एनसीसी बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त भएका छन् । आइतबार बैंक सञ्चालक समितिले खड्कालाई चार वर्षको लागि विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । आफूले लिएको जिम्मेवारी पूरा गरेर छोड्ने र मनमा लागेको कुरा प्रष्ट बोल्ने खड्का सफल बैंकर्सको रुपमा परिचित छन् । उनी एनसीसी बैंकमा मर्ज हुनुपूर्वको इन्टरनेशल डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । उक्त बैंकमा संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहेका खड्काले ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । खड्कासँग दुई दशक भन्दा बढी विभिन्न बैंकमा काम गरेको अनुभव छ । नविल बैंकबाट बैकिङ करिअर शुरु गरेका खड्काले एभरेष्ट बैंक, तत्कालित एनआईसी बैंक, सनराइज बैंकमा विभिन्न पदमा रहेर बैकिङ सेवा गरेका थिए । इन्टरनेशल डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्ज भएपछि उनी बैकिङ क्षेत्रबाट बाहिरिएका थिए । हाल उनी शुभलक्ष्मी सिमेन्ट प्रालिको प्रबन्ध निर्देशक छन् । खड्काकाे नियुक्तीसँगै एनसीसी बैंककाे सञ्चालक समितिले पूर्णता पाएकाे छ । दुइ साताअघि सम्पन्न भएकाे साधारणसभाले एनसीसी बैंक संचालक समितिमा उपेन्द्र केशरी न्यौपाने, मोहन बहादुर बस्नेत, चन्द्र वास्तोला, निशेष प्रधान, कुमारसिंह लामा र सुमन जोशी सर्वसम्मत निर्वाचित गरेकाे थियाे । सञ्चालक समितिबाट न्याैपाने सर्बसहमतिमा अध्यक्ष भएका छन् । यस बैंकमा पहिलाे पटक सर्बसहमतिमा सञ्चालक समिति गठन भएकाे र सर्ब सहमतिमा बिज्ञ सञ्चालक पनि नियुक्त भएकाेले बैंक आगामी दिनमा एक ढिक्का भएर अगाडि बढ्ने विश्वास गरिएकाे छ ।

एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा कठायत नियुक्त

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन् । माघ २९ गते बसको कम्पनी सञ्चालक समितिको बैठकले कठायतलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव कठायतले नियुक्त भएको दिनदेखि नै अर्थात माघ २९ गतेदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

नेपाल लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, सञ्चालकमा दुई जना निर्वाचित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ २७ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको कार्यवाहक सीईओ प्रसाईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्वीकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । सीईओमा उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने सञ्चालक समितिको विश्वास रहेको छ । विगत साढे ३ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यसअघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए । यससँगै, माघ २८ गते सम्पन्न इन्स्योरेन्सको सभाले सञ्चालक समितिमा २ जनालाई निर्विरोध निर्वाचित गरेको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक विमल प्रसाद ढकाल र कृष्णराज लामिछानेलाई निर्विरोध निर्वाचित गरेको हो । सम्बन्धित समाचार नेपाल लाइफले अंकित मूल्य ५० रुपैयाँ बनाउने निश्चित, पारित भयो ५१ प्रतिशत लाभांश