स्वावलम्बन लघुवित्तको निमित्त सीईओमा चौलागाँई नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चन्द्रमणि चौलागाँई नियुक्त भएका छन् । माघ ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाकाे विभागीय प्रबन्धक चौलागाँईलाई निमित्त सीईओ पदमा नियुक्त गरेको हो । यससँगै संस्थाको अर्को निर्णय नभएसम्म चौलागाँईले संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् । माघ ८ गते बसेको बैठकले संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बश्यालले दिएका राजिनामालाई माघ ९ गतेदेखि लागू हुने गरि स्वीकृत गरेको थियो । बश्यालले गत पुस ८ गते नै आफ्नो राजिनामा पेश गरेका थिए ।

आईसीएफसी फाइनान्सको अध्यक्षमा रामबाबु पन्तकाे निरन्तरता

काठमाडौं । आईसीएफसी फाइनान्सको अध्यक्षमा रामबाबु पन्तले निरन्तरता दिने भएका छन् । संस्थाको सभाबाट निर्विरोध निर्वाचित भएका संस्थापक सञ्चालक पन्त अध्यक्षमा सर्वसम्मतीले चयन भएसँगै उक्त पदमा निरन्तरता दिने भएका हुन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको २७४औं बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गराएको हो । यससँगै नवनियुक्त अध्यक्ष पन्तले माघ ५ गतेदेखि नै आफ्नो नयाँ कार्यकालकाे कार्यभार सम्हालेका छन् ।

पूर्व मुख्यसचिव रेग्मी बेलायतकाे राजदूतमा नियुक्त

काठमाडाैं । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी राजदूतमा नियुक्त भएका छन् । उनी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए भने त्यही दिन उनलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो ।