यूनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त
काठमाडौं । यूनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् । असोज २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिमाललाई कम्पनीको सञ्चालक पदमा नियुुक्त गरेको हो । नवनियुक्त सञ्चालक रिमाल कम्पनीको संस्थापक सीजी फुड्स(नेपाल) को तर्फबाट इन्स्योरेन्सको सञ्चालक पदमा नियुक्त भएका हुन् ।
लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा मोलरी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को स्वतन्त्र सञ्चालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । मोलरीलाई भारतीय जीवन बीमा निगमले मनोनित गरेको र कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको हो । यससँगै नवनियुक्त सञ्चालक मोलरीले असोज १४ गतेदेखि नै लागू हुने गरी आगामी ४ वर्षसम्म कम्पनीको स्वतन्त्र सञ्चालकको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि उक्त पदमा भी के कुकरेजा रहेका थिए । उनको पदावधि सकिएसँगै भारतीय जीवन बीमा निगमले मोलरीलाई मनोनित गरेको हो ।
नविल बैंकमा मनोज ज्ञवालीको बढुवा, को बन्दैछ नयाँ सीईओ ?
काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार बसेको सञ्चालक समितिकाे बैठकले ज्ञवालीलाई बढुवा गरेको हो । ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् । नबिल बैंकको इतिहासमा यति छोटाे अवधिमा उच्च तहमा प्रमोशन खाने ज्ञवाली पहिलो व्यक्ति भएको स्रोतले बतायो । उनी २०७६ भदौंमा नविल बैंकमा नायब महाप्रबन्धकको रुपमा भित्रिएका थिए । त्यसअघि उनले ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका थिए । ज्ञवालीसँगै नविलमा ३ जना महाप्रबन्धक भएका छन् । यसअघि सुजित शाक्य र बिनय रेग्मी पनि महाप्रबन्धक पदमा कार्यरत छन् । नविलमा प्रमुख कार्यकारी अधिकृतपछिको पद महाप्रवन्धक हो । रेग्मी सोही बैंकका पुराना कर्मचारी हुन् भने ज्ञवाली र शाक्य एक वर्षअघि मात्र सो बैंकको उच्च व्यवस्थापनमा नियुक्त भएका हुन् । शाक्य यसअघि जनता बैंकमा डेपुटी सीइअाे थिए । आगामी असार मसान्तमा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल सकिदैछ । त्यसपछि तीन जना डेपुटी मध्येबाट एक जनालाई सीईओ बनाउने सम्भावना छ । नविल बैंकमा पुराना कर्मचारीहरु व्यवस्थापन निकै चुनौतिपूर्ण बनेको छ । नरम स्वभावका अनिल केशरी शाहबाट पुराना कर्मचारी परिचालन कम प्रभावकारी भएपछि कडा स्वभावको प्रमुख कार्यकारी अधिकृत भित्र्याउने सोचमा बैंक सञ्चालक समिति रहेको बुझिएको छ । नविल बैंकमा नेपाल बंगलादेश बैंक मर्जको सम्भावना पनि छ । उक्त मर्ज भएमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नबिलको सीईओ बन्ने अनुमान पनि धेरैले गरेका छन् । नेपाल बंगलादेश बैंकबाट ढुंगानाले पुसबाट अवकाश पाउँदैछन् ।