स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दरुवाला

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरि दरुवाला नियुक्त भएका छन् । पुस २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको अध्यक्ष पदमा दरुवालालाई नियुक्त गरेको हो । बैठकले पुस २५ गतेदेखि लागू हुने गरी दरुवालालाई अध्यक्षमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त दरुवालाले पुस २५ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । यसअघि बैंकको अध्यक्ष पदको कार्यभार जितेन्द्र अरोराले सम्हालेका थिए ।

पुनर्बीमा कम्पनीको सञ्चालकमा झा नियुक्त, लम्सालको बिदाई

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सुखचन्द्र झा नियुक्त भएका छन् । पुस २२ गते बसेको मन्त्रीस्तरीय निर्णयले झालाई कम्पनीको सञ्चालक समितिकाे सदस्यमा नियुक्त गरेको हो । यसअघिका सञ्चालक रमेश लम्साललाई कम्पनीको सञ्चालकबाट बिदाई गरिएसँगै उक्त पदमा झालाई नियुक्त गरिएकाे हाे । अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रअनुसार उनलाई कम्पनीको सदस्य पदबाट बिदाई गरिएको हो ।

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा, लिए शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुन् । शर्मा यसअघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।