नेपाल एग्रो लघुवित्तका नवनियुक्त अध्यक्षले लिए सपथ

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका नव नियुक्त अध्यक्ष रमेशकुमार कर्माचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको शपथ लिएका हुन् । कर्माचार्य यही असार २१ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए । वित्तीय संस्थाको सोहि दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्षमा कर्माचार्यलाई चयन गरको हो । काठमाडौं उपत्यका बाहिर प्रधान कार्यालय रहेको वित्तीय संस्थाले सम्बन्धित क्षेत्र हेर्ने नेपाल राष्ट्र बैंक कार्यालयको निर्देशक समक्ष पद तथा गोपनीयताको सपथ लिनु पर्ने व्यवस्था भए बमोजिम यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा-१८ कास्कीमा रहेकोले नव निर्वाचित अध्यक्ष रमेश कुमार कर्माचार्यले नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वरी प्रसाद भट्टराई समक्ष पद तथा गोपनीयताको सपथ लिएको वित्तीय संस्थाका नि. प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले बताए । कार्यक्रमका अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयको निर्देशक ईश्वरी प्रसाद भट्टराईले नव नियुक्त कर्माचार्यलाई पुनः दोस्रो अध्यक्ष पदको कार्यकालको शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा वित्तीय संस्थाले ग्राहक मैत्री कार्यक्रम लिएर वित्तीय पहुँच विस्तार हुन नसकेको स्वीकृत कार्यक्षेत्रमा कार्यक्रम विस्तारमा जोड दिन समेत आग्रह गरे । कार्यक्रममा नव निर्वाचित अध्यक्ष कर्माचार्यले अध्यक्ष पदको कर्तव्य प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको नियमन र निर्देशनको अधिनमा रही वित्तीय प्रणालीको सम्वद्र्धन तथा वित्तीय संस्थाको हितलाई सदैव ध्यानमा राखि आफ्नो कर्तव्य इमान्दारीका साथ पालना गर्ने बताए । साथै, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था इन्फिनिटी लघुवित्त वित्तीय संस्थासँग प्राप्तिमा जानको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको पखाईमा रहेको समेत बताए ।

निफ्राको सञ्चालकमा शर्मा नियुक्त, यस्तो बन्यो सञ्चालक समिति

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा धनिराम शर्मा नियुक्त भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भएका सञ्चालक शर्माले असार २७ गतेदेखि नै आफ्नो जिुम्मेवारी सम्हालेका छन् । संचालक शर्माले बैंक सञ्चालक समितिमा रहेर आफ्नो जिम्मेवारी सम्हालेका छन् । यससअघि उक्त पदमा श्रीकृष्ण नेपाल रहेका थिए । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भई बैंक सञ्चालक समितिमा रहेका सञ्चालक नेपालको पदावधि सकिएसँगै मन्त्रालयले शर्मालाई मनोनित गरेको हो । यससँगै, हाल निफ्राको सञ्चालक समितिमा ४ जना मात्रै रहेका छन् । जसको नेतृत्व अध्यक्ष अनुज अग्रवालले गरेका छन् । उनी विशाल ग्रपका प्रतिनिधि हुन् । यससँगै, सञ्चालकमा नेपाल सरकारको प्रतिनिधि धनिराम शर्मा, आईएमईका प्रतिनिधि चन्द्रप्रसाद ढकाल र इमर्जिङ्ग नेपालका प्रतिनिधि लालमणी जोशी रहेका छन् ।

उन्नति सहकार्य लघुवित्तको कम्पनी सचिवमा डीसीईओ अधिकारी

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नारायण अधिकारी नियुक्त भएका छन् । असार २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले डीसीईओ अधिकारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यससँगै अधिकारीले संस्थाको डीसीईओका साथ साथै कम्पनी सचिवको कार्यभार समेत सम्हाल्ने छन् ।