काठमाडौं । नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवाको विचार समूहका नेताहरूको बैठक बैशाख १५ गते बस्ने भएको छ ।
समूहको आन्तरिक तयारी, संगठनमा उक्त समूहको पकड तथा आगामी राजनीतिक रणनीतिबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।
कांग्रेसका नेता डा. प्रकाशशरण महतका अनुसार देउवा समूहबाट चौधौं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरू तथा पार्टीका वरिष्ठ नेताहरूसमेत बैठकमा सहभागी हुनेछन् । बैठकमा देशभरका ४७ जिल्लाका सभापतिहरूको सहभागिता रहने अपेक्षा गरिएको अर्का नेता जितजंग बस्नेतले जानकारी दिए ।
उक्त बैठकमा स्थानीय तहदेखि केन्द्रसम्मको समूहको अवस्था, सदस्यता विस्तार, तथा पार्टीभित्र देखिएका गुटगत गतिविधिहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ ।
देउवा समूहले पार्टीभित्र आफ्नो पकड बलियो बनाउने तथा आगामी महाधिवेशन र चुनावी तयारीलाई लक्षित गर्दै रणनीति तय गर्ने तयारी गरेको नेताहरूले बताएका छन् ।
चौधौ महाधिवेशनवाट निर्वाचित अधिकांश केन्द्रीय सदस्यहरू देउवा समूहमै रहेको उक्त समूहले बताएको छ ।