सहकारीको रकम अपचलनविरुद्ध राप्रपाको मोटरसाइकल र्याली (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलनविरुद्ध विरोध प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंमा मोटरसाइकल र्यालीसहित सहकारीको रकम अपचलनविरुद्ध विरोध जनाएको हो । संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता खारेजी, गणतन्त्र खारेजी गर्नुपर्ने माग पनि रहेको एक आन्दोलनकारीले बताए । राज्य सत्तामा बस्नेहरूबाट नै सहकारी पीडितको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने माग रहेको बताए ।      

कस्तो छ बेचिएको भनिएको गिरीबन्धु टि-स्टेटको जग्गाको अवस्था ? (फोटो फिचर)

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले कमिसन खाएर गिरीबन्धु टि-स्टेटको ७० विघा जग्गा बेचेको आरोप लगाएपछि नेपालको राजनीतिको मोड फेरिने संकेत देखिएको छ । टि-स्टेटको बेचिएको भनिएको जग्गा अहिले झापाको बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा ११ मा पर्दछ । ठूलो भागमा अहिले पनि चियाको बुटा र जंगल नै छ । अहिले कस्तो अवस्थामा छ ? बेचिएको भनिएको जग्गामा अहिले ठूलो मानवीय बसोवास भएको बस्ति, बसपार्क, ठूल्ठूला होटल तथा विभिन्न संस्थाका कार्यालय छन् । ११५३ वटा कित्तामा विभाजन भएको जमिनमा अहिले करिव ४ सय घर परिवार बसोवास गरिरहेका छन् । बिर्तामोड ५ र अर्जुनधारा ११ स्थित ५१ विघा जग्गामध्ये ३८ विघा जग्गा प्लटिङ गरिएको थियो भने बाँकी खाली नै रहेको छ । प्लटिङमा आवासीय घरसँगै टेकबहादुर गिरी बसपार्क, पाथीभरा इन्जिनियरिङ कलेज, कान्तिपुर ड्राइभिङ सेन्टरजस्ता व्यावसायिक संस्था सञ्चालनमा छन् । त्यही जग्गामा दुई दर्जनभन्दा बढी होटल खुलेका छन् । झापाको गिरीबन्धु टि-स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि सोही जग्गामा बसोवास गर्नेहरूमा अन्योल छाएको छ । यता गिरीबन्धु टि-स्टेटको जग्गाको विषयमा सत्ता साझेदार प्रमुख दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सदन र सडकमा आमने सामने हुने निश्चित छ । वास्तविकता के हो ? बिस्तारै खुल्दै जाला । अबको केही दिन सहकारीको विषयसँगै गिरीबन्धु टि-स्टेटको जग्गाको विषयले नेपालको राजनीति तात्ने निश्चित छ ।    

नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवमा प्रभातफेरी कार्यक्रम (फोटो फिचर)

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवका अवसरमा आज (सोमबार) बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरू भएको प्रभातफेरी र्‍याालीमा बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । प्रभावतफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी), निर्देशक दिनेश कुमार लाल र कर्मचारीहरू सहभागि भएका थिए । साथै, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, जीवन बीमक संघ, नेपाल बीमक संघ, बीमा सर्भेयर संघ, पेशागत बीमा अभिकर्ता संघ लगायतको सहभागिता रहेको थियो । सभालाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबैको प्रयासमा सफलताका साथ अगाडि बढिरहेको बीमा बजारको भविष्य उज्ज्वल रहेको बताए । उनका अनुसार बीमा कम्पनीहरूले न्यून आय भएका र विपन्न वर्गलाई लक्षित गरी गाउँगाउँमा सेवा विस्तार गर्नुपर्छ । बीमा कम्पनीका राम्रा काममा प्राधिकरणको सधैं साथ र समर्थन रहने र निर्देशिका, मार्गदर्शन जारी गर्नुभन्दा अगाडि बीमकहरूको सुझाव लिने गरेको उनको भनाइ छ । ‘नागरिकमा बीमा गर्ने बानी बसाल्न पहल गर्नुपर्छ, बीमा विश्वासिलो बजार हो, बीमा कम्पनीले कहिल्यै धोका दिँदैनन् भन्ने विश्वास स्थापित गर्नुपर्छ, कम्पनीहरूले आफूलाई परिमार्जन गरेर आफ्ना कामहरूका बारेमा आमरूपमा जानकारी गराउनुपर्छ,’ उनले भने । सरकारका नीति, रणनीति र पञ्चवर्षीय योजनामा बीमा प्रवद्र्धनका विषय समावेश हुनु आवश्यक छ, भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरूबाट सिर्जना हुने जोखिम विरूद्ध आर्थिक सुरक्षण गर्न पूर्वाधारहरू लगायत सबै सरकारी सम्पत्तिको बीमा गर्न सरकारबाट पहल हुने उनको भनाइ छ । बीमा प्राधिकरणका संचालक समितिका सदस्य कपिल देव ओलीले प्राधिकरण, बीमक लगायत सम्बद्ध सबैको प्रयासमा बीमा व्यवसाय व्यवस्थित, विकसित र समृद्ध हुँदै अगाडि बढिरहेको बताए । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तार गर्न तथा न्यून आय भएका र विपन्न वर्गलाई बीमाको दायरामा ल्याउन जोड दिनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गरेका थिए । जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले प्राधिकरणको ५६औँ वार्षिकोत्सवको सुभकामना दिँदै बीमा क्षेत्रलाई अझ विश्वासिलो र गर्विलो बनाउनुपर्ने बताए । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमाको पहुँच बढाउन गाउँघरसम्म पुग्नु पर्ने बताए ।