बोधराज देवकाेटा बने महालक्ष्मी विकास बैंकको सीईओ, दुई दशकको बैंकिङ अनुभव

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो । दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकाेटा यसअघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृतका रुपमा कार्यरत थिए । एक महिना अगािड मात्रै उनले सिटिजन्स बैंक छाडेका थिए । बैंक स्रोतका अनुसार उनले भोलि सोमबार मात्रै सीईओको कार्यभार सम्हाल्ने छन् ।

नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् । फागुन २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । अग्रवाललाई आगामी विशेष वा वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरिएको हो । बिशाल मिनरल्स एण्ड माइन्सका प्रतिनिधि समेत रहेको अग्रवाल इन्स्योरेन्समा संस्थापक समूहतर्फ रिक्त सञ्चालक पदमा संस्थापक सेयरधनीको रुपमा नियुक्त भएका हुन् ।

राष्ट्र बैंकले आज डेपुटी गभर्नर पाउने संकेत, गभर्नरको सिफारिस पुग्यो अर्थमन्त्रालय

काठमाडौं । नेपाल राष्ट्र बैंकमा रिक्त दुई डेपुटी गभर्नरको आज नियुक्ति हुने संकेत देखिएको छ । आज (फागुन २५ गते) बोलाइएको मन्त्रिपरिषद बैठकले डेपुटी गभर्नर नियुक्ति गर्ने सम्भावना अधिक रहेको स्रोतले दाबी गरेको छ । आज मन्त्रिपरिषद बैठक बोलाइएको र राष्ट्र बैंकमा डेपुटी गभर्नर रिक्त भएको एक साता वितिसकेकोले आजैको मन्त्रिपरिषदले नियुक्ति गर्न सक्ने अर्थमन्त्रालय स्रोतले दाबी गर्यो । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर नियुक्तिको लागि गरेको सिफारिस अर्थमन्त्री समक्ष पुगेको स्रोतले बतायो । ‘डेपुटी गभर्नर नहुँदा राष्ट्र बैंकका धेरै काम प्रभावित भएका छन्, दुबै डेपुटी गभर्नरले अवकाश पाएको एक साताभन्दा बढी समय पनि भइसकेको छ, गभर्नरले नयाँ डेपुटी गभर्नरको लागि पठाउनु भएको सिफारिस अर्थमन्त्रीले प्राप्त गरिसक्नु भएको छ, त्यसैले आजको मन्त्रिपरिषदले नयाँ डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना अत्याधिक छ,’ स्रोतले भन्यो । नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर हुने कानुनी व्यवस्था छ । यसअघिका डेपुटी गभर्नरहरु चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल गत फागुन १८ गतेदेखि सकिएपछि यी दुबै पद रिक्त छन् । गभर्नरले अर्थमन्त्री समक्ष सिफारिस गर्ने र अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले ५ वर्षको लागि डेपुटी गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ । दुबै डेपुटी गभर्नर राष्ट्र बैंकको संचालक समिति सदस्य पनि हुने व्यवस्था छ । यसअघि बसेको मन्त्रिपरिषद बैठकले डेपुटी गभर्नर नियुक्त गर्ने चर्चा चलेको भएपनि सो बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी भएका थिएनन् । मन्त्री पौडेल उनकै निर्वाचन क्षेत्र बुटबलको एक कार्यक्रममा भाग लिन गएका थिए । को–को परे सिफारिसमा ? नेपाल राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक छन् । यी कार्यकारी निर्देशकबाट २ जनालाई मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नेछ । तर, गभर्नरको सिफारिस र त्यसैको आधारमा अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले डेपुटी गभर्नर बनाउने कानुनी व्यवस्था भएकोले गभर्नरले कसकसलाई सिफारिस गरे भन्ने चासो धेरै छ । अर्थमन्त्रालय स्रोतले गभर्नरले सिफारिस गरेका ३ जनाको नाम उल्लेख गरेको छ । जसमा अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकारको जिम्मेवारीमा पनि रहेका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, सार्वजनिक ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. निलम तिम्सिना र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालको नाम सिफारिसमा परेको स्रोतको दाबी छ । दुई जना डेपुटी गभर्नर नियुक्तिको लागि गभर्नरले ४ जना कार्यकारी निर्देशकको नाम सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुसार गभर्नर अधिकारीले ४ जनाको नाम सिफारिस गरेका स्रोतले जानकारी दियो । तर, अर्काे एउटा नाम भने स्रोतले खुलाएन । राष्ट्र बैंककै कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट, ऋषिकेश भट्ट वा बमबहादुर मिश्रमध्ये कुनै एक जनाको नाम सिफारिस भएको हुन सक्ने चर्चा बजारमा चलेको छ । यद्यपि, स्रोतले यसको पुष्टी गरेको छैन । सम्बन्धित समाचार नयाँ डेपुटी गभर्नरः भट्ट बन्धुको बढ्यो सम्भावना, इतिहास रच्लिन् त तिम्सिनाले ?