विशेष अधिवेशनले सबै पक्षलाई समेटेको छैन : महत
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन पुरै कांग्रेसलाई समेटेर गरिएको महाधिवेशन नभएको बताएका छन् । सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै महतले विशेष महाधिवेशनमा जोडिएका र नजोडिएका सबैलाई समेटेर अगाडि बढ्नु पर्ने बताएका छन् । अहिलेको आवश्यकता देखिएका सबै पक्षलाई समेटेर नियमित महाधिवेशन आयोजक समिति बनाउन महतले जोड दिएका छन् । पार्टीलाई एक बनाएर लैजान यो मात्रै विकल्प रहेको महतको भनाइ छ ।
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन : शंकर पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका उद्देश्यले गठन नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कार्की आयोगको प्रतिवेदनले नै आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि गरेको दाबी गरेका छन् । पोखरेलले आयोगको प्रतिवेदन र निर्वाचन प्रक्रियामा प्रयोग गरिएको भनिएको ‘अल्गोरिदम’ मार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानुनी वैधानिकता दिने प्रयास गरिएको स्पष्ट भएको उल्लेख गरेका छन् । सोही प्रयासअनुसार निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको उनको भनाइ छ । उनका अनुसार निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको छ । अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणमार्फत नयाँ शक्तिको उदय भएको उनले टिप्पणी गरेका छन् । पोखरेलले आगामी राजनीतिक यात्रा सहज नहुने उल्लेख गर्दै राष्ट्र र लोकतन्त्रले केही समय चुनौती सामना गर्नुपर्ने अवस्था आउने बताएका छन् । यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई आफ्नो दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु तथा जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु विवेकपूर्ण कदम हुन सक्ने उनले बताएका छन् । यद्यपि लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन रूपमा समस्याको समाधान वा विचारधारात्मक राजनीतिको विकल्प हुन नसक्ने उनको धारणा छ ।
रास्वपाको केन्द्रीय समिति बैठक आज, संसदीय दलको नेतामा बालेन चयनको तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको छ । बैठकमा संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल हुने पार्टीले जनाएको छ । केन्द्रीय समितिबाट औपचारिक निर्णय गराएपछि संसदीय दलले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको पार्टीका नेताहरूले बताएका छन् । यसअघि आजै नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । शपथ ग्रहणलगत्तै रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो । रास्वपाले संसदीय दलको नेतृत्व टुंग्याएर आगामी सरकार गठन प्रक्रिया तथा संसदीय रणनीति तय गर्ने तयारी गरेको जनाएको छ ।