संसद् अधिवेशन स्थगित
काठमाडौं । सरकारले संघीय संसद् अधिवेशन स्थगनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सिफारिस पत्र राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसअनुसार नै संसद् अधिवेशन स्थगन गर्ने निर्णय गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । यसअघि पनि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार अपरान्ह २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । तर, पछिल्लो निर्णयसँगै उक्त अधिवेशन स्थगित भएको छ । सरकारले अधिवेशन स्थगन गर्नुको कारण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । संसदीय मामलाका विज्ञहरूका अनुसार नेपालको संसदीय इतिहासमा आह्वान भएको संसद स्थगन भएको पहिलो पटक हो ।
महान्यायाधिवक्ता कँडेललाई पदमुक्त गर्नु नपर्ने कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त गर्नुनपर्ने कुनै कारण भए पेस गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । योग्यता नपुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गरिएको दाबी गर्दै दायर भएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त आदेश दिएको हो । अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार रिटमाथिको प्रारम्भिक बहसपछि सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरिएको हो । उक्त मुद्दामा अब सरकारले आफ्नो धारणा पेस गरेपछि अदालतले थप सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।
लामिछानेविरुद्धको मुद्दा संशोधन विवाद सुनुवाइ स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनसम्बन्धी निर्णयलाई चुनौती दिँदै परेको रिट निवेदनमाथिको सुनुवाइ बिहीबारका लागि तय भए पनि स्थगित भएको छ । महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ स्थगनका लागि दिएको निवेदनका आधारमा आजको पेशी स्थगित गरिएको हो । यसअघि उक्त मुद्दा न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा परेको थियो । महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पेसी हटाए पनि पेसीबाट हटाउनु पर्ने कारण भने खुलाइएको छैन । महान्यायाधिवक्ता कार्यालयका सूचना अधिकारी प्रकाश गौतमले उक्त मुद्दा पेसीबाट हटाउनुपर्ने कारण आफूलाई पनि थाहा नभएको बताए । ‘म पनि मुद्दाको बहसका लागि अदालतमा छु, त्यसैले मुद्दा स्थगनको कारणबारे थाहा भएन,’ गौतमले भने । सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधीवक्ता कार्यालय विरुद्ध सर्वाेच्चमा रिट परेकाे थियाे । लामिछाने विरुद्धको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको उक्त रिट आज पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हाे । महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको उक्त रिट आज पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । मुद्दा संशोधनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन् । ती निवेदनहरूमाथि प्रारम्भिक सुनुवाइका क्रममा संयुक्त इजलासका दुई न्यायाधीशले गम्भीर कानुनी प्रश्न उठेको ठहर गर्दै मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पेस गर्न आदेश दिएका थिए ।