नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली, पूँजी बजारको उन्नति गर्ने प्रतिवद्धता
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) काे अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयको निर्णय अनुसार मन्त्रालयका सहसचिव मैनाली नेप्सेको अध्यक्षमा नियुक्त भएका हुन् । मन्त्रालयले गत असार १४ गते मैनालीलाई नेप्सेको सञ्चालक तथा अध्यक्ष मनोनयन गरेको हो । नवनियुक्त अध्यक्ष मैनालीले पदबहाली गर्दै धितोपत्रको दोश्रो बजार तथा समग्र पुँजी बजारको उन्नतिका लागि आफु प्रतिवद्ध रहेको बताएका छन् । मैनाली यसअघि राजश्व अनुसन्धान विभागको महानिर्देशक रुपमा थिए । उनले विभागमा रहँदा प्रभावकारी काम गरेकोले उनकाे चौतर्फि रुपमा चर्चा पनि भएको थियो । त्यसपछि उनी अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सरुवा भएका थिए । हाल उनी अर्थ मन्त्रालयमै छन् । उनले तत्कालका लागि सरकारले अर्थमन्त्रालयको प्रतिनिधिका रुपमा नियुक्त गरेको भएपनि दीर्घकालिन रुपमा भने अन्य कसैलाई राख्न सक्ने बताए । ‘अहिले तत्काल काम चलाउनको लागि मलाई नियुक्त गरिएको हो, हामी सधैँ त्यहाँ रहँदैनौं, अर्थ अन्तर्गतको निकाय रहेकोलेले मात्रै अर्थले प्रतिनिधित्व गरेको हो,’ उनले भने । यस्तै उनले पूँजी बजारमार्फत मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा नेप्से सञ्चालक समितिका अनुभवी सदस्यहरु तथा व्यवस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरेकाे पनि बताएका छन् ।
टेकु अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग(टेकु) अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त भएका छन् । आज(असार १४ गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयले उनलाई अस्पतालको निर्देशकमा नियुक्त गरेको हो । यसअघि उनी अस्पतालको प्रमुख कन्सल्टेण्ट रहेका थिए । हाल अस्पतालको निर्देशकको कार्यभार सम्हाल्दै आएका डा. सागर राजभण्डारीले मंगलबारदेखि अवकाश पाउने भएपछि डा. बास्तोलालाई निर्देशक पदमा नियुक्त गरिएको हो । संक्रमण रोग विशेषज्ञ समेत रहेका डा बास्तोलाको नेतृत्वमा शुक्रराज अस्पतालका कोरोना संक्रमितको उपचार हुँदै आएको छ ।
एभरेष्ट इन्स्योरेन्सका सीईओ गौतमले पाए निरन्तरता, संस्थालाई थप उचाईमा पुर्याउने प्रतिवद्धता
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल गौतमले निरन्तरता पाएका छन् । पहिलो कार्यकाल सकिनु अघि नै बीमा समितिले उनलाई इन्स्योरेन्समा निरन्तरता दिन स्वीकृति दिएको हो । सीईओ गौतमको पहिलो कार्यकाल आगामी असार १६ गते सकिँदै थियो । तर बीमा समितिले असार १० गते नै सञ्चालक समितिको प्रस्ताव अनुसार उनलाई दोश्रो कार्यकालको लागि स्वीकृति दिएको हो । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ गौतमको कार्यकुशलता र व्यवस्थापकीय क्षमतालाई मुल्याङ्कन गर्दै पुनः नियुक्तिको लागि बीमा समितिमा प्रस्ताव गरेको थियो । गाैतमले २०७४ असारदेखि नै कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतकाे कार्यभार सम्हाल्दै आएका छन् । चार वर्ष अवधिकाे पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले नै थप चार वर्ष काम गर्ने अवसर जुटेको हुन सक्ने सीईओ गौतमकाे दावी छ । ‘बैंकिङ्ग क्षेत्रबाट आएको म, नयाँ क्षेत्रमा जे जति गर्न सकेँ त्यो गरेँ, व्यवस्थापकीय चुनौतिलाई पार गर्दै संस्थालाई एउटा ठाउँमा पुर्याएँ, त्यसको लागि म सन्तुष्ट छु, त्यसैले पनि मलाई दोश्रो कार्यकालको लागि काम गर्ने अवसर आयो होला,’ उनले पहिलो कार्यकालको अनुभव बताउँदै भने । पुनः नियुक्ति पाएसँगै गौतमले आगामी चार वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । यो अवधिमा इन्स्योरेन्सलाई थप उचाईमा पुर्याउने उनको योजना रहेको छ । ‘पहिलो कार्यकाल जस्तै अबको कार्यकालमा पनि नियम कानुन संगत ढंगले संस्थाको कर्पोरेट भिजन र स्ट्रयाटेजीलाई अगाडि बढाउने हो, कम्पनी बीमित लगायत समग्र बीमा क्षेत्रको हितमा काम गर्ने हो, संस्थालाई व्यवसायिक रुपमा अगाडि बढाउने, नाफा बढाउने, संस्थालाई सबल बनाउने, ब्राण्ड इमेजलाई बढाउने त छँदै छ, यसलाई सँगै निरन्तरता नै दिँइरहने हो । समय परिवर्तनशील छ, अविरल यात्रामा अगाडि बढिरहेका छौं, सायद अबको ४ वर्षमा संस्थालाई थप उचाईमा पुर्याउन सकिन्छ होला, त्यहि अनुसार अगाडि बढ्ने छौं,’ उनले विकासन्युजसँग भने । पाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर शुरु गरी हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक हुँदै पछिल्लो समय इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका गौतमले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकलाई सुधार गर्न महत्वपुर्ण भुमिका खेलेका थिए । हालै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैक, एनसीसी बैंकमा गाभिए पश्चात नायव महाप्रवन्धकको जिम्मेवारी सम्हाल्दै आएका गौतमले केही महिना अघि बैंकबाट राजिनामा दिई अवकास लिएका थिए । समस्याग्रस्त संस्थालाई सुधार गर्न अनुभवी गौतम निर्णय एवम व्यवस्थापकीय क्षमतामा अव्वल मानिन्छन् । इन्स्याेरेन्समा नियुक्त हुनुअघि नै करिब २६ वर्षको बैंकिङ्ग अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् ।