरलाई गएको वर्षले प्रस्ट्याएको अभिनेता आचार्यले बताए । ‘यो वर्ष हामीले आशावादी हुने धेरै ठाउँ छन्, किनकि हामीले हाम्रो दर्शक र बजारको क्षमता बारे बुझ्ने मौका पाएका छौँ । तर, सङ्ख्यात्मक नभई हामीले गुणात्मक चलचित्र बढाउनुपर्छ । अघिल्लो वर्ष केही चलचित्रले गरेको व्यापारका कारण यो वर्ष प्रदर्शनको सङ्ख्या बढ्ने देखिन्छ तर हामीले बजारलाई बुझेर त्योअनुसार चलचित्र ल्याउनु पर्छ,’ उनले भने । उनले अभिनय गरेको चलचित्र ‘भूठान’ यही वैशाख १२ गते र ‘हरिबहादुरको जुत्ता’ आगामी दसैँमा प्रदर्शन हुँदैछ । यस वर्ष मह सञ्चारबाट चलचित्र निर्माण गर्ने भन्दा पनि आएका प्रस्तावमा अभिनय गर्ने सोच अभिनेता आचार्यले बनाए । ‘चलचित्र निर्माण गर्दा आफूमा धेरै दायित्व आउँछ, सोही कारण अहिले अभिनयमै केन्द्रित छौँ । दुई चलचित्र प्रदर्शन भएपछि आगामी के गर्ने भन्ने सोच बन्छ, अहिले भने ती दुई चलचित्रकै काममा केन्द्रित छु,’ अभिनेता आचार्यले भने । अभिनेता निखिल उप्रेती पनि केही वर्षको विश्रामपश्चात् यो वर्षदेखि आफ्नो चलचित्रकर्मलाई निरन्तरता दिँदै छन् । उनले छायाङ्कनका लागि नेपालसँगै भारतको केही भूभागको अवलोकन पनि गरिसकेका छन् । ‘म जेठदेखि चलचित्रको छायाङ्कन गर्ने तयारी गरिरहेको छु, अन्तिम साताबाट काम सुरू हुन्छ । अहिले नेपाली चलचित्रको राम्रो समय आएको छ, चलचित्र भवनसम्म आएका दर्शकलाई बढाउने र ल्याइरहने गरी हामी चलचित्रकर्मीले काम गर्न जरुरी छ । म यसपटक भिन्न कथा र शैलीको चलचित्र दर्शकलाई दिने तयारी गरिरहेको छु,’ उनले भने । अभिनेता उप्रेतीले द्वन्द्व प्रधान चलचित्रमा वैचारिक द्वन्द्वलाई प्रस्तुत गर्ने बताए । झन्डै ८ वर्षपछि निर्देशक तुलसी घिमिरे पनि निर्देशनमा फर्किएका छन् । उनले ‘पहाड’ नामक चलचित्रको छायाङ्कन गरिरहेका छन् । उनले आज नयाँ वर्षको सन्दर्भ पारेर चलचित्रको प्रदर्शन कात्तिक ७ मा हुने घोषणा गरिएको छ । निर्देशक घिमिरेले दर्शकको विश्वास चलचित्र र चलचित्रकर्मीप्रति बढेको महसुस गरेको छ । सोही कारण उनी यो वर्ष चलचित्रकर्ममा फर्किए । ‘केही समय मैले बनिरहेका चलचित्रको अध्ययनज्ञ नै गरेँ । हामीले विश्वका अन्य चलचित्रमा नभएका विषय र भावनात्मक कथालाई प्रस्तुत गर्न सक्नुपर्छ । चलचित्र हेर्ने संस्कृतिलाई बढाउन स–परिवार चलचित्र भवनमा आउने किसिमका चलचित्र निर्माण हुनुपर्छ । यो वर्ष नेपाली चलचित्रका लागि अघिल्लो वर्षभन्दा पनि उपलब्धि मूलक हुने विश्वास लिएको छु,’ निर्देशक घिमिरेले भने । कलाकार अभिनेता मदनकृष्ण श्रेष्ठ, सुनिल थापासँगै विपिन कार्की र अरुण क्षेत्रीजस्ता नयाँ पुस्तासँग चलचित्रमा काम गर्नुभएका निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्री र जेठी छोरी भावना घिमिरेलाई प्राविधिक टिममा ‘प्रोडक्सन डिजाइनर’ को जिम्मेवारी दिए । ‘अन्य पेसाकर्मीझैँ हामीलाई पनि सन्तानले हामीले गरिरहेको पेसा रोज्दा खुसी लाग्छ । मेरो दुवै छोरीले गरेको कामको मूल्याङ्कन मैले गर्दा अस्वाभाविक लाग्ला तर यो चलचित्रकर्म ठीक भन्ने लाग्नु सुखद् पक्ष हो । उनीहरु चलचित्रकर्ममा आउनुले चलचित्रप्रति उक्त पुस्ताको सकारात्मक सोचलाई दर्शाएको छ,’ निर्देशक घिमिरेले भने । अभिनेत्री केकी अधिकारी वर्ष २०८२ मा प्रदर्शन हुने चलचित्रमा विविधता देख्न पाइनेमा आशावादी छन् । अघिल्लो वर्ष घोषणा र छायाङ्कन गरिएका चलचित्र हेर्दा यो वर्ष नयाँपन र मौलिकतासँगै भव्यता पनि चलचित्रमा पाइने अभिनेत्री अधिकारीले बताए । ‘अघिल्लो वर्ष चलचित्रको विषयलाई दर्शकले हिरो बनाउनुभयो । यो हाम्रो लागि सुखद् खबर थियो । त्यसकारण पनि यो वर्ष चलचित्रमा कलाकारसँगै विषयमा निर्माताले लगानी गर्नुभएको छ । म एउटा चलचित्रकर्मीका हिसाबले जति उत्साहित छु, दर्शकमा पनि त्यही उत्साह छ भन्ने विश्वास छ,’ अभिनेत्री अधिकारीले भने । गत वर्ष २०८१ को पहिलो चलचित्रका रुपमा उहाँले निर्माण गर्नुभएको ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो । चलचित्रमा समावेश गीत ‘बुझिन मैले, बुझाइ देऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्यो । उक्त चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रुपमा हेरिएको थियो । तर, यसले अकल्पनीय व्यापार गर्यो । ‘बक्सअफिस’को तथ्याङ्कअनुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोड दुई लाखको व्यापार भएको छ । यो चलचित्र सफलताको श्रेय विषयवस्तुलाई जान्छ । त्यसकारण गत वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ । अभिनेत्री अधिकारी पनि यस वर्ष आफ्नो निर्माण रहने चलचित्रको छायाङ्कन गर्ने र आउँदो वर्ष प्रदर्शन गर्ने तयारीमा छन् । समग्रमा यस वर्षलाई चलचित्रकर्मीले ठूलो आशाका साथ स्वागत गरेक छन् । वर्षकै पहिलो दिन सात चलचित्र प्रदर्शन तथा निर्माण घोषणा गरिएको छ । यो वर्ष कलात्मकसँगै व्यावसायिक चलचित्र उल्लेख्यरुपमा दर्शकले हेर्न पाउने छन् । यी हुन् २०८१ न्यून व्यापार गर्ने चलचित्र गत वर्ष चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले इतिहास रच्दा केही चलचित्रले भने सामान्य व्यापार पनि गर्न सकेनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)’ मा रहेको तथ्याङ्कअनुसार वर्ष २०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन भए । गत साउन १८ गते प्रदर्शन भएको चलचित्र ‘शीरफूल’ ले ८९ वटा टिकट बिक्रीबापत १८ हजार ५०० रुपैयाँको मात्र कारोबार गरेको छ । यस्तै, फागुन ११ गते प्रदर्शन भएको चलचित्र ‘ख्या वोला’ले ९२ टिकटबिक्री गरेबापत २७ हजार ६०० रुपैयाँ, सोही मितिमा प्रदर्शन भएको चलचित्र ‘गाले वाना’ को ७२ टिकट बिक्रीबापत २१ हजार ६०० रुपैयाँ, मात्रै कमाएको छ । साथै माघ ४ गते प्रदर्शन भएको चलचित्र ‘एक्टर’ को १२१ टिकट बिक्री भएबापत ३३ हजार २८५ रुपैयाँ र असोज ११ गते प्रदर्शन भएको ‘आँखा’ ले २६२ टिकट बिक्री भएबापत ९२ हजार ५२५ रुपैयाँको व्यापार (ग्रस) गरेको छ । उक्त व्यापारमा मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत र मनोरञ्जन करबापत पाँच प्रतिशत तिरिएको रकम कट्टा गरेर चलचित्र भवन र निर्माताले आधाआधा रकम पाउने गर्छन । उक्त रकममा वितरकले पाउने तय गरिएको रकम प्राप्त गरेपछि मात्र निर्माताले आफ्नो हिस्सा पाउने गर्छन् । तसर्थ उल्लेखित चलचित्रले गरेको व्यापारबाट निर्माताले पाउने रकम निकै न्यून हुन्छ । नवप्रवेशी निर्माताले बढी सँगसँगै न्यून व्यापार भएका चलचित्रको विवरणलाई पनि हेर्नुपर्ने पुर्नेन्दु झाले बताए । उनले भने, ‘निर्माता बढी व्यापार भएको चलचित्र हेरेर हौसिने गरेको पाइन्छ, तर चलचित्र निर्माणभन्दा अगाडि न्यून व्यापार पनि हेर्नुपर्छ । किनकि यहाँ यस्तो नै हुन्छ भन्ने अवस्था हुँदैन । निर्देशकले पनि सुरुआती समयमै घाटा र नाफाबारे स्पष्टरुपमा बुझाउनुपर्छ ।’ उनले आश गरिएका केही चलचित्रको व्यापार राम्रो हुन् नसकेको बताए । विशेषत अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा अब्बल सावित भएका चलचित्रले घरेलु बजारमा दर्शक पाउन सकेनन् । ‘शाम्बाला’ र ‘राजागञ्ज’ चलचित्रको व्यापार नहुनु दुःखद् रहेको निर्देशक झाको बुझाइ छ । ‘कलात्मक चलचित्रको घरेलु बजार उत्साहजन देखिएन तर चलचित्र निर्माणमा भिन्नता आउनु आवश्यक छ । ती चलचित्र निर्माण तथा निर्देशन गर्ने चलचित्रकर्मीको आटलाई हामीले हौसला दिनु जरुरी छ,’ निर्देशक झाले भने । यस वर्ष प्रदर्शन भएको चलचित्र ‘शाम्बाला’ ले २ करोड १२ लाख २२ हजार ३२५ रुपैयाँ र ‘राजागञ्ज’ ले १६ लाख २१ हजार ८८१ रुपैयाँको व्यापार (ग्रस) मात्र गरेको छ ।
नेपाली चलचित्र बजारको आकार २ अर्ब पुग्यो, २०८२ मा ८० वटा चलचित्र प्रदर्शन हुने
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष-२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले घरेलु बजारमा ४६ करोड ८० लाख रुपैयाँ (ग्रस) व्यापार गरेको तथ्याङ्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको ‘सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस)’ मा छ । यही कारण विसं २०८१ लाई नेपाली चलचित्रको इतिहासमा स्मरण योग्य बनिसकेको छ । अन्तिम चलचित्रका रूपमा ‘पिताम्बर’ र ‘कर्मा’ गत चैत २९ गतेदेखि प्रदर्शन भएको सहित यो वर्ष ‘बक्स अफिस’ को तथ्याङ्कअनुसार ६२ नेपाली चलचित्र प्रदर्शन भएका छन् । यसरी स्वदेशी ६२ चलचित्र प्रदर्शन हुँदा विदेशी ८४ भएका छन् । यो वर्ष नेपाली चलचित्रका दर्शक उलेख्य रूपमा बढेको चलचित्र वितरक तथा प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले बताए । उनले भने, ‘यो वर्ष दसैँ र तिहारमा प्रदर्शन भएका चलचित्रले दर्शकलाई चलचित्र भवनमा तान्न सफल भए । स-परिवार नै चलचित्र हेर्न आएको पाइयो । पारिवारिक चलचित्रले दर्शक बढाउन महत्त्वपूर्ण भूमिका खेलेको जस्तो लागेको छ । यस वर्षको सफलताले आउँदो वर्ष चलचित्र निर्माणमा वृद्धि हुनेछ ।’ उनले चलचित्र भवन सञ्चालक (प्रदर्शक) ले यसवर्ष १८ घण्टाभन्दा बढी काम गरेको बताए । वर्षको अन्तिममा प्रदर्शन भएका चलचित्रले राम्रो सुरूआत गरेका छन् । यस्तै, आउँदो वर्ष विसं २०८२ को सुरूआती दिन वैशाख १ मा समग्र चलचित्रको व्यापार राम्रो हुने निर्देशक पुर्नेन्दु झाको बुझाइ छ । आउँदो वर्ष नेपाली चलचित्रका लागि महत्त्वपूर्ण भएको उनको भनाइ छ । ‘यो वर्ष प्राप्त सफलताले नयाँ र पुराना दुवै चलचित्रकर्मीको सक्रियता निर्माणमा बढेको छ, आउँदो वर्ष ती चलचित्रकर्मीहरूले चलचित्र लिएर दर्शकसम्म आउनु हुनेछ । नयाँ दर्शकलाई आकर्षित गर्न सके आउँदो वर्ष नेपाली चलचित्रले नयाँ सुरूआत गर्नेछ । यो वर्षको व्यावसायिक सफलतालाई नाघ्नु नै चुनौती देखिएको छ,’ निर्देशक झाले भने । उनी आउँदो वर्ष विसं २०८२ ले यस वर्ष बनेको बजारको आकार बढाउन सक्नुपर्नेमा जोड दिए । आउँदो वर्ष विसं २०८२ मा ८० हाराहारीमा चलचित्र प्रदर्शन हुने अनुमान चलचित्रकर्मीले गरेका छन् । ‘बक्स अफिस’ मा रहेको तथ्याङ्कअनुसार ५९ नेपाली चलचित्रले कूल कमाइ १ अर्ब ८० करोड रुपैयाँ गरेको छ । तथ्याङ्क बाँकी रहेका ३ चलचित्र ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ सहित प्रदर्शनरत अन्य नेपाली चलचित्रको व्यापार (ग्रस) ५ करोड रुपैयाँ भएको अनुमान चलचित्रकर्मीको छ । यस कारण नेपाली बजारको आकार १ अर्ब ८५ करोड रुपैयाँको हाराहारीमा पुगेको अनुमान गरिएको छ ।
वर्ष २०८१ : पूर्णबहादुर सारङ्गीको करिब ४७ करोड कमाइ, अरू चलचित्रले कति गरे ?
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो । यस वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस)मा यस चलचित्रले ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । त्यसले विसं २०८१ मा मात्र नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्यो । यसकारण २०८१ साल चलचित्रका लागि स्मरण गरिने वर्ष बन्ने छ । यसका साथै यस वर्ष चार चलचित्रले १० करोडभन्दा बढीको व्यापार (ग्रस) घरेलु बजारमा गर्न सफल भएका छन् । चलचित्र विकास बोर्डको तथ्याङ्कानुसार यस वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ यही चैत २९ देखि प्रदर्शन हुँदैछन् । यस वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ । विदेशी चलचित्रको नेपाल प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले अङ्क तलमाथि हुनसक्ने बोर्डको भनाइ छ । ‘पूर्णबहादुरको सारङ्गी’ बाहेक यस वर्ष घरेलु बजारमा रु १० करोड बढीको व्यापार गर्ने चार चलचित्रमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ रहेको बक्स अफिसमा तथ्याङ्क छ । यो वर्षको सुरुआती महिना वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ले राम्रो व्यापार गर्न सफल भयो । चलचित्रमा समावेश गीत ‘बुझिनँ मैले, बुझाइदेऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्यो । केकी अधिकारीले अभिनय गरेको र सुलक्षण भारतीले निर्देशन गरेको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रूपमा हेरिएको थियो । यसले अकल्पनीय व्यापार गर्यो । बक्स अफिसको तथ्याङ्कानुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोड दुई लाखको व्यापार भएको छ । यो चलचित्र सफलताको श्रेय गीतसङ्गीत र विषयलाई जान्छ । त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रूपमा हेर्न सकिन्छ । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ ले दर्शकको राम्रो साथ पायो । बक्स अफिसको तथ्याङ्कानुसार ‘१२ गाउँ’ले रु १९ करोड ९२ लाख र ‘छक्कापञ्जा–५’ ले रु १५ करोड २० लाखको व्यापार गरेको छ । अन्य चलचित्रको व्यापार बढेता पनि शृङ्खलाबद्ध रूपमा आइरहेको ‘छक्का पञ्जा’को व्यापार भने अघिल्लोको तुलनामा घटेको छ । यसले बजारको आकार बढ्न अवरोध गर्ने बुझाई वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठको छ । उनले नयाँ दर्शकलाई निरन्तर चलचित्र भवनमा आकर्षित गर्न फरक चलचित्र चाहिने बताए । दशैंपछि तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ले चलचित्र क्षेत्रलाई चलायमान बनायो । यो चलचित्रको सफलता पुराना निर्मातासँगै नयाँ निर्माता पनि चलचित्र क्षेत्रमा सक्रिय भएको बुझाई निर्देशक पुर्नेन्दु झाको छ । उनले कथा बलियो भएमा कलाकारले अभिनय गर्न सके दर्शकले मन पराउने विश्वास चलचित्रकर्मीमा बढेको बताए । आजसम्मको चलचित्रले घरेलु बजारमा गरेको व्यापारलाई हेर्दा यो ‘अञ्जिला’ पाँचौँ स्थानमा छ । यसले घरेलु बजारमा रु सात करोड ५० लाख व्यापार गरेको छ । उल्लेखित व्यापारमा निर्धारण गरिएको शुल्क घटाएर वितरकमार्फत चलचित्र निर्माताले रकम पाउने गर्छन् । गएको होलीलाई लक्षित गर्दै फागुन २९ मा प्रदर्शन भएको चलचित्र ‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडीको कथालाई पर्दामा रुचाउनु सुखद् पक्ष रहेको यसका निर्देशक मिलन चाम्सले बताए । यस वर्ष प्रदर्शन भएको अन्य चलचित्रमा ‘पूजार सार्की’ ले रु सात करोड ३७ लाख, ‘घरज्वाइँ’ले रु पाँच करोड नौ लाख, ‘फर्की फर्की’ले रु चार करोड ८४ लाख, ‘मनसरा’ले रु चार करोड ७८ लाख र ‘लाज शरणम्’ले रु चार करोड ३४ लाखको व्यापार (ग्रस) गरेको तथ्याङ्क ‘बक्स अफिस’मा छ ।