विक्रम खनाल विजयी, विनोद चौधरी संसदीय यात्रामा रोकिए

काठमाडौं । नवलपरासी पश्चिममा रास्वपा उम्मेदवार विक्रम खनाल विजयी भएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ठूलो मतान्तरले पछि पार्दै विजयी भएका हुन्।  खनालले ४५ हजार २ सय ४१ मत प्राप्त गरे। चौधरीले ९ हजार ५ सय २ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९ सय ५६ मत प्राप्त गरे। जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले ७ हजार ८ सय ३२ मत पाए।  

अमरेशकुमार सिंहको ह्याट्रिक, गगनको संसदीय यात्रामा ब्रेक

काठमाडौं । सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् ।  ३५ हजार ६८८ मत ल्याउँदै सिंह प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए । यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पूरा गरे भने यसपटक मधेश झरेर चुनाव लडेका गगनको संसदीय यात्रामा ब्रेक लागेको छ । गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक समानुपातिक प्रणालीबाट सांसद बनेका उनी पछिल्लो ३ पटक काठमाडौं-४ बाट निर्वाचित भएका थिए । 

रास्वपाको सय क्षेत्रमा जीत, २५ मा अझै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म एक सय सिट जितेको छ । १२९ क्षेत्रको नतिजा सार्वजनिक हुँदा रास्वपाले १०० सिटमा जीत हासिल गरेको हो । रास्वपा अझै २५ क्षेत्रमा अगाडि छ ।  दोस्रो धेरै सिट जित्नेमा नेपाली कांग्रेस छ । कांग्रेसले १४ सिट जितेको छ भने २ क्षेत्रमा अग्रता छ ।  एमालेले ७, नेकपाले ६, राप्रपाले १ र स्वतन्त्रले १ सिट जितेका छन् । एमाले अझै ४ सिटमा अगाडि छ । नेकपा पनि दुई सिटमा अगाडि छ ।