सिद्धार्थ बैंकका सीईओ गौतमको कार्यकाल सकिँदै, कामुको जिम्मेवारी कडेललाई

काठमाडौं । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भुनाथ गौतमको कार्यकाल सकिँदै छ । आगामी साउन २५ गतेदेखि कार्यकाल सकिन लागेपछि उनी विदामा बसेका छन् । यससँगै बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)काे जिम्मेवारी सुन्दरप्रसाद कडेलले पाएका छन् । साउन १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओकाे जिम्मेवारी ताेकेकाे हाे । कामु सीईओ कडेलले आगामी साउन २६ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)काे जिम्मेवारीमा छन् ।

राधी विद्युतको स्वतन्त्र सञ्चालक र कम्पनी सचिवले सम्हाले जिम्मेवारी

काठमाडौं । राधी विद्युत कम्पनीका नवनियुक्त स्वतन्त्र सञ्चालक नितेश्वरप्रसाद कोइरी र कम्पनी सचिव लफिन काजी बज्राचार्यले आफ्नो जिम्मेवारी सम्हालेका छन् । हालै मात्र नियुक्त भएका उनीहरुले आज (साउन १४ गते) देखि आ-आफ्नो पदको जिम्मेवारी सम्हालेका हुन् । साउन १३ गते बसको सञ्चालक समितिको बैठकले कोइरीलाई स्वतन्त्र सञ्चालक र बज्राचार्यलाई कम्पनी सचिवमा नियुक्त गरेको थियो । यसअघि कम्पनीको स्वतन्त्र सञ्चालकमा सुनिता निरौला थिइन् । उनले राजीनालाई स्वीकृत गरी कम्पनीले उक्त रिक्त हुन लागेको पदमा कोइरीलाई नियुक्त गरेको हो ।

निर्वाण चौधरीसहित ७ जना बने उद्योग परिसंघका उपाध्यक्ष

काठमाडौं । नेपाल उद्योग परिसंघले अन्ततः उपाध्यक्षहरुको टुङ्गो लगाएको छ । धेरै जना उपाध्यक्षको लागि आकांक्षी भएपनि अन्ततः ७ जना परिसंघको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । परिसंघको उपाध्यक्षमा चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरी, आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाह, आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवाल, उद्योगी कृष्णप्रसाद अधिकारी, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता र नेपाल आदर्श निर्माण कम्पनीका संचालक वीरेन्द्रबहादुर पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । परिसंघको अध्यक्षमा विष्णु कुमार अग्रवाल नियुक्त भइसकेका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका उनी परिसंघको प्रावधान अनुसार अध्यक्षमा नियुक्त भएका हुन् । परिसंघको विधानमा भएको व्यवस्था अनुसार राष्ट्रिय परिषदका सदस्यहरू मध्येबाट उपाध्यक्षहरू चयन भएका हुन् । उनीहरुकाे सपथ ग्रहण मंगलबार नै सम्पन्न भएको छ। परिसंघका अध्यक्ष अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगिकरणका निम्ति केन्द्रित हुने बताउनुभयो। औद्योगिकरण विना मुलुकको दीगो विकास असंभव रहेको भन्दै उहाँले त्यसमा परिसंघले अब्बल भूमिका निर्वाह गर्ने उल्लेख गरे । यसैगरी परिसंघका निवर्तमान् अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू नीति निर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालु आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरे । उनले ह्विलिङ चार्ज तिरेर विद्युत उत्पादकबाट उद्योगले विद्युत खरिद गर्न सक्ने तथा ‘मेक इन नेपाल स्वदेशी – अभियान’ बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए । परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे । उनले नयाँ नेतृत्वले पनि त्यसैलाई आत्मसात गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिनुपर्ने बताए । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिलका सदस्य विजयबहादुर शाह एवं राष्ट्रिय परिषद सदस्यहरू अनुज अग्रवाल, भीम घिमिरे, राजु पौडेल र पम्फा धमलाले नयाँ नेतृत्वलाई शुभकामना दिए ।