मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।
मधेस प्रदेशसभामा राप्रपाबाट सरिता ठाकुर सिफारिस
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेस प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्य पदका लागि महोत्तरीको सरिताकुमारी ठाकुरलाई सिफारिस गरेको छ । पार्टीले यसअघि प्रदेशसभा सदस्य रहेकी कञ्चन बिच्छालाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप लगाउँदै सांसद पदबाट फिर्ता बोलाएको थियो । त्यससम्बन्धी विवादमा परेको रिट निवेदन अदालतले खारेज गरेपछि बिच्छा पदमुक्त भएकी थिइन् । बिच्छा पदमुक्त भएपछि रिक्त रहेको समानुपातिकतर्फको सदस्य पदपूर्तिका लागि निर्वाचन आयोगबाट पत्र प्राप्त भएको र सोही ‘क्लस्टर’अन्तर्गतको समानुपातिक सूचीमा दोस्रो नम्बरमा रहेकी ठाकुरलाई सिफारिस गरिएको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाले प्रदेशसभा सदस्य पद रिक्त भएको संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार नयाँ नाम सिफारिस गरिएको जनाएको छ ।
डीडीसीको लुटतन्त्र बन्द, जोगियो पौने ३ करोड
काठमाडौं । सरकारी संस्थानहरूमा वर्षौंदेखि चल्दै आएको लुटतन्त्र र फजुल खर्चविरुद्ध कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले कडा कदम चालेकी छन् । दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधालाई मन्त्री चौधरीले तत्काल रोक्न निर्देशन दिएकी हुन् । के थियो सेटिङ ? डीडीसीका कर्मचारीहरूले नियमविपरीत र अनावश्यक रूपमा दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा घर लैजाने गरेका थिए । एकातिर संस्थान घाटामा जाने र अर्कोतिर किसानले दूधको भुक्तानी नपाएर सडकमा दूध पोख्नुपर्ने अवस्था रहेको बेला कर्मचारीहरूले भने राज्यको सम्पत्तिमा रजाइँ गरिरहेका थिए । मन्त्री चौधरीको यो एकै निर्देशनले अब संस्थानको वार्षिक २ करोड ८५ लाख रुपैयाँ जोगिने भएको छ । ‘संस्थान कर्मचारी पाल्नका लागि मात्र होइन, किसान र उपभोक्ताको सेवाका लागि हो’ , मन्त्री चौधरीले निर्देशनका क्रममा भनिन् । कर्मचारीको सुविधा कटौती गरेर जोगिएको यो वार्षिक २ करोड ८५ लाख रुपैयाँ अब किसानहरूको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ । वर्षौंदेखि किसानको पसिनाको मूल्य नतिर्ने तर कर्मचारीले सित्तैमा घिउ दूध खाने प्रवृत्ति अन्त्य भएको छ ।