मण्डलामा उखु किसानकाे १५औं दिन: अधिकांशले भुक्तानी पाएनन्, पाउनेले पनि ताेकेकाे भन्दा कम (तस्विरसहित)

काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तरपनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरुको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरु बताउँछन् । हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर विगत १५ दिनदेखि उखु किसानहरु आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् । विगत सात वर्ष देखिको भुक्तानी मिल सञ्चालकहरुले नदिएपछि किसानहरु निर्णयक आन्दोलन गर्न भन्दै काठमाडौं आएका हुन् । गत वर्ष पनि उनीहरुले यस्तै आन्दोलन गरेका थिए । तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिना भित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए । तर एक वर्षसम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरी काठमाडौं आई आन्दोलन गरिरहेका छन् । १५ दिनसम्म आन्दोलन गर्दापनि सरकार नसुनेझैं गरी बसिरहेको छ । किसानहरु आन्दोलन गरेको देखेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन् । तर सरकारले तोकेको मूल्य भन्दा पनि कम दरमा भुक्तानी पठाएको किसानहरुको गुनासो छ । उखु किसान संघर्ष समितिका सदस्य मायासंकर प्रसाद यादवले सरकारले प्रति क्वीन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोकेको भएपनि उद्योगीहरुले ४ सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गरे । सबै किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने पनि उनले बताए । चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । विगत सात वर्ष देखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागि किसानहरुले बताएका छन् । आफूहरुले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदासम्म आन्दोलनलाई जारी राख्ने किसानहरुले बताए । आन्दोलनरत किसानहरुले ‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौं’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘किसान मार्न पाइदैन’, ‘हाम्रो रकम भुक्तानी गर’, ‘किसानलाई क्षतिपूर्ति देउ’ लगायतका नारा समेत लाएका थिए ।

किन मनाइन्छ राष्ट्रिय झण्डा दिवस ? (फाेटाेफिचर)

काठमाडाैं । आज पुष १ गते विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले २०७५ पुष १ गते देखि यो दिवस मनाउँदै आएको छ । २०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुष १ गते देखि दिवसको रुपमा मनाउँदै आएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दिवस मनाइएको बताए । पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने बताए । राष्ट्रिय झण्डाको महत्व नै नबुझेर प्रयोग गरिनु ठिक नभएको पनि उनले बताए । ‘राष्ट्र, राष्ट्रियता, स्वाधिनता, अन्तर्राष्ट्रिय पहिचान’ मूल नारा सहति दिवस मनाइएको हो । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

कांग्रेसद्वारा देशभर सरकार विरुद्ध विरोध प्रदर्शन, कुन नेता कहाँ पुगे ? (तस्विरसहित)

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसका शिर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् । सभापति शेरबहादुर देउवा मकवानपुर पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिबाटिकामा सम्बोधन गर्दै छन् । उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा सम्बोधन गर्दै छन् । अर्का महामन्त्री पूर्णबहादुर खड्का भने केन्द्रीय कार्यालय सानेपामा बसेर देशभरका कार्यक्रमको जानकारी लिने र समन्वय गर्ने भूमिकामा रहेका छन् । यस्तै पूर्व उपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी, युवा नेता गगन थापा कैलाली पुगेका छन् ।