बालेनको उदय क्रान्तिकै जित हो, बलिदान बिर्से यो भवन ढल्नेछ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिवर्तन र समावेशी प्रतिनिधित्वलाई जनयुद्ध र क्रान्तिको उपजको रूपमा व्याख्या गरेका छन् । मंगलबार संसदलाई सम्बोधन गर्दै उनले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीको सफलतालाई ‘क्रान्तिको संकल्पको जित’ का रूपमा टिप्पणी गरे । सम्बोधनका क्रममा प्रचण्डले काठमाडौंको मेयर हुँदै देशको प्रधानमन्त्री बन्न सफल हुनुभएका बालेन्द्र शाह र झण्डै दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्वमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विशेष बधाई दिए । ‘बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जित हो,’ प्रचण्डले भने । विगतमा सत्ता र प्रतिपक्ष दुवै भूमिकामा रास्वपासँग सहकार्य गरेको स्मरण गर्दै उनले नयाँ शक्तिहरूको उदयलाई सकारात्मक रूपमा लिए । प्रचण्डले संसदमा आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र पिछडिएका समुदायको उपस्थिति तथ्यांकसहित प्रस्तुत गर्दै यसलाई ठूलो उपलब्धिका रूपमा चित्रण गरे । उनले आजको समावेशिता ‘पिठ्यूँमा दुधे बालक र काँधमा बन्दूक बोकेका महिलाहरू’ को बलिदानले सम्भव भएको दाबी गरे । सामन्तवादविरुद्ध उठाइएको हतियारले ढोका नखोलेको भए उत्पीडित समुदायका प्रतिनिधिहरू मन्त्री बन्ने अवस्था नआउने उनको भनाइ छ । संसदमा जो प्रवेश गरे पनि आफू नै प्रवेश गरेजस्तो महसुस हुने र यसमा गर्व गर्ने अधिकार आफूलाई भएको जिकिर प्रचण्डले गरे । नयाँ सांसदहरूलाई बधाई र शुभकामना दिँदै प्रचण्डले इतिहास र बलिदानप्रति सचेत रहन आग्रह गरे ।   उनले परिवर्तनको जगलाई अवमूल्यन नगर्न चेतावनी दिँदै भन्नुभयो, ‘मलाई लाग्छ, त्यो महान बलिदानलाई बिर्सेको दिन यो भवन आफै ढल्नेछ ।’ सम्बोधनको अन्त्यमा उनले क्रान्तिको मशाल आफ्नै रगतले बालेको स्मरण गर्दै परिवर्तनको रक्षाका लागि सबै दलहरू एकजुट हुनुपर्नेमा समेत जोड दिए ।

केन्द्रीय सदस्य मनोनयनप्रति डा. शेखर कोइरालाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी केन्द्रीय कार्यसमितिको हालैको विस्तारप्रति असन्तुष्टि जनाउँदै यसले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् ।  सभापति गगनकुमार थापाले गरेको १९ जनालाई केन्द्रीय सदस्य मनोनयनपछि सार्वजनिक धारणा राख्दै कोइरालाले पार्टीभित्र सामूहिक भावना र साझा विचार कमजोर बनेको संकेत गरेका हुन् । उनले कांग्रेसको समग्र एकताविना राष्ट्रिय राजनीतिमा पार्टीले प्रभावकारी भूमिका खेल्न नसक्ने उल्लेख गर्दै पद र व्यक्तिभन्दा पार्टीको एकता ठूलो विषय भएको बताएका छन् ।  विगतको निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर शिक्षा दिएको उल्लेख गर्दै उनले विभाजित कांग्रेसले केवल राजनीतिक क्षति मात्र नभई जनविश्वाससमेत गुमाएको टिप्पणी डा. कोइरालाले गरेका छन् । कोइरालाले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई कांग्रेसका लागि निर्णायक अवसरका रूपमा व्याख्या गर्दै नागरिकको भरोसा जित्न नसके कांग्रेसको राष्ट्रिय औचित्यमाथि नै प्रश्न उठ्नसक्ने चेतावनीसमेत दिए । उनले पार्टीसँग आबद्ध युवा, संघर्षशील र त्यागी समूहको राजनीतिक भविष्य सुनिश्चित गर्न कांग्रेस भावनात्मक रूपमा एकताबद्ध र राजनीतिक रूपमा नागरिकमैत्री बन्नुपर्ने धारणा राखेका छन् । उनले वर्तमान राजनीतिक परिस्थितिमा संविधानवाद र लोकतान्त्रिक मूल्यहरूमाथि पपुलिज्मको नाममा आक्रमण भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा पनि कांग्रेस गुट–उपगुटमा विभाजित हुनु दुःखद भएको बताए ।  गुटीय राजनीतिका कारण पार्टी कमजोर बनेको संकेत गर्दै उनले यसको अन्त्य छिटो हुनुपर्नेमा जोड दिएका छन्। कोइरालाले वैशाख २८ गते गरिएको १९ जनाको मनोनयनले पार्टी एकताको भावनालाई कमजोर बनाएको स्पष्ट टिप्पणी गरेका छन् । साथै उनले १४औं महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा १५औं महाधिवेशन एकता महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

तस्करी नियन्त्रणमा निर्मम तर आम नागरिकप्रति उदार बन्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमा क्षेत्रमा हुने संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार निर्मम रूपमा प्रस्तुत हुने स्पष्ट पारेका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले आम नागरिकले दैनिक उपभोगका लागि गर्ने किनमेलमा सरकार लचिलो हुने तर व्यावसायिक रूपमा गरिने अवैध कारोबारमा भने शून्य सहनशीलता अपनाइने बताए । १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था दशकौंदेखि कायम रहेको स्मरण गराउँदै उनले यसको कार्यान्वयनमा विगतमा भएका कमजोरी वा लापरबाहीलाई अब सुधार गरिने उल्लेख गरे । तराई–मधेसका सीमावर्ती क्षेत्रका नेपाली नागरिकको दैनिक जीवन सहज बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै उनले सीमापारि गएर साबुन, चिनी जस्ता अत्यावश्यक वस्तु खरिद गर्ने सर्वसाधारणलाई कुनै सास्ती नदिइने स्पष्ट पारे । यद्यपि दिनमा पटक–पटक सीमा वारपार गरेर सामान भित्र्याउने र स्वदेशी उत्पादनलाई धराशायी बनाउने संगठित गिरोहविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनी अर्थमन्त्रीले दिएका छन् । राजस्व चुहावट नियन्त्रणका लागि संघीय, प्रादेशिक र स्थानीय तहका सबै संयन्त्रलाई पूर्ण रूपमा परिचालन गरिने जानकारी दिँदै उनले गृहमन्त्री र अर्थमन्त्रीको संयुक्त नेतृत्वमा रहेको उच्चस्तरीय राजस्व परिचालन समितिलाई समेत सक्रिय बनाइने बताए ।  सीमा सुरक्षा र निगरानीलाई थप प्रभावकारी बनाउन सरकारले यसपटक आधुनिक प्रविधिको प्रयोगमा जोड दिएको छ । अर्थमन्त्री वाग्लेका अनुसार सीमा क्षेत्रमा सीसीटीभी क्यामेरा, फेस रिकग्निसन डिभाइस, नाइट भिजन उपकरण र कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रणाली जडान गर्न गृह मन्त्रालयलाई उल्लेख्य बजेट विनियोजन गर्ने तयारी गरिएको छ।  सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बललाई स्रोत–साधन सम्पन्न बनाउन बोर्डर पोस्ट सुदृढीकरण र आधुनिक उपकरण खरिदमा ठूलो लगानी गरिने उनको भनाइ छ।  ‘सिमाना भनेको सिमाना हो’ भन्दै उनले अवैध गतिविधिमा कठोर हुने तर मानवीय र वैध कार्यमा सरकारले हदैसम्मको उदारता देखाउने प्रतिबद्धता व्यक्त गरे ।