झिलमिला ताल हेर्न ताराकाेटमा भ्यू टावर निर्माण हुँदै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनाको चुरे क्षेत्रमा पर्ने झिलमिला तालको मनोरम दृश्य नियाल्नका लागि ताराकोटमा भ्यू टावर निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाइएको छ । भ्यू टावर निर्माणका लागि भीमदत्त नगरपालिकाले नियुक्त गरेको परामर्शदाताले सम्भाव्यता अध्ययनको कार्य शुरु गरेको छ । नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले झिलमिला ताल हेर्नका लागि पुग्ने पर्यटकलाई दृष्यावलोकन गर्न सहजता प्रदान गर्नका लागि ताराकोटमा भ्यू टावर निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य अघि बढाइएको बताए । पर्यटकलाई दृष्य अवलोकनका लागि टावर निर्माण गर्न लागेका छौँ, नगर प्रमुख विष्टले भने “त्यसका लागि अहिले काठमाडौँको परामर्शदाताले प्रारम्भिक सम्भाव्यता अध्ययन शुरु गरेको छ ।” सम्भाव्यता अध्ययनको कार्य पूरा भएपछि निर्माणको कार्य प्रारम्भ गरिने उनले बताए । भीमदत्त नगरपालिकाको पहिलो नगरसभाबाट भ्यू टावरका लागि बजेट विनियोजन गरिएको थियो । चुरेमा पर्ने झिलमिला तालमा आउने पर्यटक र भक्तजनलाइ लक्षित गरी भ्यू टावर बनाउन लागिएको हो । दिनभरि तीनथरि रङ बदल्ने झिलमिला ताल धार्मिक पर्यटनको केन्द्रका रुपमा रहेको छ । नगरपालिकाले यस वर्ष झिलमिला तालसम्म कालोपत्रे सडक निर्माणको कार्य समेत अघि बढाएको छ । नगरपालिकाको शहरी विकास कार्यक्रमअन्तर्गत सडक कालोपत्रेका लागि ठेक्का दिइएको छ । नगरप्रमुख विष्टले झिलमिलासम्म निर्माण हुने पक्की सडकले झिलमिलाको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । भीमदत्त नगरपालिकाका अध्यक्ष राम नाथले झिलमिलासम्म पक्की सडक बनेपछि पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बताए ।

विद्या सुन्दरको स्मार्ट काठमाडौंमा यस्तो बन्दैछ स्वचालित सार्वजनिक शौचालय(डिजाइन सहित)

काठमाडौं । निर्वाचन अघि काठमाडौंमा महानगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेका प्रमुख विद्या सुन्दर शाक्यले स्वचालित सार्वजनिक शौचालय बनाउने तयारी थालेका छन् । आफ्नो घोषणा पत्र र पुर्व प्रतिवद्धता अनुसार स्मार्ट काठमाडौंका लागि स्वचालित सार्वजनिक शौचालय निर्माण गर्न लागेको पनि उनले बताएका छन् । शाक्यको योजना अनुसार नै काठमाडौं महानगरपालिकाले स्वचालिच सार्वजनिक शौचालय निर्माणको काम अघि बढाएको छ र हाल प्रारम्भिक डिजाइन समेत तयार भैसकेको छ । ‘स्मार्ट काठमाडौं बनाउने योजना अनुसार नै स्वचालित सार्वजनिक शौचालय निर्माणको काम अघि बढेको हो, अब राजधानीका चोक र बजारहरुमा स्वचालित सार्वजनिक शौचालयहरु निर्माण हुनेछन’, काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले विकासन्युजसँग भने । राजधानीका चोक तथा बजार लक्षित गरी बन्ने शौचालयहरु वैज्ञानिक किसिमका हुने महानगरपालिकाले जनाएको छ । शाक्यले काठमाडौंमा भएका सार्वजनिक शौचालयहरुको ब्यवस्थापन गर्दै थप शौचालयहरु बनाउन तयारी थालिएको बताए । डोल्पा एजुकेसनल सोसियल एण्ड इन्भाइरोमेन्टल रिसोर्स टिम (डोल्पा डेजर्ट)ले महानगरपालिकालाई स्वचालित शौचालयको डिजाइन प्रस्ताव गरेको छ । डोल्पा डेजर्टका कार्यक्रम संयोजक रविन्द्र शाहीका अनुसार एउटा शौचालय निर्माणका करिब १६ लाख रुपैयाँसम्म लागत पर्नेछ । शहरी मोडलमा आउने शौचालयलाई केएपी १७ यु अर्बन मोडल नाम दिइएको छ । डोल्पामा नमुनाका रुपमा एउटा स्वचालित शौचालय निर्माण गरेर प्रयोगमा ल्याइसकेको छ । शाक्यले विद्यामान सार्वजनिक शौचालयलाई सफा र ब्यवस्थित गरेर सञ्चालन गर्न पनि महानगरपालिकाले योजना बनाएर काम गर्ने बताए । यस्तो छ फिचर शाहीका अनुसार नयाँ बन्ने शौचालयमा पैसा तिर्ने विधी फरक छ । यसमा सिक्का राखेर मात्र प्रवेश गर्न मिल्ने व्यवस्था छ । यसमा शौचालयमा भइरहेको गतिविधीलाई देखाउन विभिन्न इन्डिकेटर पनि राखिएको हुन्छ । यसमा गर्भवती महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका लागि  स्तरीय आयाम प्रदान गरिएको छ । यसमा वास बेसिन, ग्याब बार र विशेष किसिमको कमोड छ । शौचालयपछाडी डिस्प्ले बोर्ड पनि राखिएको छ । जसले महानगरपालिकालाई विज्ञापन मार्फत राजश्व संकलन गर्न मद्दत पुर्‍याउँछ । यो शौचालय पानी किफायती छ । यो पूर्णरुपमा सोलारबाट सञ्चालित हुनेछ जसले बिजुलीको पनि बचत गर्नेछ । यसमा १८०० लिटरको पानी अटाउने ट्यांक छ भने आकाशे पानी संकलनका लागि ९०० लिटर क्षमताको छुट्टै ट्यांकको पनि व्यवस्था छ । यसमा स्वचालित सर्फेस क्लिनिङको व्यवस्था छ । जसले क्रमिक रुपमा शौचालयभित्री र बाहिरी भागमा स्वचालितरुपमा सरसफाई गर्छ । समस्या काठमाडौंमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा ४६ सय सर्वसाधारणलाई एउटा शौचालयमा भागमा आउने अनुमान छ । पर्याप्त सार्वजनिक शौचालय नहुँदा काठमाडौंमा बाहिरबाट आउने सर्वसाधारण सबैभन्दा बढी पीडित छन् । महानगरपालिको दिगो विकासको लक्ष्य अनुसार सबैका लागि पानी र शौचालयको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिक्षित गर्नुपर्ने उल्लेख छ । त्यस्तै दिगो विकासको लक्ष्य अन्तर्गत आगामी २०३० सम्म ९९% घरधुरीमा पानीको पहुँच पुर्‍याउने र ९५ प्रतिशत घरधुरीमा पाइपलाइनबाट खानेपानीको सुविधा तथा सुधारिएको शौचालय पहुँचको व्यवस्था गर्ने लक्ष्य रहेको छ । वाटर एडका अनुसार काठमाडौं उपत्यकामा मात्र ८४ वटा सार्वजनिक शौचालय रहेको जसमध्ये ९ को अस्तित्व नरहेको, २५ वटा निर्माणाधिन अवस्थामा रहेका र १ वटा शौचालय मात्र अपाङ्गमैत्री रहेको छ । उपत्यकाका ४६ हजार जनसंख्याका एउटा मात्र सार्वजनिक शौचालय आपाङ्गमैत्री रहेको छ । त्यस्तै गुणस्तरहिन शौचालयका कारण वार्षिक करिब ७ सय बालबालिकाहरु झाडापखालाबाट संक्रमित हुने गरेका छन् । हाल उपत्यकाका शार्वजनिक शौचालयहरुको सरसफाईको अवस्था खराब रहेको र पानीको पनि अभाव रहेको छ । त्यस्तै सरसफाइका लागि साबुन, सरफ र अन्य सामग्री पनि नरहेको पाइएको छ । शौचालयमा फोहोर व्यवस्थापनका लागि स्यानिटरी बिनको व्यवस्था पनि छैन । नेपाल सडक विक्रेता ट्रेड यूनियनका अनुसार काठमाडौं उपत्यकामा मात्र ३०,००० सडक विक्रेताको जनसंख्या रहेको जस मध्ये २०,००० सडक विक्रेता काठमाडौं महानगरपालिकामा मात्र रहेका छन् । सडक विक्रेता शौच गर्न सार्वजनिक शौचालय सेवामा निर्भर रहने गरेका छन् । सडक विक्रेतामा महिलाहरुको संख्या उल्लेखनिय रहेको यूनियनले जानकारी दिएको छ ।

आजदेखि १५ औं हस्तकला व्यापार मेला सुरु,राष्ट्रपतिले गरिन् मेलाको उद्घाटन

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा भृकुटीमण्डपमा १५ औं हस्तकला व्यापार मेला सुरु भएको छ । नेपालमा उत्पादन भएका हस्तकलाबाट निर्मित वस्तुहरुको बिक्री तथा प्रवर्धन गर्ने उद्येश्यसहित आजेदेखि मेला सुरु भएको हो । मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । दिउसो २ बजे मेला उद्घाटन गर्न पुगेकी राष्ट्रपतिले सबै स्टलको अवलोकन गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासका लागि हस्तकलाका सामग्रीको प्रवद्र्धनमा जोड दिएकी छिन् । उनले भनिन्, ‘हस्ताकलाको विकासले मात्र देशको आर्थिक समृद्धि र गरिबी निवारणमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।’ राष्ट्रपति भण्डारीले परम्परागत हस्तकलाका ज्ञान र सीपलाई प्रवद्र्धन गरी युवा पुस्तालाई यससम्बन्धी आकर्षण गर्न आवश्यक रहेकामा जोड दिँदै नेपाली हस्तकलाका सीप र कलाले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचानलाई उजागर गरेको बताइन् । सो अवसरमा उनले उत्कृष्ट हस्तकलाका निर्यातकर्तालाई प्रमाणपत्रसमेत वितरण गरेकी छिन्। आयोजकका अनुसार काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृति करेसा र वाँसका सामानहरुसाथै जडिवुटी, अर्थोडक्स चिया लगायतका वस्तु प्रदर्शनीमा राखिएका छन् । मेलामा २ सय ५० भन्दाबढी प्रदर्शकहरुले सहभागीता जनाएका छन् । महासंघको निवर्तमान अध्यक्ष तथा मेला आयोजक समितिको संयोजक हेमरत्न शाक्यले भने, ‘मेलामा झण्डै १ लाख आगन्तुक आउने अनुमान गरिएको छ भने १० करोडभन्दा बढीको कारोवार हुने अपेक्षा छ ।’ व्यापार मेला अवलोकन गर्नको लागि प्रवेश टिकटको दर ५० निर्धारण गरिएको छ । त्यसमा विद्यार्थीलाई ५० प्रतिशत सहुलियतको व्यवस्था र वृद्धवृद्धालाई निशुल्क गरिएको महासंघले जनाएको छ । १० हजार मान्छेको लागि टिकट फ्रिको व्यवस्था गरिएको बताइएको छ । व्यापार मेलमा सहभागी भएका फर्म कम्पनीहरुको ब्यवसाय प्रवद्र्धन एवं विकास गर्न मेला अवधिभर बिभिन्न स्वदेशी एवं बिदेशी क्रेताहरु र विक्रेता र्फम कम्पनीहरुबीच मेला स्थलमा क्रेता बिक्रेता वैठक (विटूबी) आयोजना गरिने भएको छ । यसै गरि मेलाको दोस्रो दिन अर्थात मंसिर २ गते अन्नपूर्ण होटलमा पनि विदेशबाट आएका क्रेताहरु र मेलामा सहभागी लगायत महासंघका निकासीकर्ता सदस्य बिक्रेताहरु बीच भेला गराई क्रेता बिक्रेता भेला गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।