६० प्रतिशत काम सकिँदा यस्तो देखियो कोटेश्वर–जडिबुटी सडकखण्ड (फोटो फिचर)
काठमाडौं । कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तारको काम यसै आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि सम्पन्न हुन नसक्ने भएको छ । सरकारले कोटेश्वर–जडीबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि कोटेश्वर–जडीबुटी सडकखण्डको विस्तारको काम अघि बढाएको थियो । यसै आर्थिक वर्षको असार मसान्तसम्म सक्नेगरी काम थाले पनि कोभिड–१९ को कारणले निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो । टुन्डी सुसन जेभी निर्माण कम्पनीेले ७ करोड रुपैयाँमा २०७८ सालको असार सम्ममा निर्माण कार्य सम्पन्न गर्नेगरी जिम्मा लिएको थियो । हालसम्म निर्माणको ६० प्रतिशत मात्रै काम सकिएको सडक डिभिजन काठमाडौंका प्रमुख ई. कुवेर नेपालीले बताउनुभयो । निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न अवरोध आएको उहाँले बताउनुभयो ।
मनसुन भित्रिएसँगै काठमाडौं उपत्यकाका किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)
काठमाडौं । मनसुन भित्रिए सँगै काठमाडौँ उपत्यका भित्रका किसानहरुलाई धान रोप्ने चटारो बढेको छ । हामीले बुझेको काठमाडौं उपत्यका धेरै उब्जनी हुने माटो भएको ठाउँ हो । बढ्दो शहरीकरणले धान फल्ने खेतमा बहुतले घर ठडिएका छन् । तर उपत्यकाको काँठ क्षेत्रमा अझै खेति योग्य जमीन बाँकी छ । यिनै काँठ, ढाप र डोलहरुमा धान रोपाइँ सुरु भएको छ । उपत्यकाको अधिकांश क्षेत्रमा ताइचिन र मन्सुली धान लगाउने चलन छ । यसका साथै खुमल ११ र डोल क्षेत्रमा स्थानीय एक्ले धान लगाउने चलन छ । काठमाडौँमा प्रख्यात रहेको पोखरेली मसिनो र थापचिनी धान हराइसकेको छ । काठमाडौँका धान फल्ने फाँट खुम्चिँदै गएका छन् । यसलाई खुम्च्याउन तरकारी खेतीका टनेल, कुखुरा बंगुर–सुँगुर पालनले पनि सहयोग गरेका छन् । पछिल्लो समय काठमाडौँको धानमा बर्णशंकर बिउले बिकृति ल्याएको किसानहरुले बताएका छन् ।