रिङरोडदेखि न्यूरोडसम्मः निषेधाज्ञामा यस्तो देखियो काठमाडौंको बजार र चहलपहल
काठमाडौं । स्थानीय प्रशासनको निर्णयको आधारमा काठमाडौं उपत्यकामा लगाइएको एक हप्ते निषेधाज्ञा भोलि (भदौ १०) गते सकिदैछ । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला) मा निषेधाज्ञा लगाइएको हो । स्थानीय तहसँगको समन्वयमा लगाइएको निषेधाज्ञाको कारण जनजीवन प्रभावित भएको छ । सर्वसाधारणको आवात जावत रोकिएको छ । पसल, व्यापारिक प्रतिष्ठान, उद्योग तथा प्रायः सबै प्रकारका व्यवसाय बन्द छन् । यद्यपि सरकारले अत्यावश्यक सेवा संचालन गर्न भने दिएको छ । यही निषेधाज्ञाको बीचमा नेपालकै सबैभन्दा बढी सर्वसाधारण बस्ने भनिएको काठमाडौं उपत्यकाको मुख्य शहर तथा व्यापारिक केन्द्रमा के कस्तो चहलपहल छ ? सर्वसाधारणको गतिविधि कस्तो छ भन्ने सन्दर्भमा हामीले केही फोटो खिचेका छौं । हामीले काठमाडौंको चक्रपथ (रिङरोड) अन्तरगत पर्ने बालकुमारी, सातदोबाटो हुदै एकान्तकुनासम्म तथा जावलाखेल, पुल्चोक, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, सुन्धारा, न्यूरोड, भोटाहिटी, दरबारमार्ग, पुरानो बसपार्क, भद्रकाली तथा थापाथली जस्ता क्षेत्रमा तस्वीर खिचेका थियौं ।
प्रहरीले बैंकका कर्मचारीलाई बाटोमै रोकेपछि… (तस्विरमा हेर्नुहाेस्)
काठमाडाैं । गएरातिबाट जारी भएको निषेधाज्ञाका कारण बैंकहरुको सेवा प्रवाहमा समेत समस्या देखिएको छ । प्रहरीले अनावश्यक घर बाहिर निस्किने सर्वसाधारणसँगै बैंकका कर्मचारीहरुलाई समेत बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो । सरकारले बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयमा न्यूनतम कर्मचारी राखेर सेवा सञ्चालन गर्न प्रशासनले भनेपछि बैंकका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो । सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको बैंकर्स संघले जनाएको छ । मुख्य कार्यालयमा बढीमा १० प्रतिशत कर्मचारीले सेवा दिने र सिमित ठाउँमा मात्रै शाखाहरु खोल्ने सहमति भएपनि प्रहरीले बाटोमै कर्मचारी रोकेपछि सेवा नै दिन सक्ने अवस्था नभएको संघले जनाएको छ । कर्मचारीहरु बाटोमा रोकिएपछि बैंकहरुको सेवा प्रवाहमा समस्या देखिएको छ । बैंकहरुले मुख्य गेट नै बन्द गरेका छन । जसका कारण ग्राहकहरु गेट बाहिर उभिएका छन । सिमित मात्रामा मात्रै बैंकका शाखाहरु खुला हुने सूचना पाएका ग्राहकहरु टाढा टाढाबाट आएर बैंकका गेट बाहिर उभिएर बसेका हुन् । बौद्ध जोरपाटीबाट प्रभु बैंकको मुख्य कार्यालयमा सेवा लिन आएका बलराम श्रेष्ठले महामारीको बेला टाढाबाट आउँदा पनि सेवा नपाउँदा दुःख भएको बताए । काठमाडौंमा ५ वटा शाखामात्रै खुला हुने जानकारी साथीमार्फत पाएको उल्लेख गर्दै उनले सबैभन्दा नजिक पर्ने मुख्य कार्यालय भएकाले आएको बताए । बैंकले कर्मचारीहरुलई बाटोमै रोकेका कारण कार्यालयहरु बन्द भएको जानकारी आफुलाई दिएको उनले बताए । भोली समेत कार्यालय खुल्ने नखुल्ने एकिन नभएको जानकारी आफुले पाएको उनले बताए । प्रशासनसँग काठमाडौं जिल्लामा ५, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्नदिने सहमति भएपनि त्यसो नभएको संघको भनाई छ । प्रहरीले अनावश्यक रुपमा बाहिर निस्किनेलाई होल्डिङ सेन्टरमा राखेको छ ।
उपत्यकामा निषेधाज्ञाको पहिलो दिन, यस्तो देखियो तस्विरमा
काठमाडाैं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गए रातिबाट सुरु हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । उपत्यका लगायत देशभरी नै पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमणको दर बढ्दै गएपछि गए रातिबाट निषेधाज्ञा जारी गरिएको हो । गएरातिबाट तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएपनि उपत्यका सुनसान देखिएको छ । आज अत्यावश्यक बाहेकका सवारी साधान सञ्चालनमा प्रतिवन्ध लगाइएको छ । अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् । सुरक्षाकर्मीहरु प्रत्येक चोक र गल्लीहरुमा परिचालन भएका छन् । प्रशासनले निषेधाज्ञा पालना नगर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा देखिएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेर यात्रा गर्नेहरुलाई होल्डिग सेन्टरमा राखेको छ । चेकजाँचका क्रममा बैंकका कर्मचारीहरुलाई समेत प्रहरीले रोकेको छ । निषेधाज्ञा अवधिभरी पसलरुपनि बन्द गर्न भनिएको छ । विहान ७ बजेसम्म मात्रै खाद्यन्न लागयतका पसलहरु सञ्चालन गर्न दिइएको छ । निषेधाज्ञा भदौ १० गतेसम्म जारी रहनेछ । हिजो मात्रै उपत्यकामा १५९ जना कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार आजसम्म काठमाडौंमा १ हजार ९ सय ८७, ललितपुरमा १ सय ५० र भक्तपुरमा १ सय ७१ संक्रमित रहेका छन । देशभरी संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ ।