आरम्भ चौतारी लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिले शर्मालाई सीईओ पदमा नियुक्त गराउने निर्णय गरेको हो । सोही बैठकले नवनियुक्त सीईओ शर्मालाई कम्पनी सचिवमा नियुक्त गरेको छ । यसअघि संस्थाको सीईओ पदमा लक्ष्मण घिमिरे रहेका थिए । संस्थाको सञ्चालक समितिले घिमिरेले दिएको राजिनामालाई स्वीकृत गर्दै नयाँ सीईओमा शर्मालाई नियुक्त गरेको हो ।

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड श्रेष्ठ

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् । असोज १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले नियुक्त भएकै दिनदेखि बैंकको अध्यक्ष पदको कार्यभार सम्हालिसकेका छन् । यसअघि उनी बैंकको सञ्चालक पदमा रहेका थिए ।

सिन्धु विकास बैंकका सीईओ जोशीले दिए राजिनामा, गिरीले पाए कामुको जिम्मेवारी

काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेशप्रसाद जोशीले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले संस्थाको सीईओ पदबाट राजिनामा दिएका हुन् । उनले दिएको राजिनामालाई संस्थाको सञ्चालक समितिको बैठकले कार्त्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । साथै, उक्त बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीलाई कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी दिने निर्णय गरेको छ । यससँगै, गिरीले कार्त्तिक १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मको लागि बैंकको कामु सीईओको कार्यभार सम्हाल्ने छन् ।