दशैंमा उपत्यका बाहिर जाने यात्रु भएनन्, लामो दुरीका यातायात खाली (फाेटाे फिचरसहित)

काठमाडौं । घटस्थापना शुरु भएपनि दशैंमा घर फर्कने यात्रु नहुँदा लामो दुरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन । काठमाडौं बाहिर जाने मुख्य नाकाहरु कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भिडभाड देखिएन् । सरकारले कात्तिक १ गतेदेखि पुरानै भाडादर लागू गरी पूर्ण क्षमतामा सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ । तरपनि सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको संख्या न्यून देखिएको छ । अघिल्ला वर्षहरुमा दशैं शुरुभएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको चहलपहल बसपार्क, कलंकी, र कोटेश्वर क्षेत्रमा निकै देखिन्थ्यो । अग्रिम टिकट बुकिङ गर्दा समेत सहजै यात्रा गर्न मुस्किल पर्ने गर्दथ्यो । तर, यसवर्ष कोभिड संक्रमणका कारण ती क्षेत्रहरु सुनसान छन् । लामो दुरीमा यात्रा गर्ने सवारी साधन नै न्यून देखिन्छन भने यात्रुहरुको संख्या पनि निकै कम छ । कात्तिक एक गतेदेखि सरकारले सवारी साधनको पुरानै भाडादर कायम राख्ने तर पूर्ण क्षमतामा यात्रु राख्न पाउने व्यवस्था गरेको छ । तरपनि यात्रु नपाउँदा समस्या भएको यातायात व्यवसायीहरुको भनाई छ । सरकारले पुरानै भाडादर कायम गरेपनि यात्रु पाउन कठिन भएको सवारीसाधन चालकहरु बताउँछन् । बसमा पूर्ण क्षमतामा यात्रु राख्दा जोखिम बढी हुने भएकाले यात्रुहरु नै बस चढन नमान्ने गरेको चालकहरु बताउँछन् । बसमा यात्रा गर्ने यात्रुहरु पनि असुरक्षित महसुस भएको बताएका छन् । सवारीसाधनमा यात्रा गर्ने यात्रुको संख्या न्यून भएको तर लामो समय कुरैरै भएपनि पूर्ण क्षमतामा यात्रु राख्ने गरेकोले जोखिम महसुस भएको यात्रुहरुको भनाई छ । यस्तै सार्वजनिक सवारीसाधनमा सामाजिक दुरी कायम नगर्ने, मास्क र सेनिटाइजरको प्रयोग नगरेको पाइएकाले पनि संक्रमणको जोखिम महसुस भइराखेको यात्रुहरु बताउँछन् । संक्रमणको जोखिमका कारण नेपाल सरकार र स्थानीय तहहरुले जो जहाँ छ त्यहिं नै दशैं मनाउन आग्रह गर्दै आएका छन् । त्यसैले पनि यसपटकको दशैंमा उपत्यकाबाट घर फर्किने मानिसहरु न्यून संख्यामा देखिएका छन् ।

दशैंको पहिलो दिन, यसरी राखियाे जमरा (फाेटाे फिचरसहित)

काठमाडौं । नवरात्रको पहिलो दिन आज घटस्थापना । घटस्थापनाको अवसरमा नेपालीहरुको घरघरमा दशैंको जमरा राखिएको छ । दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा हरेक नेपालीको घरघरमा जमरा राख्ने गरिन्छ । यहि अवसरमा काठमाडौंको बसन्तुरमा रहेको दशैंघरमा पनि जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै आज विहान ११ः ४६ को शुभसाइतमा जमरा राखिएको हो । कोभिडका कारण यो वर्ष केही समस्या भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जमरा राखिएको शार्दुल जंग गुल्मका गुल्मपति सेनानी विकाश शाक्यले बताए । विश्व नै कोभिडबाट प्रभावित भएपनि पूजालाई सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर निरन्तरता दिइएको उनले बताए । विहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाइको गोबरले लिपपोत गरिएको कोठामा वा दशैंघरमा जमरा रोप्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ । नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ ।

पर्यटन दिवसमा सुनसान ठमेल (फाेटाे फिचर)

काठमाडाैं । आज ‘४१ औं विश्व पर्यटन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण पर्यटकको स्वागत भने हुन सकेन । यसअघिको बर्षहरुमा पर्यटन दिवसको अवसरमा मुलुकको विभिन्न सीमानाकामा र अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकको स्वागत गर्न भ्याइ नभ्याई हुन्थ्यो । पर्यटकका लागि पहिलो गन्तव्य ठमेल पनि यस वर्ष सुनसान देखिएको छ । हरेक बर्ष सेप्टेम्बर २७ को दिन विश्वभर पर्यटन दिवस मनाउने गरीएको छ । अन्तर्राष्ट्रिय समुदायमा पर्यटनको भूमिकाका बारे चेतना जगाउने र यसले विश्वव्यापी रूपमा सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक मूल्य मान्यताहरूलाई कसरी प्रभाव पार्छ भनेर प्रदर्शन गर्ने उद्देश्यले सन् १९८० देखि यो दिवस मनाइदैं आएको हो । यस बर्ष पनि ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइएको छ । तर, यो बर्ष भने कोरोना प्रकोपको कारण पर्यटकहरुको स्वागत बिनै दिवस मनाउन बाध्य हुनु परेको छ । यसअघिको वर्षहरुमा मुलुकको विभिन्न सीमानाकामा र अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकको स्वागत गर्न भ्याइ नभ्याई हुने गरेको थियो भने पर्यटकलाई लोभ्याउन होटलहरुले विभिन्न छुटका योजना सार्वजनिक गर्ने गरेका थिए । त्यस्तै, काठमाडौंको मुख्य पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका व्यवसायीहरुले विभिन्न प्याकेज घोषणा गरी पर्यटको अवसरमा छुट दिदै आएका थिए । तर, यो वर्षको पर्यटन दिवसमा भने कोरोना संक्रमणको महामारीका कारण ठमेल क्षेत्र सुनसान बनेको छ । अघिल्लो बर्षहरुको पर्यटन दिवसको दिन छुट्टै माहोल सहित आन्तरिक र बाह्य पर्यटकको भिड हुने गरेकोमा यो बर्ष सुनसान बनेको व्यवसायीले बताएका छन् । विदेशी पर्यटक शून्य छन भने आन्तरीक पर्यटक समेत पाउन मुस्किल भएको व्यवसायीहरुको भनाई छ । ठमेल क्षेत्रका व्यापारीहरुको मात्रै नभई मुलुकभरकै पर्यटन व्यवसायीको उस्तै अवस्था छ । पर्यटकको उपस्थिति शून्य भएसँगै व्यवसायीहरू फुर्सदिला बनेका छन् । महँगो घर भाडा, बैंकको व्याज बढ्दै जाने तर पर्यटनको आगमन ठप्प हुँदा कतिपय व्यवसायीले पलायन हुने अवस्थामा पलायन हुने अवस्था आएको गुनासो गरेका छन् ।