चुरे संरक्षणको माग गर्दै माईतीघर मण्डलामा धर्ना (तस्बिरहरू)
काठमाडौं । चुरे संरक्षणको लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौं आइपुगेको छ । चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीबार काठमाडौं आइपुगेको हो । टोलीले काठमाडौंस्थित माईतीघर मण्डलामा धर्ना सुरु गरेको छ । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको ब्यानरमा चुरे संरक्षण लगायतका विभिन्न माग राखी २५ जनाको टोली काठमाडौं आइपुगेको हो । चुरे तथा वनजंगल विनाशको कारणले तराई, मधेसमा नदीको मुहान सुकेर पानीको हाहाकार हुने स्थिति आएको र सिंगो देश नै जलवायु परिवर्तनको चपेटामा परेको भन्दै चुरे संरक्षण अभियान सुरु गरिएको जनाइएको छ । पदयात्रा टोलीले चुरे क्षेत्रमा अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने लगायतका एक दर्जनभन्दा बढी मागहरु अघि सारेका छन् ।
सहकारीको रकम अपचलनविरुद्ध राप्रपाको मोटरसाइकल र्याली (तस्बिरहरू)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलनविरुद्ध विरोध प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंमा मोटरसाइकल र्यालीसहित सहकारीको रकम अपचलनविरुद्ध विरोध जनाएको हो । संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता खारेजी, गणतन्त्र खारेजी गर्नुपर्ने माग पनि रहेको एक आन्दोलनकारीले बताए । राज्य सत्तामा बस्नेहरूबाट नै सहकारी पीडितको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने माग रहेको बताए ।
कस्तो छ बेचिएको भनिएको गिरीबन्धु टि-स्टेटको जग्गाको अवस्था ? (फोटो फिचर)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले कमिसन खाएर गिरीबन्धु टि-स्टेटको ७० विघा जग्गा बेचेको आरोप लगाएपछि नेपालको राजनीतिको मोड फेरिने संकेत देखिएको छ । टि-स्टेटको बेचिएको भनिएको जग्गा अहिले झापाको बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा ११ मा पर्दछ । ठूलो भागमा अहिले पनि चियाको बुटा र जंगल नै छ । अहिले कस्तो अवस्थामा छ ? बेचिएको भनिएको जग्गामा अहिले ठूलो मानवीय बसोवास भएको बस्ति, बसपार्क, ठूल्ठूला होटल तथा विभिन्न संस्थाका कार्यालय छन् । ११५३ वटा कित्तामा विभाजन भएको जमिनमा अहिले करिव ४ सय घर परिवार बसोवास गरिरहेका छन् । बिर्तामोड ५ र अर्जुनधारा ११ स्थित ५१ विघा जग्गामध्ये ३८ विघा जग्गा प्लटिङ गरिएको थियो भने बाँकी खाली नै रहेको छ । प्लटिङमा आवासीय घरसँगै टेकबहादुर गिरी बसपार्क, पाथीभरा इन्जिनियरिङ कलेज, कान्तिपुर ड्राइभिङ सेन्टरजस्ता व्यावसायिक संस्था सञ्चालनमा छन् । त्यही जग्गामा दुई दर्जनभन्दा बढी होटल खुलेका छन् । झापाको गिरीबन्धु टि-स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि सोही जग्गामा बसोवास गर्नेहरूमा अन्योल छाएको छ । यता गिरीबन्धु टि-स्टेटको जग्गाको विषयमा सत्ता साझेदार प्रमुख दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सदन र सडकमा आमने सामने हुने निश्चित छ । वास्तविकता के हो ? बिस्तारै खुल्दै जाला । अबको केही दिन सहकारीको विषयसँगै गिरीबन्धु टि-स्टेटको जग्गाको विषयले नेपालको राजनीति तात्ने निश्चित छ ।