सुजुकीद्धारा अरुण ईन्टरकण्टिनेन्टल उत्कृष्ट वितरक घोषित, आठ विधामा सर्वोत्कृष्ट

काठमाडौं । सीजी होल्डिङ्स अन्तर्गको अटोमोटिभ डिभिजन अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई उत्कृष्ट वितरक (एक्सिलेन्ट डिस्ट्रिब्यूटर) उपाधीद्धारा सम्मानित गरिएको छ । अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई दिल्लीमा आयोजित एनुअल सुजुकी रिजनल डिस्ट्रिब्यूट कन्फरेन्स- अफ्रिका, मिडल ईष्ट एण्ड साउथ एसियामा उक्त उपाधीद्धारा सम्मानित गरिएको हो । सेप्टेम्बर २५ देखि २७ सम्म आयोजित उक्त सम्मेलन मार्फत गत आर्थिक बर्षमा कम्पनीद्धारा गरिएको उत्कृष्ट कार्य प्रदर्शनीका लागि सो सम्मान प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । विक्रि, सेवा तथा पार्ट्स पर्फरमेन्सका लागि सम्मेलनकै सर्वाधिक उपाधी हातपार्न सफल कम्पनीका रुपमा अरुण ईन्टरकण्टिनेन्टलले ८ भिन्न विद्यामा उपाधी हात पारेको थियो । कम्पनीले ‘एक्सिलेन्ट डिस्ट्रिब्यूटर अवार्ड’, ‘हाइयस्ट सेल्स ईन २०१६’,‘हाइयस्ट रिपेयर अर्डर ग्रोथ २०१६’, ‘हाइयस्ट पार्ट सेल्स पर यूआईओ ईन २०१६’, ‘हाइयस्ट सेल्स ग्रोथ ईन २०१६’, ‘हाइयस्ट एक्सेसरिज सेल्स पर भेहिकल ईन २०१६’, ‘हाइयस्ट सर्भिस मार्केट सेयर ईन २०१६’ र ‘च्याम्पियन्स अफ च्याम्पियन्स एवार्ड’ हात पारेको हो । वैश्विक मञ्च मैयी उपाधी पाउँदा निकै गौरवको महशुस भएको बताउँदै समग्र समुह तथा वितरकले गरेको निरन्तर मिहेनतको पहिचान तथा सम्मानका रुपमा यसलाई लिएको सिजी मोटोक्रोप र सिजी एनएक्सटिजिइएनका कार्यकारी निर्देशक करण चौधरीले बताए । ‘यो सफलताका लागि हामी हाम्रा आदर्णीय उपभोक्ता तथा समस्त सरोकारवालाप्रति कृतज्ञ छौँ’ साथै ‘यसले आफू लगायत कम्पनीलाई नै नेपाली अटो उद्योगमा सुजुकीका सवारी साधनलाई थप उचाईमा लाने हौसला समेत प्राप्त भएको छ’ उनले भने । अल्टो, अल्टो के१०, वेगनआर, सिलेरो, स्विफ्ट, ईग्निस, बलेनो, डिजायर, ब्रेजा, एसक्रस, सियाज, ओम्नी भ्यान, ओम्नी कार्गो, र्ईको र सुपर क्यारी लगायत मोडलका साथ नेपाली बजारमै सर्वाधिक फराकिलो पोर्टफोलियो भएको कम्पनीका रुपमा नेपालकै अग्रणी कार विक्रेता भएको कम्पनीको दावी छ ।

तिहार बोलाउँदै मखमली, आम्दानी कुर्दै माली (फोटो फिचर)

भक्तपुर । तिहार आउन करिब दुई साता बाकी रहँदा भक्तपुर सुर्यविनायक नगरपालिका स्थित गुण्डुका कृषकहरु मखमली फुल टिप्न र माला गाँस्नमा व्यस्त छन् । घर सजाउन मात्र नभई कुकुर तिहार, गाई पुजादेखि भाइटिकामा समेत तिहारमा फूलै चाहिने भएकाले अहिले यसको अत्याधिक माग छ । यहाँका अधिकांश परिवार फुल बेचेर जिविकोपार्जन गरिरहेका छन् । गुण्डु वडा नम्बर ७ का सिता नगरकोटीले तिहारमा सयपत्रीसँगै मखमलीको अत्याधिक माग हुने गरेको र आफ्नो सपरिवार नै फुल टिपेर माला गास्न व्यस्त रहेको बताइन् । गुण्डुमा प्राय सबैले मखमली खेती गरिरहेको उनले जानकारी दिइन् । यहाँ तीन घर मिलेर ४ रोपनीबाट सामुहीक रुपमा मखमली खेती गरिरहेका छन् । नगरकोटीले भने आफ्नो १ रोपनी जग्गामा मखमली मात्र रोपेकी छिन् । एक रोपनीमा १७/१८०० वटा माला बराबरको फुल उत्पादन हुनेगरेको उनले बताइन् । गत सालभन्दा यसपाली तिहार अलि अघि परेकाले धेरै फुल बेच्न नसक्ने उनले बताइन् । अहिलेसम्म पाँच सय वटा मखमली माला व्यवसायीले लगिसकेको उनले बताइन् । करिब ४० बर्ष उमेरकी नगरकोटी फूल खेतीमा लागेको ४-५ वर्ष भयो । कात्तिकमा चाहिने यो फुललाई बैसाखमै रोप्नुपर्छ । एउटा मालाको २२ रुपैयाँसम्म लिने गरेको उनले बताइन् । उनले भनिन्, ‘एउटा माला बेच्दा पाँच रुपैयाँमात्र नाफा हुन्छ । खुद्रा किन्दा त्यहि मालाको ५०/६० रुपैयाँसम्म पर्छ । व्यापारीले त्यही माला बेचेर धेरै कमाउछन् ।’ नगरकोटीले दसैं सकिएलगत्तै २ सय वटा माला गासिसकेका छन् । तिहारका दिन असन र कालीमाटी ल्याएर फूल बेच्ने गरेको उनले बताइन् । गुण्डुका अर्का किसान मैंया बस्नेतले पनि घरको करेसामा मखमली लगाएकी छिन् । उनले आठ सय वटा माला तयार पारेको बताइन् । उनले माला बेचेर घरको नुन, तेलको जोहो हुने गरेको बताइन् । मखमलीसँगै नगरकोटीले सयपत्री पनि लगाइकी छिन् । माग बढेपनि उत्पादन राम्रो नभएकाले सयपत्री कम रोप्ने गरेको उनले बताइन् । यो सिजनमा भारतबाट समेत फूल आयात हुनेगरेको छ ।

हुमन फाउन्डेशनको सहयोगमा १६ वटा मानव विद्यालय बन्दै, नेपाली विद्यार्थीको आर्ट कोरियामा प्रदर्शन

काठमाडौं । नेपालको शिक्षा, स्वास्थ्य र कलाको क्षेत्रमा काम गरिरहेको दक्षिण कोरियाली संस्था यूएम होङ गिल हुमन फाउन्डेशनले ९ जना नेपाली विद्यार्थीहरुलाई कोरियामा शैक्षिक भ्रमण गराउनुको साथै १३ जना नेपाली विद्यार्थीहरुले बनाएको आर्टहरु कोरियामा प्रदर्शन गराएको छ । सेप्टेम्बर १३ देखि १९ तारिकसम्म भएको उक्त शैक्षिक भ्रमणको क्रममा विद्यार्थीहरुले आर्ट प्रदर्शनीमा भाग लिनुको अतिरिक्त कोरियाका विभिन्न आर्ट संग्रालय, स्कूल, उद्योग, कोरियाका पर्यटकीय गन्तव्यहरुको भ्रमण गरेका छन् । विरेथान्ती माध्यमिक विद्यालयका मानार्थ प्रधानाध्यापक तथा आर्ट टिचर कु ह्युन–किमले ती विद्यार्थीहरुलाई आर्ट सिकाएका थिए । उनी कोरियाको आर्ट विश्वविद्यालयको प्रध्यापक हुन् । नेपाल भ्रमणमा आउँदा नेपाली विद्यार्थीलाई कला र संस्कृतिको बारेमा पढाईदैन भन्ने जानकारी पाएपछि उनले स्वंसेवकको रुपमा विरेथान्ती माध्यमिक विद्यालयका विद्यार्थीलाई कला सिकाएका थिए । सिकाईमा आवश्यक सामाग्री जुटाउन फाउन्डेशनले सहयोग गरेको थियो । १५० भन्दा बढी विद्यार्थीबीच प्रतिस्पर्धा गराई उत्कृष्ठ १३ विद्यार्थीको आर्ट कोरियामा प्रदर्शनी गरिएको र उनीहरु मध्ये ९ जनालाई कोरिया भ्रमणमा समेत लगेको सो संस्थाले जनाएको छ । भ्रमणको क्रममा विद्यार्थीहरुले अनुशासन, सहकार्य र एकता नै सफलताको सुत्र भएको कोरियाबाट सिकेको बताए । ‘कामको सम्मान गर्नुपर्छ, मिहेनत गर्नुपर्छ, अनुशाशित हुनुपर्छ, सहयोगी बन्नुपर्छ, सहकार्य र एकता नै बल हो भन्ने तथ्य हामीले कोरियाबाट सिकेका छौं’ भ्रमण सकेर काठमाडौं फर्केका विद्यार्थी प्रदीप आचार्यले भने । कास्की जिल्लााको विरेथान्ती माध्यमिक विद्यालयका आइतसुबा विक, अञ्जना सुनार, अलिशा तामाङ, अर्जुन राई, विशाल चापाई, मेनुका तामाङ, नविन परियार, प्रदीप आचार्य, पुजा परियार, सविता परियार, शोभा परियार, सिर्जना राई र ताप्लेजुङ जिल्लाको मायम माध्यमिक विद्यालयका यमबहादुर सेन्चुरीले बनाएका आर्टहरु प्रदर्शन गरिएको हुमन फाउन्डेशनले जनाएको छ । यूएम होङ गिल हुमन फाउन्डेशनले नेपालमा १६ स्थानमा स्कूल निर्माण गरिरहेको छ । होङ गिलले विश्वका अग्ला १६ शिखर चढेको संस्मरणमा नेपालमा १६ वटा विद्यालयहरु बनाउने घोषणा गरेको छ । यो संस्थाले सन् २००९ देखि नै विद्यालयहरु निर्माणमा थालेको हो । हालसम्म १२ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको, ३ वटा विद्यालय निर्माण भईरहेको र एउटा भवन निर्माणको लागि उपयुक्त स्थान खोजी भईरहेको उक्त संस्थाका नेपालस्थिति कन्ट्री डाइरेक्ट चोङ क्वाङ सिकले जानकारी दिए । यो संस्थाले ‘ड्रिम्स एण्ड होप फर दी चिल्ड्रेन अफ हिमालयज’ परियोजना अन्तरगत हुमन स्कूलहरु बनाउदै आएको छ । यसअन्तरगत विद्यालयहरुको भवन निर्माण, शिक्षक, स्टेशनरी, स्कलरशिप, अन्य शैक्षिक सामाग्रीमा समेत सहयोग गर्दै आएको छ । यस संस्थाले हिमाली क्षेत्रमा ‘हिमालय मेडिकल केयर, हिमालय भोलुन्ट्री सर्भिस, होप्स प्लान प्रोजेक्ट समेत सञ्चालन गर्दै आएको छ । यूएम होङ गिल हुमन फाउन्डेशन क्याप्टेन यूएम होङ गिलको नाममा स्थापना भएको अन्तराष्ट्रिय गैरसरकारी संस्था हो । क्याप्टेन गिल कोरियाली नागरिक हुन् । उनले सन् २००७ अघि नै ८ हजार मिटरभन्दा अग्ला १६ वटा हिमाल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका छन् । क्याप्टेन गिलले सगरमाथाको सफल आरोहण सन् १९९८ मा गरेका थिए । उनले साहासिक पर्वतारोहण गरेको, शिक्षा र मानवताको क्षेत्रमा योगदान गरेको भन्दै कोरिया सरकार र विभिन्न संस्थाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको २१ वटा सम्मान तथा पुरस्कार पाएका छन् ।