सिभिल बैंकका सीईओ पोखरेलले सम्हाले कार्यभार, सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिवद्धता

काठमाडौं । सिभिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेलले आज (असार १८ गते) देखि आफ्नो कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते सीईओ पदमा नियुक्त भएका पोखरेलले आजदेखि कार्यभार सम्हालेका हुन् । बैंक सञ्चालक समितिको बैठकले असार १८ गतेदेखि लागू हुने गरी उनलाई प्रमुख कार्यकारी नियुक्त गरेको थियो । यससँगै उनले अब आगामी चार वर्षसम्म बैंकको सीईओको जिम्मेवारी सम्हाल्ने छन् । सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पोखरेल अनुभवी बैंकरका रूपमा परिचित छन् । यसअघि उनी बैंकको निमित्त सीईओको रुपमा कार्यरत थिए । उनीसँग विदेशी बैंकदेखि नेपाली बैंकहरूमा पनि लामो समयसम्म काम गरेको अनुभव तथा कार्यकौशलता छ । उनले करिब २० वर्ष तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरे । त्यसपछि उनले एनआइसी एशिया बैंकमा करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि उनले एक वर्ष काम गरेको अनुभव छ । उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा पनि काम गरेका छन् । त्यसपछि उनले म्यानमारकै एजीडी बैंकमा काम गरे । त्यसैले पनि उनलाई धेरैले विदेशी बैंकिङ सम्बन्धि राम्रै ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा चिन्छन् । विदेशी बैंकसँग करिब ३ वर्ष काम गरेको अनुभव पोखरेलसँग छ । उनी २०७६ जेठ २ मा सिभिल बैंकको डेपुटी सीईओमा नियुक्त भएका थिए । यी विभिन्न बैंकमा काम गर्दा उनले हालसम्म तीन दशक बढी समय बैंकिङ क्षेत्रमै बिताइसकेका छन् । डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी सेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने सीईओ पोखरेलले बताए । नव नियूक्त सीईओ पोखरेलको विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पुर्याउनेमा आफू विश्वस्त रहेको सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले बताए । साथै, बैंकले चालु आवमा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढनेमा विश्वस्त रहेको पनि उनले बताए । यस सिभिल बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म ८८ अर्ब ९४ करोड रुपैयाँको निक्षेप र ८३ अर्ब ६० करोड रुपैयाँको कर्जा विस्तार गर्न सफल भएको छ ।

सन नेपाल लाइफको वरिष्ठ प्रबन्धकमा सुमना खनाल नियुक्त, नाफा बढाउन यस्तो छ योजना

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ प्रबन्धकमा सुमना न्यौपाने खनाल नियुक्त भएकी छिन् । इन्स्योरेन्सले हालै उनलाई वरिष्ठ प्रबन्धक (प्रमुख कर्पोरेट बिक्री तथा लघु बीमा विभाग) पदमा नियुक्त गरेको हो । कर्पोरेट क्षेत्रमा खनालको प्रदर्शनको आधारमा इन्स्योरेन्सले कम्पनीको प्रत्यक्ष व्यवसायको विकासको लागि नियुक्त गरेको हो । १२ वर्ष १० महिना सूर्य लाइफ इन्स्योरेन्समा काम गरेकी खनालसँग बीमा मार्केटिङ्गमा प्रशस्त अनुभव रहेको छ । नवनियुक्त वरिष्ठ प्रबन्धक खनालले केहि समय भित्र तोकिएको क्षेत्रमा नयाँ कम्पनीको अपेक्षाहरू सफल हुने विश्वास व्यक्त गरेकी छिन । उनले कम्पनीको नाफा बढाउनको लागि प्रत्यक्ष बिक्रीमा थप सुधारको लागि काम गर्ने योजना बनाएकाे र सिधा कर्पोरेट ग्राहकलाई राम्रो सेवा प्रदान गर्ने बताएकी छिन् ।

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली, पूँजी बजारको उन्नति गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) काे अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयको निर्णय अनुसार मन्त्रालयका सहसचिव मैनाली नेप्सेको अध्यक्षमा नियुक्त भएका हुन् । मन्त्रालयले गत असार १४ गते मैनालीलाई नेप्सेको सञ्चालक तथा अध्यक्ष मनोनयन गरेको हो । नवनियुक्त अध्यक्ष मैनालीले पदबहाली गर्दै धितोपत्रको दोश्रो बजार तथा समग्र पुँजी बजारको उन्नतिका लागि आफु प्रतिवद्ध रहेको बताएका छन् । मैनाली यसअघि राजश्व अनुसन्धान विभागको महानिर्देशक रुपमा थिए ।  उनले विभागमा रहँदा प्रभावकारी काम गरेकोले उनकाे चौतर्फि रुपमा चर्चा पनि भएको थियो । त्यसपछि उनी अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सरुवा भएका थिए । हाल उनी अर्थ मन्त्रालयमै छन् । उनले तत्कालका लागि सरकारले अर्थमन्त्रालयको प्रतिनिधिका रुपमा नियुक्त गरेको भएपनि दीर्घकालिन रुपमा भने अन्य कसैलाई राख्न सक्ने बताए । ‘अहिले तत्काल काम चलाउनको लागि मलाई नियुक्त गरिएको हो, हामी सधैँ त्यहाँ रहँदैनौं, अर्थ अन्तर्गतको निकाय रहेकोलेले मात्रै अर्थले प्रतिनिधित्व गरेको हो,’ उनले भने । यस्तै उनले पूँजी बजारमार्फत मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा नेप्से सञ्चालक समितिका अनुभवी सदस्यहरु तथा व्यवस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरेकाे पनि बताएका छन् ।