कालिका लघुवित्तका सीईओ महेन्द्र अधिकारीको कार्यकाल थपियो

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेन्द्र अधिकारीको कार्यकाल थपिएको छ । चैत ११ गते बसेको संस्थाको वार्षिक साधारणसभाले अधिकारीको पदको कार्यभार थप २ वर्षको लागि थपेको हो । उनी गत असोज ३० गतेबाट २ वर्षको लागि संस्थाको सीईओ पदमा नियुक्त भएका थिए । तर हालै बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको पदावधि थपेर ४ वर्ष पुर्याएको हो ।  यससँगै, उनले आगामी चार वर्ष अर्थात २०८१ सालसम्म संस्थाको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् ।

राष्ट्र बैंकका नवनियुक्त प्रवक्ता ढकालले आजदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त प्रवक्ता देवकुमार ढकालले आज(चैत ११ गते) कार्यभार सम्हाल्ने भएका छन् । चैत १० गतेदेखि बैंकको प्रवक्तमा तोकिएका ढकालले आजबाट बैंककाे प्रवक्ताकाे कार्यभार सम्हाल्ने भएका हुन् । उनी बैंकको कार्यकारी निर्देशक(विशिष्ट श्रेणी) मा रहेका थिए । बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक ढकालले व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकका विभिन्न विभागहरुमा २५ वर्ष कार्य अनुभव हासिल गरेका छन् । यसअघि बैंकको प्रवक्तामा गणाकर भट्ट रहेका थिए । उनले विगत १४ महिनाजति नेपाल राष्ट्र बैंकको प्रवक्ताको रुपमा कार्यभार सम्हालेका थिए ।

शिखर इन्स्योरेन्सको सञ्चालकमा बज्रचार्य र अमात्य निर्वाचित

काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालकमा दिनेश बज्राचार्य र स्कन्द अमात्य निर्वाचित भएका छन् । चैत ९ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाबाट सञ्चालक पदमा दुई जना निर्वाचित भएका हुन् । कम्पनीको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा बज्रचार्य र अमात्य निर्वाचित भएका हुन् । यससँगै उनीहरुले आगामी चार वर्षसम्म कम्पनीको सञ्चालक पदमा रहेको आफ्नो कार्यभार सम्हाल्नेछन् । साथै, सभाले सेयरधनीलाई २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद गरी २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ । त्यस्तै, बाेनस सेयरपछि कायम हुने चुक्ता पुँजीकाे ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित भएकाे छ । सम्बन्धित समाचार शिखर इन्स्योरेन्सको २९% लाभांश र ३०% हकप्रद पारित, सर्वसाधारण सेयरधनीको हिस्सा बढ्यो